Comments Add Comment

जनकपुर डेटलाइनः प्रचण्डको मर्निङवाक, माधव नेपालको धोती गम्छा

कांग्रेस नेता टिकटका लागि काठमाडौं केन्द्रित

मर्निवाङ वाकपछि चिया पिउँदै जनकपुरबासीसँग कुरा गर्दै प्रचण्ड ।

१३ भदौ, जनकपुर । बिराटनगरमा पार्टीको प्रशिक्षण सकेर सोमबार साँझ पूर्वप्रधानमन्त्री प्रचण्ड जनकपुरमा बास बस्न पुगे । मंगलबार बिहानै उनी बजारमा मर्निङवाकमा निस्किए । यही क्रममा जनकपुरबासीसँग चिया खाँदै कुराकानी गरे ।

पूर्वप्रधानमन्त्रीलाई चिया पसलमा भेट्दा जनकपुरबासीहरु मख्ख परे । उनीहरुले प्रचण्डसँग सामुहिक तस्वीर खिचाए । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार दिनभरि जनकपुरमै बसे । त्यहाँ उनले नयाँ शक्ति पार्टीका करिब ३ सय कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराए ।

प्रचण्डले सदभावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारी समेतलाई टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गराए

पार्टी प्रवेश कार्यक्रमपछि मंगलबार जनकपुरमा माओवादी केन्द्रको दुई नम्बर क्षेत्रको क्षेत्रीय बैठक बस्यो । यो बैठकले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार चयन गर्ने भनिए पनि बैठकमा सहमति नभए १६ गते काठमाडौंमा बस्ने केन्द्रीय सेक्रेटरियट बैठकले उम्मेदवारहरुको नाम टुंग्याउने माओवादी नेताले बताएका छन् ।

मधेसको चुनावका लागि सक्रिय रुपमा खटेका माओवादी अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेताहरु बुधबार सर्लाहीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका नेता रामेश्वर रायलाई प्रचण्डले टीका लगाएर माओवादीमा प्रवेश गराउने कार्यक्रम छ ।

सर्लाहीको कार्यक्रमपछि माओवादी अध्यक्ष प्रचण्ड एमाले नेता माधव नेपालको गृहजिल्ला रौतहट जाँदैछन् ।

धोती र गम्छामा माधव नेपाल

माओवादी अध्यक्ष प्रचण्ड जनकपुरमा रहेकै बेला अर्का पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि मंगलबार जनकपुर पुगे । त्यहाँ आयोजना गरिएको कार्यक्रममा नेता नेपाल धोती र गम्छासहितको पहिरनमा उपस्थित थिए । नेता नेपाल मैथिली भाषामा समेत पोख्त मधेसका बासिन्दा हुन् ।

जनकपुरमा आयोजित कार्यक्रममा एमाले नेता माधव नेपाल धोती र गम्छामा प्रस्तुत भए ।

एमाले नेता नेपाल वीरगञ्जको कार्यक्रम सकेर जनकपुरमा आयोजित दुई नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्वोधन गर्न जनकपुर पुगेका हुन् । मंगलबार एमालेले जनकपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो ।

तर, एमाले नेता माधव नेपालको जनकपुरको उपस्थित अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको जस्तो शान्त रहेन । राजपाका कार्यकर्ताहरुले एमाले नेताविरुद्ध रामानन्द चौकमा कूचो र चप्पल देखाएर प्रदर्शन गरे । पिडारी चोकमा आयोजना गरिएको एमालेको अगुवा कार्यकर्ता भेलामा पनि राजपा कार्यकर्ताहरुले ढुंगा हान्ने प्रयास गरे ।

तथापि झिनो संख्यामा रहेका राजपा कार्यकर्तालाई धपाउन एमाले कार्यकर्ताहरु सफल भए र एमालेले आफ्नो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो ।

एमालेको चुनावचिन्ह सूर्य अंकित रातो टोपी लगाएर कार्यक्रममा राजपा विरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका एमाले नेता नेपालले आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिए ।

एमालेका बरिष्ठ नेताहरु केही दिन यता दुई नम्बर प्रदेशको चुनावलाई केन्द्रित गरेर मधेसमा सक्रिय छन् । एमाले सचिव गोकर्ण विष्ट अगुवा कार्यकर्ता भेलाको तयारीका लागि दुई दिनदेखि जनकपुरमै थिए भने माधव नेपाल र वामदेव गौतम अन्य जिल्लामा सक्रिय थिए ।

एमाले नेताहरु अझै केही दिन मधेसमा केन्द्रित हुने एमाले स्रोतले बताएको छ ।

कांग्रेसका नेता काठमाडौंमा केन्द्रित

दोस्रो र तेस्रो दलका शीर्ष नेताहरु मधेसमा केन्द्रित भइरहेका बेला नेपाली कांग्रेसका नेताहरु चाहिँ टिकट पाउने आशमा काठमाडौंमा केन्द्रित भएका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारदेखि लिएर शीर्ष नेताका घर-घरमा टिकटका लागि धाइरहेका छन् ।


बाढीपीडितहरुको उद्धारका साथै चुनाव प्रचारमा खटिनुपर्नेमा दुई नम्बर प्रदेशका नेताहरु काठमाडौंमा थुप्रिएको भन्दै कांग्रेसभित्र आन्तरिक असन्तुष्टिसमेत बढेको छ ।

कांग्रेसका एक केन्द्रीय नेताले अनलाइनखबरसँग भने- ‘दुई नम्बर प्रदेशका नेतासाथीहरु बाढी पीडितलाई मल्हम लगाउन खटिनुपर्ने बेलामा राजधानीमा शक्तिकेन्द्र रिझाएर टिकट लिनेतिर लागिरहनुभएको छ, यो राम्रो काम होइन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका कारणले पनि कांग्रेसमा उम्मेदवार चयनमा ढिलाइ भएको स्रोतले बतायो । उम्मदेवार चयनमा ढिलाइ भएकै कारण कांग्रेुस नेता कार्यकर्ता चुनाव प्रचारका लागि फिल्डमा गएका छैनन् ।

करिब तीन साताअघि राजधानीको आनन्द पार्टी प्यालेसमा आयोजना गरिएको दुई नम्बर प्रदेशका नेताहरुको भेलाले यो चुनावबाट कांग्रेसलाई पहिलो दल बनाउने हो भने उम्मदेवारको टुंगो चाँडो लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएको थियो ।

यसैवीच बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेसलाई जिताउने भूमिका खेलेका कांग्रेस नेता डा. शेखर कोइराला विहीबार वीरगञ्ज जाँदैछन् । वीरगञ्ज महानगरपालिकामा उनी केही दिन बस्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment