+
+

बाबुरामको कार्यक्रममा पुगेर योगेशले भनेः एमाले पनि जननिर्वाचित कार्यकारीकै पक्षमा

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा खस आर्यको प्रभूत्व नहुने बाबुरामको दावी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते १९:००

१८ भदौ, काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गर्दै आएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आइतबार विभिन्न तप्काका व्यक्तिहरु बोलाएर बहस चलाएका छन् ।

कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईदेखि कानून व्यवसायी भिमार्जुन आचार्य र कांग्रेस नेता प्रदीप गिरीदेखि पत्रकार निर्मला शर्मासम्म पुगेका थिए ।

‘राजनीतिक स्थायित्व र विकासका लागि राजतन्त्र फर्काउनु अपरिहार्य’ कार्यक्रमको सुरुमै प्रकाशचन्द्र लोहनीले यस्तो अभिव्यक्ति दिए । तर, बाँकी वक्ताहरुले भने एक स्वरले जननिर्वाचित कार्यकारीको पक्षमा बोले ।

एमाले सचिव योगेश भट्टराईले एमालेले अहिले पनि निर्वाचित कार्यकारीको लाइन नछोडेको दावी गरे ।

उनले अहिले संविधानमा रहेको शासकीय प्रणाली अन्ततः फेल खाने ठोकुवा समेत गरे । ‘परिस्थितिजन्य कारणले विगतमा एमालेले संसदीय पद्धति स्वीकार गरेको हो’ उनले भने, ‘एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा बिर्सिएको छैन ।’

विगतमा माओवादीले दह्रो खुट्टा नटेकेकाले आफूहरु पछि हट्न वाध्य हुनुपरेको उनको दाबी थियो । भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री दुवै एमालेलाई स्वीकार्य भएको बताएका छन् ।

शासकीय स्वरुपसँगै समानुपातिक निर्वाचन प्रणालीको औचित्यमा बहस चलाउनुपर्ने उनको सुझाव छ ।

कांग्रेस नेता प्रदिप गिरीले आफूहरुले पार्टीभित्र पहिलेदेखि नै प्रत्यक्ष कार्यकारीको वकालत गर्दै आए पनि सफल नभएको बताए । ‘म र नरहरी -आचार्य)ले लविङ गरेका थियौं,’ गिरीले भने, ‘तर उहाँ बिरामी भएर ढल्नुभयो, म एक्लै परेँ ।’

शासकीय प्रणाली लगायत विभिन्न विषयमा असहमति भएकै कारण आफूले संविधानमा हस्ताक्षर नगरेको गिरीले उल्लेख गरे । उनले थपे, ‘कार्यकारी राष्ट्रपति हुनासाथै देशका सबै समस्या चट् हुन्छन् भन्ने होइन । तर, यसले राजनीतिक स्थिरता आउँछ र विकासको ढोका खुल्छ ।’

गिरीले संसदभित्रबाट मन्त्री छान्ने परम्परा पनि अन्त्य गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो पार्टीले संविधान निर्माणको अन्तिम घडीसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेको बताए ।

अन्त्यमा बोलेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले मुलुकको विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अपरिहार्य रहेको उल्लेख गरे । ‘विगतमा हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठाउँदासर्वसत्तावादी कम्युनिष्ट शासन ल्याउन चाहेको हो कि भन्ने जनमानसमा शंका थियो’ उनले भने, ‘हामी तानाशाही स्थायित्वको पक्षमा होइन, प्रजातान्त्रिक स्थायित्वको पक्षमा छौं ।’

राजनीतिक स्थायित्व विना देशमा बाहिरी लगानी नआउने र विकासमा देश पछि पर्ने डा. भट्टराईले बताए ।

निर्वाचित राष्ट्रपतिको व्यवस्था भएमा एउटै जातको व्यक्ति लगातार चुनिनसक्ने कतिपयको आशंका रहेको उनले उल्लेख गरे । ‘यो आशंकामा दम छैन किनकि देशमा खस आर्य एक तिहाई अर्थात ३३ प्रतिशत मात्र छन् । २९ प्रतिशत प्रतिशत मधेसी र बाँकी जनजाति छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीले जनजाति र मधेसीलाई पनि राष्ट्रपति बन्ने ढोका खुल्छ र राष्ट्रिय एकता झन् बलियो हुन्छ’ डा. भट्टराईले भने ।

नेपालको भू-राजनीतिक अवस्थतिका कारण प्रत्यक्ष निर्वाचित कार्यकारीको औचित्य बलियो बनेको उनले बताए । ‘उत्तर र दक्षिणमा विशाल छिमेकीहरु छन्, यदि हाम्रो राष्ट्रिय एकता बलियो भएन भएन भने उनीहरुले हेप्छन्,’ डा भट्टराईले भने ।

कसैको सिको गर्नलाई नभएर आफ्नो माटो सुहाउँदो व्यवस्थामा जानुपर्ने उनले बताए । ‘म जिउँदो रहुन्जेल राजनीतिमा सक्रिय हुन्छु र मेरै जीवनकालमा राष्ट्रपतीय प्रणाली आउँछ,’ डा. भट्टराईले ठोकुवा गरे ।

कार्यक्रममा कानूनविद भिमार्जुन आचार्य, पत्रकार निर्मला शर्मा, पूर्वगभर्नर तिलक रावल, लेखक युग पाठक लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?