Comments Add Comment

एमाले प्रभावका राजमार्ग क्षेत्रमा कांग्रेस-माओवादी चुनावी तालमेल

लालबन्दी नगरपालिकामा माओवादीलाई मेयर, हरिवनमा कांग्रेसलाई

लालबन्दी नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार प्रल्हाद बुढाथोकी ।

१९ भदौ,काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशका स्थानीय तहको चुनावमा पनि तालमेल गर्ने भएका छन् ।

केही स्थानीय तहमा तालमेलको सहमति भइसकेको र केहीमा वार्ता चलिरहेको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।

सोमवारमात्रै सर्लाहीको लालबन्दीका दुवै दलबीच तालमेलका सहमति भएको छ । जस अनुसार मेयर माओवादीले पाउने भएको छ भने उपमेयर कांग्रेसले पाउने भएको छ । प्रदेशस्तरबाटै यो सहमति भएको हो ।

तालमेल हुने भएपछि माओवादीबाट मेयरमा केन्द्रीय कार्यालयका सचिव समेत रहेका नेता प्रल्हाद बुढाथोकी उम्मेवार बन्ने भएका छन् ।

तालमेल भएको अवस्थामा आफू उम्मेदवार बन्न तयार रहेको बुढाथोकीले अनलाइनखबरलाई बताए ।

उपमेयरमा कांग्रेसबाट कुबेर आचार्य उम्मेदवार बन्ने भएका छन् । तालमेल नहुँदा उनी मेयरका उम्मेदवार थिए ।

अब लालबन्दीमा कांग्रेस माओवादी गठबन्धनसँग एमाले एक्लै भिड्नुपर्ने भएको छ । एमालेबाट मेयरमा मानवहादुर खड्का र उपमेयरमा शान्ति लामा उम्मेदवार बनिसकेका छन् ।

हरिवनमा पनि तालमेलको प्रयास भइरहेको बुढाथोकीले बताए । हरिवनमा कांग्रेसले मेयर पाउने सम्भावना छ ।

त्यस्तै बागमती,बरहथवा,महोत्तरीको बर्दिबास,कन्चनपुरको कन्चनरुप लगायतका नगरपालिकामा पनि कांग्रेस माओवादी तालमेलको प्रयास भइरहेको छ ।

विशेष गरी एमालेको प्रभाव रहेका र एमालेले जित्ने सम्भावना रहेका स्थानीय तहमा माओवादी र राजपा लगायत दलसँग तालमेल गर्ने नीति लिइएको कांग्रेस नेता रामकृष्ण यादवले बताए । एमालेलाई २ नम्बर प्रदेशमा कमजोर बनाउन तालमेल गरिने उनले बताए ।

माओवादी नेता बुढाथोकीले कांग्रेस र माओवादीबीच पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका स्थानीय तहमा तालमेल भइरहेको बताए ।

राजमार्गको कन्चनरुप,मिर्चैया,लाहान,बर्दिबास, लालबन्दी,इश्वरपुर,हरिवन,चन्द्रपुर,निजगढ लगायतका नगरपालिकामा एमालेलाई रोक्न तालमेल गर्न लागिएको दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन् ।

केही ठाउँमा तालमेलको सहमति भइसकेपनि पार्टीभित्रका आन्तरिक विवाद मिलाउन बाहिर सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।

२ नम्बर प्रदेशमा विशेष गरी मधेशमा कुनै पनि दल एमालेसँग तालमेल गर्न चाहिरहेका छैनन् ।

राजमार्ग क्षेत्रमा एमाले पकड रहेका ठाउँमा कांग्रेस माओवादी तालमेल हुँदा २ नम्बर प्रदेशमा पनि पहिलो दल बन्ने एमालेको लक्ष्यमा अवरोध हुनसक्छ ।

राजमार्ग दक्षिणमा पनि एमाले बलियो रहेको र अरुले तालमेल गरे पनि फरक नपर्ने एमाले नेता शत्रुघन महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment