Comments Add Comment

शाखा अधिकृतको नतिजा प्रकाशनमा लोकसेवाको ढिलाइ किन ?

गत वर्ष शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रैणी (अप्राविधिक)  पदमा मिति २०७३ श्रावण १९ गते लिखित परिक्षाको नतिजा निष्काशन गरी ०७४ असोज २१ गते सिफारिस गरिएको थियो । यस वर्ष हालसम्म पनि लिखित नतिजा निष्काशन गरिएको छैन ।  उपसचिव पदमा उम्मेद्धार हुन अधिकृत भएको ५ वर्ष र सहसचिवको उम्मेद्धार हुन अधिकृत भएको  ७ वर्षको अवधि पुरा हुनुपर्ने निजामती सेवा ऐनको प्रावधान रहेको छ  ।

उपसचिव र सहसचिव पदको विज्ञापन लोक सेवा आयोगले असोज महिनाको अन्तिम वुधवार निष्काशन गर्ने गर्दछ । त्यसकारण यस वर्षको शाखा अधिकृतको नतिजा प्रकाशन भइनसकेकोले सिफारिस हुन अझै २ महिना जति कुर्न पर्ने गत वर्षको लोक सेवा आयोगको नतिजा निष्काशनको समयावधिले देखाउँछ ।

कुनै वर्षको नतिजाले शाखा अधिकृतको कार्यअवधि पुरा हुनासाथ उपसचिव र सहसचिवको परिक्षामा उम्मेद्धार हुन पाउने र कुनै वर्ष लोक सेवा आयोगको आफ्नै कार्यसम्पादनको कमजोरीले गर्दा भएको ढिलाइले उम्मेद्धारले थप १ वर्ष कुर्न पर्ने वाध्यात्मक अवस्थाको सिर्जना स्वयं लोक सेवा आयोगले गरिदिएको छ । जसका कारण गत वर्षका राजपत्रांकित अधिकृतले ५ वा ७ वर्षको अवधि पूरा हुनासाथ उपसचिव वा सहसचिवको उम्मेद्धार हुन पाउने छन् भने यस वर्षका शाखा अधिकृतमा सिफारिस हुने उम्मेद्धारहरु उपसचिव र सहसचिवको पदमा उम्मेद्धार हुनवाट १ वर्ष वञ्चित हुनुपर्नेछ  ।

यस्तो अवस्थाको सिर्जना सुनियोजित कारण वा लोक सेवा आयोगको अकर्मण्यता वा कार्यसम्पादनको कमजोर अवस्था वा वाहिर सुनिएका हल्ला अनुसार केन्द्रीय कार्यालयमा रहेका कर्मचारी वढि भत्ता र सेवा सुविधा पाइने लोभमा नतिजा निष्काशनलाइ थाति राखेर काठमाण्डौ वाहिर सञ्चालन हुने परिक्षाको सञ्चालन निरिक्षण वा कुनै वाहानामा सहभागि हुन जाने गलत प्रवृत्तिको कारणले हुन नगएको हो वुझ्न सकिएको छैन ।

कक्षा ११ का लखौ संख्याको नतिजा निस्कासन गर्न ३ महिनामा सफल भएको देखिरहँदा लोक सेवा आयोग ४ हजार ५सय ५५ जना सम्मिलित शाखा अधिकृतको नतिजा समयमा नै निष्काशन गर्न असफल भएको देखिन्छ । त्यसैले विशेषत नतिजा निष्काशन प्रक्रियामा संलग्न कर्मचारीको व्यवस्थापनमा लोक सेवा आयोगको गम्भिर ध्यान जान जरुरी छ ।

लोक सेवा आयोग नियमावली ०६७ को नियम ३४ वमोजिम नियुक्तिका लागि सिफारिस गरिएको उम्मेद्धारको सिफारिस भएको मितिले एक वर्षभित्र मृत्य भर्इ वा निजले नियुक्ति भएको पदवाट राजिनामा दिइ वा निजले अन्य पदमा नियुक्ति भइ निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा अख्तिवारवालाले सात दिन भित्र आयोगलाई जानकारी दिनुपर्ने र आयोगले नियुक्तिका लागि  सिफारिस गरेको एक वर्ष सात दिन भित्रको समयावधिमा मात्र वैकल्पिक उम्मेद्धारलाई नियुक्तिका लागि सिफारिस गर्ने भनि उल्लेख गरिएको छ ।

यस वर्षको शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रैणी (अप्राविधिक) को नतिजा निष्काशन ढिलाइका कारण लोक सेवा आयोगका क्षेत्रीय निर्देशनालयवाट राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु  पदमा वैकल्पिकको सुचीमा रहेका उम्मेद्धारहरु सो पदमा सिफारिस हुनवाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना एवं लोक सेवा आयोग आफैले गरिदिएको छ । सवभन्दा पछिल्लो ना सु पदको सिफारिस लोक सेवा आयोगको क्षेत्रीय निर्दे्शनालय काठमाण्डौले मिति २०७३ मंसिर १५ गते गरेको थियो ।

शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदमा अधिकांश उम्मेद्धारहरु ना सु पदमा सिफारिस भएकाहरु मध्यवाट हुने गरेको पाइन्छ । गतवर्षको काठमाण्डौको वैकल्पिक सिफारिसलाइ हेर्ने हो भने ना सु पदको खुल्ला तर्फमात्र शाखा अधिकृत पदमा सिफारिस भर्इ १४ जना वैकल्पिक ना सु हरुले सेवा प्रवेशको अवसर पाएका थिए । यस वर्ष ना सु पदमा कुनै पनि वैकल्पिक उम्मेद्धारले अवसर नपाउने अवस्था आएको देखिन्छ ।

गत वर्ष शाखा अधिकृतको लिखित नतिजा निष्काशन मिति २०७३ साउन १९ गते भएको सो पदमा सिफारिस मिति २०७३ असोज १४ गते हुदा ना सु पदमा काठमाण्डौका खुल्ला तर्फका १४ जना वैकल्पिक उम्मेद्धारहरुले मिति २०७३ कात्तिक २७ गते सफारिस गरिएको देखिन्छ । लोक सेवा आयोगले गत वर्ष शाखा अधिकृतको लिखित नतिजा निष्काशन देखी ना सु  वैकल्पिक सिफारिससम्म खर्चेको समायावधिलाइ हेर्ने हो भने यस वर्षको शाखा अधिकृतको नतिजा निष्काशनमा भएको ढिलाइले यस वर्ष ना सु पदका वैकल्पिक सिफारिस हुने अवस्था देखिदैन ।

शाखा अधिकृत पदमा प्राय नासु पदमा सिफारिस भएका व्यक्तिहरुले नाम निकाली सिफारिस हुने गरेको पाइन्छ । जसकारण नासु पदमा वैकल्पिक रहेका उम्मेद्धारहरुको उल्लेख्य संख्याले वैकल्पिक सिफारिस मार्फत सेवा प्रवेश गरेका छन् ।

गतवर्ष त्यतिका संख्यामा नासु वैकल्पिकहरुले सेवा प्रवेशको अवसर पाउनु र यस वर्ष सो अवसरवाट वैकल्पिक उम्मेद्धार पुर्णत वञ्चित हुनु पर्ने अवस्था निम्त्याउनु लोक सेवा आयोगका लागि कति शोभनीय हुन्छ ?

गत वर्ष त्यही सुचीमा रहेका व्यक्तिले सेवा प्रवेशको अवसर पाउने यस वर्ष वञ्चित हुनुपर्ने अवस्थाप्रति के लोक सेवा आयोग केन्द्रीय कार्यालय अनविज्ञ  हुन मिल्छ ?  के लोक सेवा आयोग केन्द्रीय कार्यालय यसप्रति जानकार नभएको नै हो ?उनीहरुलाई गत वर्षका सरह सिफारिस हुन पाउने अधिकार खोज्ने हक छ वा छैन ?  यस वर्षका नासु पदमा वैकल्पिक उम्मेद्धारप्रतिको लोक सेवा आयोगको धारणा के ? यो त ठुलै अन्याय गरेको ठहरिनु पर्ने हो । अव लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेद्धारहरुले लोक सेवा आयोगको नतिजा निष्कासन र सिफारिसपछिको अवसरका लागि माथिल्लो पदको नतिजा लोक सेवा आयोगले समयमा नै निष्काशन गरिदियोस् भनी भाग्यमा नै भर पर्नुपर्ने अवस्था आएको हो ? यसलाई कसरी वुझ्ने ?

लोक सेवा आयोगको वार्षिक तालिकाले पनि राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु  पदमा वैकल्पिकको सुचीमा रहेका उम्मेद्धारहरु सो पदमा सिफारिस हुनवाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना गरेको देखिन्छ । लोक सेवा आयोगको वार्षिक तालिका अनुसार शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) को पदमा विज्ञापन मंसिर महिनाको अन्तिम वुधवार निष्कासन हुँदै आएको छ र राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु पदको विज्ञापन पुष महिनाको अन्तिम वुधवार प्रकाशन हुने गर्दछ । तर, राजपत्रांकित तृतिय श्रेणी (प्राविधिक) पदको विज्ञापन कात्तिक महिनाको अन्तिम वुधवार हुने र  राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको विज्ञापन माघ महिनाको अन्तिम वुधवार हुने गरेको छ । यी एक तह फरक रहेको पदको विज्ञापनको फरक हेर्ने हो भने प्राविधिक पदमा ३ महिनाको रहनु र अप्राविधिक पदमा १ महिना मात्र रहेको पाइन्छ ।

प्राय राजपत्र अनंकित प्रथम श्रेणीमा सिफारिस हुने व्यक्ति नै राजपत्रांकित तृतीय श्रेणी पदमा सफल हुने लोक सेवा आयोगको सिफारिसले देखाउँछ । राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) पदको विज्ञापन अघि हुने हुँदा सो विज्ञापनको नतिजा निष्काशन गरेर मात्र पछिल्लो विज्ञापन भएको  राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक)  पदको नतिजा निष्काशन गर्ने यस वर्ष लोक सेवा आयोगको तयारी रहेको सुन्नमा आएको छ ।  गत वर्ष प्राविधिक र अप्राविधिकको नतिजा निष्काशनमा त्यस्तो गरिएको थिएन । यस वर्ष त्यस्तो गर्नुपर्ने अवस्था किन आइपर्यो ?

प्राविधिक पदमा राजपत्रांकित तृतीय र राजपत्र अनंकित प्रथमको विज्ञापन निष्काशनमा ३ महिनाको फरक राखीएको कारण प्राविधिक तर्फ राजपत्र अनंकित प्रथम श्रेणिका वैकल्पिक सिफारिस हुन पाउने तर उस्तै सुचीमा रहेका अप्राविधिक राजपत्र अनंकित प्रथम श्रेणीका वैकल्पिक उम्मेद्धार राजपत्रांकित तृतीय श्रेणी र राजपत्र अनंकित प्रथम श्रेणीको विज्ञापन निष्काशनमा १ महिना मात्रको फरकका कारण मुखैवाट वञ्चित हुनपुग्ने देखिएको छ ।

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) ना सु पदका वैकल्पिक सुचीमा रहेका उम्मेद्धारहरु शाखा अधिकृतको सिफारिस पश्चात सेवा प्रवेश गर्ने कुरामा जानकार रहेको स्वयं लोक सेवा आयोग आफैले शाखा अधिकृतको नतिजा निष्काशनमा ढिलाइ गरि सो अवसरवाट वञ्चित पनि गर्ने दोहोरो चरित्र देखाउन पुगेको छ । यसवाट ती वैकल्पिक उम्मेद्धारहरुको मानस पटलमा पर्ने असर प्रति संवेदनशील हुन जरुरी छ । यति स्वच्छ, निष्कलंक र सवैको विश्वास जित्न सफल यस संस्थाले आफ्नो कार्यसम्पादनको ढिलाइका कारण निम्तिएको समस्यालार्इ नजरअन्दाज गर्नु हुँदैन, सबैमा न्याय समान हुने अवस्थाको सिर्जना गर्न सक्नुपर्छ । लोक सेवा आयोगले यस वर्षका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नासु पदका वैकल्पिक सुचीमा रहेका उम्मेद्धारहरुलार्इन्याय पनि दिन सकोस् र समय सापेक्ष सुधार सुधार गर्दै लोक सेवा आयोग हामी आम जनमानसमा विश्वासको धरोहर, निष्पक्ष र स्वच्छ छवि कायम राख्न सफल रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment