Comments Add Comment

भोजपुरको सडक अलपत्र पारेर ठेकेदार वेपत्ता

 

२२ भदौ, भोजपुर । ठेकेदार वेपत्ता भएपछि भोजपुर बजारबाट टक्सार हुदै ट्याम्के मैयुङ गाउँपालिकाको गोगने जोड्ने सडक अवरुद्ध भएको छ । स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार काम छाडेर हिंडेपछि सञ्चालन भैरहेको सडक बन्द भएको हो । जसका कारण यात्रुलाई समस्या परेको छ । त्यस्तै सदरमुकामबाट दैनिक उपभोग्य सामान र निर्माण सामग्री पनि लैजान सकिएको छैन ।

सम्झौता अनुसार काम गर्ने अवधि एक महिना मात्र बाँकी हुँम्दा १० प्रतिशत पनि काम भएको छैन । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी एम के वाई पी ज्वाइन्ट भेन्चरले १२ करोड ५५ लाख ५६ हजार ७ सयमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अन्तरगत कम्पनिले ग्याविन वाल, मेसनरि वाल, सव वेस, साइड ड्रेन निर्माण गर्नुपर्ने जिल्ला प्राविधिक कार्यालय भोजपुरले जनाएको छ ।

कम्पनिले हालसम्म काम गरेवापत दुई पटक गरेर १ करोड २९ लाख २३ हजार रकम भुक्तानि लिइसकेको छ । कम्पनिले २०७४ असोज १६ गतेसम्म काम सक्नुपर्ने सम्झौतामा छ । तर अहिलेको अवस्थाले समयमा काम सकिन्न ।

छदाखदाको सडक ठेकदारले विगारेर छाडेपछि स्थानिय आक्रोसित छन् । दलगाउँका घमचन्द्र दाहालले बाटो बनाउने ठेकदारले बाटो विगारेर जनतालाई झनै सास्ती दिएको बताए । महिनौदेखि ठेकेदार हराउँदा पनि प्रशासन चुप लागेर बसेको उनको आरोप छ । सञ्चालनमा रहेको बाटो भत्काएर सडक सम्पर्क विच्छेद हुँदा पनि प्राविधिक कार्यालयले आलटाल गरेको र ठेकदारलाई काम लगाउन नसकेको रामप्रसाद राई गाउँपालिका १ ओख्रेका बलराम राई बताउँछन् ।

टक्सार खण्डको आलथुम्कामा १ सय २० मिटर लामो र ९ मिटर अग्लो ग्याभिन वाल लाउनु पर्नेमा भत्काएर अलपत्र अवस्थामा छाडिएको छ । तत्कालिन समयमा ग्रामीण पहुँच कार्यक्रम ‘र्‍याप’ परियोजना अन्तरगत निर्माण भएको सडकमा लगाइएको अधिकांश संरचना पनि ठेकेदारले निर्माणका क्रममा भत्काएका छन् । उक्त स्थानमा वैकल्पिक मार्गसमेत नहुँदा सडक सञ्चालन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध भएपछि रामप्रसाद राई र ट्याम्के मैयुङ गाउँपालिकाको दर्जनजति वडा प्रत्यक्ष प्रभावित भएका छन् । व्यवस्थित निर्माण नहुँदा सडक आसपासमा पहिरो समेत जान थालेको छ ।

जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख राजनराज रेडीले पटक-पटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको बताए । केहि काम गरेपनि वर्षातको कारण देखाउँदै सम्पर्क विहीन भएको बताइएको छ । म्यादसम्म कुर्नुको विकल्प नभएको रेडीको भनाई थियो ।

सडक प्रभावित क्षेत्रका वासिन्दाले तत्काल जिल्ला स्थित सरोकारवाला निकाएको स्थलगत अवलोकन गरि सडक निर्माण सुचारु गराउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले ठेकदार देवजंग शाहीसँग आफूले सम्पर्क गरिसकेकाले तत्काल आएर काम थाल्न र तोकिएको जिम्मेवारी पूरा गर्न भनिसकेको बताए । ‘धेरैजनाबाट गुनासो पनि आयो मैले तत्काल आएर काम गरी बाटो सुचारु गर्न भनेको छु, अझ बेवास्ता गरे गृह मन्त्रालयमा पत्राचार गरेर जहाँ भएपनि पक्राउ गरी कारवाहीको लागि ल्याउनेछु,’ प्रजिअ बरालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment