Comments Add Comment

पत्याउनुस्, यो गोंगबुको नयाँबसपार्क नै हो ! (फोटोफिचर)

२४ भदौ, काठमाडौं । हामी ‘नयाँबसपार्क’ भन्ने शब्द सुन्ने बित्तिकै अस्तब्यस्त, फोहोर, झाडीले घेरिएको र टहरै-टहराले भरिएको प्रदुषित स्थानको परिकल्पना गरिहाल्छौं । तर, अहिले अवस्था बदलिएको छ ।

प्रयास गरियो भने बदल्न सकिन्छ भन्ने उदहारण बनेको छ, नयाँबसपार्क । पछिल्ला काठमाडौंको  गोंगबुस्थित नयाँ बसपार्क केही सुधारिँदै गएको देखिएको छ ।

विशेषगरी पहिले सरसफाईको मामिला निकै कमजोर रहेको बसपार्क आजभोलि तुलनात्मक रुपमा पहिलेको भन्दा सफा देखिन थालेको छ । बसपर्कामा शैचालय पनि पहिले भन्दा सफा देख्न थालिएको छ । बसपार्कभित्रै नयाँ शौचालय पनि बनाइएको छ ।

अहिले नयाँ बसपार्कभित्र स-सना टहरा छैनन, जहाँ पहिले अस्तब्यस्त र जथाभावी रुपमा ब्यापार गरिन्थ्यो । तुलनात्मक रुपमा बसपार्क सफा पनि देखिन थालेको छ ।

महानगरपालिकाले गोंगबु बसपार्क सञ्चालनको जिम्मा दिएको लोत्से बहुउद्देश्यीय प्रालिले कम्पनीले अहिले नयाँ बसकपार्कको रुप फेर्न काम सुरु गरेको छ । सुस्त गतिमै भएपनि नयाँ बसपर्कामा बगैँचाहरु पनि बनाइएका छन् ।

निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) प्रणाली अन्तरगत बसपार्कको स्तरीकरण सुरु गरिएको छ । यसलाई काठमाडौंको सुविधासम्पन्न बसपार्कका रुपमा परिणत गर्ने योजना छ ।

लोत्सले यसअघि नै बसपार्क हाताभित्रबाट अतिक्रमण गरेर बनाइएका ५ सय टहरा हटाइसकेको थियो ।

अहिले बसपार्कभित्रै सुविधासम्पन्न सपिङ मलको भवन निर्माण भइरहेको एको लोत्से बहुउदेश्यीयका कार्यकारी अध्यक्ष दीपक कुँवरले अनलाइनखबरलाई बताए । ७ तले यो मल अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।


झण्डै २६ करोड रुपैयाँको लागतका बनिरहेको यो मलभित्रै फिल्म हल, डिपार्टमेन्टल स्टोर, बैंक, फूड कोर्ट, पार्टी प्यालेस, रेष्टुरेन्ट, कफी सप लगायत थुप्रै सेवाहरु दिइनेछ ।

झण्डै १ सय ६१ रोपनीमा फैलिएको बसपार्क नियमित सरसफाइ सुरु भएको छ । झण्डै ३० जना सफाइ मजदुर बसपार्कमा खटिएका छन् ।

बसपार्कभित्रका सबै भागलाई फोहोरमुक्त राख्ने गरी काम भइरहेको लोत्सेका एचआर म्यानेजर पंकज मल्लले बताए ।
त्यहाँ रहेको घण्टाघरलाई रंगारोगन गरिएको छ । त्यसको मुनी बगैँचासमेत बनाइएको छ ।

बसपार्कभित्र बसहरुलाई स्टिममा राख्न इलेक्ट्रोनिक गेट पासको व्यवस्था गरिएको छ । कार्ड रिचार्ज गरेर बसपार्कमा आवश्यक्ताअनुसार पार्किङ गर्न सकिने सुविधा दिइएको छ ।


यसैगरी केही समयपछि नै नयाँ बसपार्कभित्र अब केही समयपछि ई-टिकेटिङ पनि सुरु गरिने मल्लले बताए ।

अहिले बसपार्कभित्र मनलाग्दी तवरले टिकट काटने गर्दा यात्रु ठगिने क्रम बढ्दो छ । केही समयभित्रै सबै काउन्टरलाई हटाएर लोत्सेले एकद्वार प्रणालीबाटै आफ्नै काउन्टरको ब्यवस्थापन गर्ने जनाएको छ ।

बसपार्कको स्तरीकरणपछि झण्डै ८ सय बस यहाँ पार्किङ गर्न सकिने छ । बसपार्क साँघुरो हुन सक्ने भन्दै डिजाइनमा परिवर्तनसहति बसपार्कको पूर्वीभागतर्फ होटललाई हटाएर पार्किङ स्थल नै बनाउने योजना छ ।

बसपार्कभित्र यात्रुहरुका लागि आवश्यक न्युनतम् पूर्वाधार विकास गरिनेछ । योजना पूरा भएपछि बसपार्कभित्र अहिले भएका सबै संरचनाहरु बदलिनेछन् । अबको २८ वर्षपछि लोत्सेले यी सबै संरचना सरकारलाई हस्तान्तरण गर्नेछ ।

‘हामीले भर्खरै काम सुरु गरेका हौं । अझ धेरै काम गर्न बाँकी नै छ’ मल्लले भने,’हामी बसपार्कलाई यो भन्दा सफा, सुन्दर र आधुनिक बनाउँछौं ।’














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment