Comments Add Comment

नेपाल–बंगलादेश व्यापारको २० वर्षः समग्रमा बचत, तीन वर्षदेखि ऋणात्मक

व्यापारीको जोडले चलेको नेपाल–बंगलादेश व्यापार


६ असोज, झापा । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रायः सबै मुलुकसँग ऋणात्मक छ । बंगलादेशसँगको व्यापारलाई अपवादका रुपमा हेरिने गरेको थियो । तर, पछिल्ला वर्षमा बंगलाबन्ध नाकाबाट हुने व्यापार पनि निरन्तर ओरालो लाग्दै गएको छ ।

नेपाल–बंगलादेश व्यापारमा उक्त नाका हुन थालेको १४ भदौमा २० वर्ष पुग्यो । यस अवधिमा नेपालले २९ अर्ब आठ करोड ५८ लाख रुपैयाँबराबरका सामग्री निर्यात गर्‍यो । आयातको परिमाण १९ अर्ब १९ करोड ८२ लाख रुपैयाँबराबरको छ ।

२० वर्षको आँकडा विश्लेषण गर्दा बंगलादेशसँगको व्यापार नौ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बचतमा छ ।

पछिल्ला तीन वर्षमा भने बर्सेनि ऋणात्मक बन्दै गएको छ । निर्यात बढ्न नसके केही वर्षभित्रै बंगलादेशसँगको व्यापार पनि घाटामा जाने अधिकारीहरु बताउँछन् ।

यस्तो छ, पछिल्लो चार वर्षको आँकडा

आर्थिक वर्ष ०७१/७२ मा नेपालले एक अर्ब १५ करोड १८ लाख रुपैयाँबराबरको सामाग्री निर्यात गर्‍यो, नेपालले । आयात भने त्यसको दोब्बर अर्थात् दुई अर्ब ५३ करोड एक लाख रुपैयाँबराबरको भयो ।

यस्तै, आव ०७२/७३ मा एक अर्ब २६ करोड २७ लाख रुपैयाँबराबरको सामग्री नेपालले निर्यात गर्‍यो  । बंगलादेशले नेपाल पठाएका सामग्री त्यसको तेब्बर अर्थात् तीन अर्ब ५० करोड ६३ लाख रुपैयाँका थिए ।

आव ०७३/७४ मा एक अर्ब तीन करोड ३८ लाख रुपैयाँबराबरका सामग्री निर्यात र तीन अर्ब ८७ करोड ५८ लाखका सामान आयात भए ।

आव ०७४/७५ को सुरुवाती व्यापार पनि निराशाजनक रहेको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडले जनाएको छ ।

१४ भदौसम्मको तथ्यांकमा २० करोड ५५ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएको छ भने आयात ४७ करोड ९१ लाख रुपैयाँको छ ।

कसरी सुधार्ने ?

आव ०५४/५५ मा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग सञ्चालनमा आएपछि बंगलादेशसँगको व्यापार सुरु भएको हो । चार वर्ष अघिसम्म द्विपक्षीय व्यापार नेपालको पक्षमा थियो ।

नेपालबाट निर्यात घट्दै गएकाले चाँडै द्विपक्षीय व्यापार ऋणात्मक बन्ने जोखिम देखिएको पारवहनको काँकडभिट्टास्थित कार्यालय प्रमुख यादवराज शिवाकोटी बताउँछन् ।

बंगालदेशमा माग रहेको जडिबुटीको निर्यात बढाउन सके मात्र व्यापार पुनः नेपालका पक्षमा आउने सम्भावना अधिकारीहरु औंल्याउँछन् ।

नेपालबाट अदुवा, अलैंची, अम्लिसो, फलफूल (सुन्तला, स्याउ आदि) निर्यात गर्न सकिने सम्भावना छ ।

निर्यात हुनेमा दाल प्रमुख

बंगलादेश निर्यात हुने वस्तुमा मुसुरो दालको मुख्य स्थान छ ।

आव ०७०/७१ मा नेपालबाट एक अर्ब ११ करोड ६४ लाख रुपैयाँको दाल निर्यात भएको थियो । आव ०७२÷७३ मा उक्त परिमाण एक अर्ब २० करोड १९ लाख रुपैयाँको थियो ।

आव ०७३/७४ मा आएर दालको निर्यात पनि ओरालो लागेको छ ।

दालले बंगलादेशसँगको व्यापार धानेको देखिए पनि परिमाण भने कम भएको व्यापारी बताउँछन् । निर्यातजन्य वस्तु पहिचानमा नेपाली पक्षले चासो लिएको पाइँदैन ।

नेपालबाट गहुँलगायत सामान पनि बंगलादेश निर्यात हुन्छन् । बंगलादेशबाट ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, सुर्ति, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिक आइटमलगायत आयात हुन्छन् ।

नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित एक सय आठ वटा वस्तुलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

अधिक भन्सार महशुलका कारण जडिबुटी निर्यात पनि हुन सकेको छैन ।

कृषिजन्य वस्तुको निर्यात गर्न सकिने सम्भावना भए पनि सरकारले कुनै पहल गरेको पाइँदैन । नेपाली व्यापारीको जोडबलमा मात्र नेपाल–बंगलादेश व्यापार चलिरहेको भन्सार एजेन्टहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment