Comments Add Comment

दशैंको महिमाः महिषासुर र दुर्गामाताको उत्पति

दशैंसँग जोडिएको हिन्दु धार्मिक कथन अनुसार महिषासुर राक्षसको जन्म पुरुष र महिषी (भैंसी)को संयोगबाट भएको थियो । त्यही कारण उसको नाम महिषासुर रहन गयो ।

महिषासुरलाई अमर हुने इच्छा जाग्यो । यही ईच्छा तृप्त गर्न उसले ब्रह्माजीको तपस्या गर्‍यो । उसको तपस्याले ब्रह्माजी प्रशन्न भए ।  ब्रह्माजीले महिषासुरलाई ‘आर्शिवाद माग्न’ भने ।

महिषासुरले ‘अमर अर्थात कहिल्यै नमर्ने’ वर माग्यो । तब ब्रम्हाजीले भने, ‘जन्मिएका हरेकले मर्नैपर्छ ।’

महिषासुरले केहीबेर सोच्यो र भन्यो, ‘तपाई मलाई यस्तो आर्शिवाद दिनुहोस् कि, देवता, असुर र मानव कसैले पनि मलाई मार्न नसकोस् । कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस् ।’

ब्रहमाजीले ‘एवमस्तु’ भने र त्यहाँबाट हिँडे ।

अब महिषासुरको अहंकार, दम्भ बढ्यो । उसले तीन लोकमै आतंक मच्चाउन थाल्यो । देवताको इन्द्रलोकमा पनि आक्रमण गर्‍यो ।

महिषासुरको यो व्यवहारबाट देवताहरु साह्रै दुःखी भए । उनीहरुले देवीको आह्वान गरे । तब, देवी उत्पति भइन् ।

भनिन्छ कि, देवी र महिषासुरको युद्ध ९ दिनसम्म चलेको थियो । ९ दिनपछि महिषासुरको वध गरिएको थियो । दशौं दिनमा विजयोत्सव मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म परेको थियो ।

यही मिथकका आधारमा दशैंमा दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । हिन्दु मान्यतामा दुर्गालाई शक्तिकी देवी मान्ने गरिएको छ । दुर्गा मातालाई दुर्गा भवानी, जगदम्बा, महाकाली आदि नामबाट पुकारिन्छ ।

दशैं अर्थात विजयादशमीलाई ‘असत्यमाथि सत्यको जीत’ को प्रतीकका रुपमा लिने गरिएको छ । धार्मिक मान्यता अनुसार राक्षसलाई नष्ट गर्नका लागि माता दुर्गाको जन्म भएको हो ।

नवरात्रमा हामी उनै दुर्गा माताको पूजा गर्छौं । यसबेला दुर्गामाताको पूजा गरियो भने शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment