Comments Add Comment

दशैं मनाउन तराईमा हुनुहुन्छ ? डेंगु लाग्ला है !


दशैंमा गाउँ घरमा ठूलो मानवीय चहलपहल हुन्छ । शहरबाट दशैं मनाउन गएकाहरुलाई गाउँघरमा प्रकोपका रुपमा फैलिएका सरूवा रोगहरुले समात्ने खतरा हुन्छ । अहिले तराईका जिल्लाहरुमा डेंगु रोगको उच्च जोखिम छ ।

विगत केहि वर्ष यता रोगको प्याटर्नमा पनि केही फेरबदल भएको देखिन्छ। पछिल्लो समय लामखुट्टेबाट सर्ने नयाँ ईमर्जिंग रोग डेंगु भाइरसको जोखिम पनि बढ्दै गएको छ ।

गत साल दशैँ मनाउन गएका धेरै मानिसहरुमा डेंगु संक्रमण भएर राजधानी फर्केका थिए। विगतको अनुभवलाई हेर्ने हो भने भित्री मधेश र तराई क्षेत्रका चितवन, बुटवल, झापा, धादिंङ लगायत तराईका अधिकांश ठाउँहरुमा दशैँ मनाउन जाँदा डेंगु संक्रमण हुने गरेको थियो।

यो वर्ष पनि लाखौं मानिसहरु दशैँ मनाउन ती क्षेत्रमा छन्। नेपालमा डेंगु खास गरी भदौको  अन्तदेखि मङ्सिरसम्म देखिने भएकोले  विशेष सजकता अपनाउनु पर्ने हुन्छ।

लामखुट्टे नयाँ-नयाँ ठाउमा फैलने क्रम हरेक वर्ष बढ्दो देखिएकोले डेंगुको जोखिम पनि बढ्दै गएको देखिन्छ। अहिले सर्लाही जिल्लाको लालबन्दी क्षेत्रमा डेंगुको प्रकोप देखिएको छ।

दर्जनौं त्यहाँका स्थानीयहरु हाल यता धरान वा काठमाडौँका टेकु लगायत विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन्। यातायातको सहज र सुलभ अवस्थाले गर्दा डेंगु चितवन, बुटवल, झापा, काठमाडौँ लगायत विभिन्न ठाउँहरुमा अबको दिनहरुमा  देखिने क्रम सुरु हुनेछ।

किनभने यी सबै ठाउहरुमा डेंगु फैलाउने लामखुट्टेको बिगबिगी देखिन्छ । जहाँ यस्ता लामखुट्टे देखिन्छ त्यहाँ  डेंगु  फैलने सम्भावना पनि अत्यधिक हुने गर्छ।

यो लामखुट्टेको नराम्रो पक्ष भनेको एउटा लामखुट्टेले एक पटकमा धेरैलाई टोक्ने गर्छ र त्यसकारण धेरैलाई लगभग एकै समयतिर देखिने र  फैलने भएकोले विशेष सतर्कता अपनाउनुपर्छ । त्यस्तो ठाउँमा डेंगु जस्तो लक्षणहरु भएका बिरामीहरु देखिएमा वा प्रयोगशाला निदान भएको अवस्थामा तुरुन्त आवश्यक सजकता अपनाउनु पर्छ।

यसमा खासगरी सम्बन्धित निकायले तुरुन्त डेंगु निदान गर्ने किट उपलब्ध गराउने र “लामखुट्टे खोज र नष्ट गर” अभियान थाल्नु पर्दछ, भने स्थानीयहरुले पनि लामखुट्टेबाट बच्ने उपायहरु अपनाउनु पर्छ।

डेंगु कसरी सर्छ ?

डेंगु खासगरी एडीस इजिपटाई र एडीस एल्बोपिक्ट्स नामक लामखुट्टेहरुले सार्ने गर्छ। यो पोथी लामखुट्टेले आफुलाई अन्डा पर्दा चाहिने प्रोटिनको आवश्यकता मानिसको रगतबाट पूर्ति गर्ने गर्दछ।

र, त्यो व्यक्ति डेंगु संक्रमित रहेमा त्यो लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा डेंगु सर्छ । एक पटकमा धेरै मानिसलाई टोक्ने गर्दछ भने यसले सामान्यतयाः ५०० मीटरको दूरीसम्म यात्रा गर्न सक्छ, तर हाल सवारी साधनको सहज पहुँचले गर्दा यसको भौगोलिक सीमा पनि बढेको देखिन्छ।

यो खासगरी विहान घाम लागेको २ घन्टापछि र सुर्य अस्त हुनुभन्दा अगाडि सक्रिय हुने गर्छ। तर, मान्छे बाट मान्छेमा सर्ने गर्दैन ।

लक्षणहरु

१) अत्यधिक ज्वरो आउने

२) जोर्नी र मंशपेशिका अत्यधिक दुख्ने

३) शरीरमा बिबिरा देखा पर्ने

४) आँखा रातो हुने

५) लगातार बान्ता वा वाक-वाक हुनु

६) पेट दुख्ने

यी माथिका लक्षणहरु खासगरी डेंगु फैलिने समयमा ती व्यक्ति डेंगु देखिँदै आहेका ठाउमा बस्ने वा त्यस्ता ठाउहरुमा भ्रमण गरेर आहेको अवस्थामा डेंगु शंका गर्न सकिन्छ र तुरुन्त डेंगु ल्याब परीक्षण गर्नु पर्दछ।

डेंगुबाट फैलन नदिन के गर्ने ?

एडीस जातका लामखुट्टेले जुनसुकै बेला टोक्ने गरेतापनि यसले विशेष गरेर बिहान र सुर्य अस्त हुनुभन्दा अगाडि टोक्ने भएकोले यी समयमा बढी चनाखो हुनु पर्छ।

पूर्ण बहुला भएको लुगा लगाउने, लामखुट्टेको लागि वरिपरी पानी जम्न नदिने, खाली प्लास्टिकको बट्टाहरु नफाल्ने, नजिकै मोटर कारखाना भए पुरानो टायरको व्यवस्थापन गर्न अनुरोध गर्नुपर्छ।

यो नेपाल सरकारको एकल प्रयास मात्र अपुग हुने  भएकोले स्थानीयहरु नै विशेष सक्रिय हुनु पर्छ । तर नेपाल सरकारले पनि विशेष पहल खासगरी आर्थिक श्रोत साधन, र जनचेतनामुलक कार्यक्रम गराउन भने सहयोग पुर्याउनु पर्छ।

काठमाडौँमा किन सतर्कता ?

काठमाडौँ घना बस्ती भएको र एडीस जातको दुवै लामखुट्टेहरु पर्याप्त रहेको र हरेक बर्ष सक्रिय रहने भएको बढी जोखिममा देखिन्छ। तसर्थ कोहि डेंगु संक्रमित काठमाडौँमा आहेमा डेंगु संक्रमण फैलने सम्भावना बढी देखिन्छ।

डेंगु भाइरस बिभिन्न जिल्लाहरुबाट मात्र नभई विदेशबाट खासगरी छिमेकी देश भारत, मलेसिया लगायतका देशहरबाट पनि आइरहेको र उनीहरुको पहिलो गन्तब्य पनि शुरुमा काठमाडौँ हुने र यहाँ लामखुट्टेको उच्च घनत्तो भएकोले अवस्थाले काठमाडौँले  बिशेष सतर्कता अपनाउनु पर्छ।

डेंगु जस्ता रोगहरुको चुनौति पनि थपिँदै गएकोले यस्ता रोगहरुमा विशेष ध्यान पुराउन सके रोगमुक्त चाड मनाउन ठूलो मद्धत मिल्ने छ। विभिन्न देशहरुले जस्तै नेपाल सरकारले पनि “स्वास्थ ट्राभल एलर्ट” जारी गरिदिने व्यवस्था भए डेंगुबाट बच्न वा छिटो नियन्त्रण हुनेमा दुर्इ मत देखिँदैन।

(लेखक डा. पुन  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ) 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment