भनिन्छ, दुर्घटना अचानक हुन्छ । अपर्झट दुर्घटना भइहाले हामी सर्वप्रथम चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुग्ने वा उसलाई बिरामीसम्म बोलाउने कुरा सोचिन्छ । तर, सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले, चिकित्सकको उपचार सुरु हुनुअघि घाइतेलाई प्राथमिक उपचार दिनुपर्ने हुन्छ । प्राथमिक उपचार दिन त्यसका सामग्रीहरु आवश्यक हुन्छ ।
ती सामग्री संकलन गरेर एउटा बाकसमा राख्ने गरिन्छ । त्यो बाकसलाई ‘फस्ट एड किट’ भनिन्छ । जागरुक मानसिकता भएका मान्छेहरु आफ्नो घरमा फस्ट एड बक्स राख्ने गर्छन् । सम्भावित दुर्घटनास्थलमा यो अवश्य राख्नु पर्छ । यातायातका साधानहरुमा पनि फस्ट एड बाकस हुनुपर्छ । सरकारी कार्यालय, बिद्यालय, कलेज, प्रयोगशाला, अनुसन्धानशाला, व्यापारिक भवन, कारखाना आदिमा फस्ट एड बाकस हुनैपर्छ ।
कहाँ राख्ने ?
सबैले थाहा पाएको ठाउँमा राख्नु पर्छ । यसमा के के वस्तु छन् भन्ने जानकारी सबैलाई हुनु पर्छ । र, ती सामग्रीको प्रयोग कसरी गर्ने भन्ने पनि प्रयोगकर्तालाई जानकारी हुनु जरुरी छ ।
के के राख्ने ?
फस्ट एड बक्समा आपलकालीन औषधि र सामाग्रीहरु राखिएको हुन्छ । यसमा यी सामग्री क्रमबद्ध तरिकाले राख्नुपर्छ-
१) सफाइ गर्ने औषधि- घाउ, चोटपटक लाग्दा सर्वप्रथम त्यसलाई सफा गर्न सेवलान, डिटोल बिटाडिन, पोभिडोन आयोडिन वा सोफ्रामाइसिन सोलुसनजस्ता औषधि राख्नु पर्छ ।
२) दुखाइ कम गर्ने औषधि- प्यारासिटामोल, आइबोप्रोफिन, डाइक्लोफिनाक, नेप्रोसेन, टाम्राडोल, मेफताल स्पास ।
३) दुखाइ कम गर्ने मलम- आयोडेक्स, भोलिनी जेल, डीएफओ जेल, सैलिफ जेल, मूभ आदि ।
४) दुखाइ कम गर्ने स्प्रे- भोलिनी स्प्रे, डीएफओ स्प्रे, रेली स्प्रे, मुभ स्प्रे, ओम्नी जेल आदि ।
५) ज्वरो कम गर्ने औषधि- प्यारा सिटामोल, निको, क्रोसिन, सिटामोल आदि ।
६) एलर्जीको औषधि- सिटि्रजिन
७) बिटाडिन मलम
८) वान्ता रोक्ने दबाइ- डोमपेरिडान डोमाकेयर, एबोमिन इत्यादि ।
९) पखाला रोक्ने दबाइ- मेट्रोन डीएफ, रेसेस्यडोटि्रल, डोटि्रल ।
१०) ओआरएस- जीवनजल, नवजीवन आदि ।
११) एन्टिबायोटिक मलम- पोलिमाइसिन, म्युपिरोसिन ।
१२) क्रेप ब्यान्डेज
१३) स्टिराइल गजपिस ।
१४) थर्मामिटर, टर्च, अक्सिमिटर, रक्तचाप नाम्ने उपकरण ।
१५) ब्यान्डएड
१६) कैंची
१७) सुचरिङ निडल्स
१८) कटन रोल
१९) हाइड्रोजन पेरोक्साइड
२०) मेडिकल मास्क, पञ्जा र टोपी
२१) टिस्यु पेपर, प्रेट्रोलियम जेली ।
२२) प्रयोग पुस्तिका
(डा. भट्टराई योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पतालका निर्देशक हुन्)