Comments Add Comment

एमाले-माओवादी सहमतिले अनि लियो नाटकीय मोड

धेरै माओवादी नेतालाई १६ असोजको हेडक्वार्टर बैठकमा मात्र जानकारी

१९ असोज, काठमाडौं । ९ असोजमा पार्टी हेडक्वार्टर बैठक समापन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘आगामी प्रदेश र संसदको चुनावमा पनि स्थानीय चुनावमा जस्तै तालमेल हुन्छ । कतै एमालेसँग, कतै कांग्रेससँग । तर, सत्ता गठबन्धनमा भएकाले कांग्रेससँग अलि बढी हुन्छ ।’

तर, नेता नारायणकाजी श्रेष्ठ, जसले एमालेसँग गठबन्धन गर्नुपर्छ भन्ने मत राख्दै आएका छन्, प्रचण्डलाई रोके र एक पटक एमाले नेतृत्वसँग गम्भीर कुराकानी गर्न सुझाए ।

किनकि प्रचण्ड र उनकै सामू एमाले नेता वामदेव गौतमले दर्जनौं पटक ‘चुनावी तालमेल मात्र होइन, पार्टी एकता नै गरौं’ भनेर प्रस्ताव ल्याएका थिए । पछिल्लो १० वर्षमा पार्टी एकताका लागि पटक-पटक वार्ता पनि नभएका होइनन् ।

दस्तावेज साटासाटसम्म भएको थियो । तर, पनि अन्तिममा कुनै न कुनै बहानामा भंग हुने गरेको थियो । पछिल्लो समय माओवादी केन्द्रले एमाले छाडेर कांग्रेससँग सत्ता गठबन्धन गरेपछि पनि श्रेष्ठले एमालेसँग संवाद तोडेका थिएनन् ।

उनकै पहलमा माइतीघरस्थित एक निजी घरमा केपी ओली र प्रचण्डबीच पटक-पटक भेट भएको थियो । यद्यपि, ओली सरकार ढाल्ने बेलामा जस्तै यसपटक पनि प्रचण्डले लतारेर माओवादीलाई कांग्रेसकै गठबन्धनमा लैजाने सम्भावना थियो ।

एमालेसँग तालमेल गर्नुपर्छ भन्ने नेताहरु पनि अनौपचारिक संवादमा यसलाई सहजै स्वीकार गर्छन् । किनकि, तालमेलको कुरा गर्दा एमालेको दोस्रो पंक्ति तयार देखिए पनि ओलीले खासै रुचि दिएका थिएनन् । उनले भन्ने गर्थे, प्रचण्डमाथि भर गर्न सकिन्न ।

प्रचण्डपछि पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध भएका कारण ओलीप्रति आशावादी थिएनन् ।

तर, देश दशैंको रमझममा रहेको बेला सहमति प्रयासले एकाएक नाटकीय मोड लियो । आम मानिस मात्र होइन, माओवादी र एमालेकै नेताहरुलाई सर्प्राइज दिने गरी दुई दलबीच चुनावी तालमेल मात्र होइन, एकता गर्ने सहमति जुट्यो ।

बडादशैं सकेर धेरै मानिस काठमाडौं फर्कन पाउँदा नपाउँदै एमाले, माओवादी र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने र लगत्तै पार्टी एकता गर्ने घोषणा भयो ।

एकता वार्ता प्रक्रियामा सहभागी धेरै नेताहरुसँगको कुराकानीबाट एक दशकदेखिको प्रयासले नाटकीय रुपमा सफलता पाएको खुल्छ ।

पार्टी बैठकले म्यान्डेट दिएपछि प्रचण्डले १० गते नै एमाले अध्यक्ष ओली र नेता गौतमसँग कुराकानी गरे । दुर्इ दिनपछि फेरि अर्को बैठक भयो । नेताहरुका अनुसार यो वार्तामा एमाले नेतृत्व यति लचिलो भएर प्रस्तुत भयो कि चुनावी तालमेल गर्न भनेर छलफलमा बसेका नेताहरु अब पार्टी एकता गर्नुपर्छ भन्नेमा पुगे ।

यसमा स्थानीय चुनावको परिणामले पनि भूमिका निर्वाह गरेको नेताहरु स्वीकार्छन् । उनीहरुका अनुसार दुवैलाई लाग्यो अब एकले अर्कालाई सिध्याउन सम्भव छैन । त्यसमाथि एमाले नेतृत्वलाई यदि माओवादी कांग्रेसतिर गयो भने प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो अवस्था हुने भयले भित्रभित्रै सताएको थियो ।

त्यसैले माओवादीलाई कांग्रेसबाट थुतेर आफूतिर ल्याउन एमालेले ६०/४० को चुनावी तालमेलको बम्पर अफर मात्र होइन, पार्टी एकताकै प्रस्ताव अघि सार्‍यो । यसमा पनि एमाले नेताहरु ओली र प्रचण्ड दुई प्रमुख नेता हुने र एकले सरकारको नेतृत्व गर्दा अर्काले पार्टीको नेतृत्व गर्ने प्रस्ताव राखे । वार्ताकार एक नेता भन्छन्, ‘प्रचण्डले मसक्कै आँट्नुमा यसले निर्णायक भूमिका खेल्यो ।’

ठूलो वामपन्थी पार्टीको नेतृत्व गर्ने प्रचण्डको ठूलो सपना हो । त्यसमाथि पाँच वर्षे सरकारको आधा आफूले नेतृत्व गर्न पाउने भएपछि प्रचण्ड सहजै सहमत भए ।

नेताहरुका अनुसार एमाले र माओवादीबीच प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने मोटामोटी समझदारी भएको छ । यदि दुई तिहाई पुगे त्यसअनुसार संविधान संशोधन हुने र आफू कार्यकारी बन्ने मोहले प्रचण्डलाई यो निर्णयमा पुर्‍याएको हुनसक्छ ।

वार्ताहरुका अनुसार चुनावी तालमेलसँगै एकताको सहमतिलाई अन्तिम रुप भने विजया दशमीको दिन दिइएको हो । एमाले नेता रघुवीर महासेठको भैंसेपाटीस्थित घरमा भएको त्यो निणर्ायक वार्तामा एमालेबाट ओलीसँगै गौतम र विष्णु पौडेल सहभागी थिए भने जनार्दन शर्मालाई लिएर प्रचण्ड पुगेका थिए ।

यो सहमति सीमित नेताहरुलाई मात्र थाहा थियो । माओवादी केन्द्रका त धेरै नेताहरुले १६ असोजमा बोलाइएको हेडक्वार्टर बैठकमा मात्र यो सहमति थाहा पाएका थिए ।

एक नेता भन्छन्, ‘एकताबारे लामो समयदेखि छलफल भए पनि निष्कर्षमा पुगेको भने केही दिनमै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।

ट्रेन्डिङ

Advertisment