+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

हट सिटमा एउटा ‘कुल म्यान’

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते १४:२३

काठमाडौं । हामीले भेट्दा उनी फाइलहरुमै घोत्लिइरहेका थिए ।

रत्नपार्क अघिल्तिर नेपाल विद्युत प्राधिकरणको गेटबाट धमाधम गाडी बाहिरिँदै थिए । कर्मचारी प्रायः निथ्रिँदै थिए । र, कुर्सीहरु रित्तिँदै थिए । उनको कार्यकक्षको गर्मी भने हटिसकेको थिएन । टेबलमा फाइलको चाङ थियो, जसले उनको हस्ताक्षर पर्खिरहेको थियो ।

‘बिहान घरबाट निस्केपछि साँझ पाँच बजेसम्म दौडधूप नै हुन्छ,’ हट सिटमा बसेका ती ‘कुल म्यान’ले भने, ‘अब यी फाइल पनि हेर्नैपर्‍यो ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हामीसँग यसो भनिरहँदा साँझको ६ बजिसकेको थियो ।

केही समय कुराकानी गरेर फर्किसकेपछि भोलिपल्ट हामीलाई थाहा भयो, त्यो रात पनि कुलमान १० बजेसम्म कार्यकक्षमै व्यस्त थिए । आम मानिस बत्ती निभाएर सुत्ने तरखर गरिरहँदा उनको कार्यकक्षमा बत्ती बलिरहेकै थियो ।

हो, कुलमान घिसिङ काम थाती राखेर चैनको निन्द्रा लिनै सक्दैनन् । त्यसैले त बाह्रै घण्टा व्यस्त छन् । घाम डुबेपछि अरु कर्मचारी लाखापाखा लाग्छन् । उनी भने बाँकी रहेका कामहरु धमाधम गर्न थाल्छन् । अबेरसम्म उनी न घर सम्झन्छन्, न आफैलाई । घडीको सुई हेरेर घर पुग्ने अनुकुलता पनि उनलाई हुँदैन । घर र्फकंदा राति कहिले नौ बज्छ, कहिले १० ।

घरमा पुग्यो, हतार-हतार चिसो गाँस टिप्यो । गुनासा र तनावका पोकापन्तुरा एकातिर पन्छाएर ओछ्यानमा पल्टियो । बस्, यसरी नै चलिरहेको छ, कुलमानको यान्त्रिक जीवन ।

आज काम सक्यो, भोलि फाइलको डंगुर लाग्छ । हुन त, त्यसमा उनले लेख्ने भनेको तीन वटा अक्षर मात्र हो, ‘सदर’ वा ‘बदर’ । तर, त्यति लेख्नका लागि फाइल अध्ययन गर्नुपर्‍यो । त्यसका अवयवहरु फेला पार्नुपर्‍यो । त्यसभित्रको गन्ध थाहा पाउनुपर्‍यो । राजनीतिक सन्तुलन मिलाउनुपर्‍यो, अर्कोतिर कर्मचारीलाई रिझाउनुपर्‍यो । ‘कार्यक्रमको शोभा’ बढाइदिनुपर्‍यो । अत्यावश्यक भेटघाट र भलाकुसारी पनि गर्नैपर्‍यो ।

बाह्रै घण्टा व्यस्त

बिहान ५ बजे उठ्नासाथ उनी एक लिटर मनतातो पानी पिउँछन् । त्यसपछि बाथरुम जान्छन् । फ्रेस हुन्छन् ।

अब पालो व्यायामको । बाबा रामदेवले सिकाउने केही आसनमा प्राणायाम गर्छन् । तर, अचेल लामो समय व्यायाम र योगासन गर्ने समय पनि साँघुरिएको छ ।

‘पहिला राम्रैसँग गरिन्थ्यो,’ कुलमानले भने, ‘अहिले हल्का गरिन्छ । फुर्सद नै हुँदैन ।’

तैपनि, उनी ज्यानलाई तन्काउँछन्, खुम्च्याउँछन्, मर्काउँछन् । जाँगर चले घर नजिकै बौद्ध स्तुपाको फन्को लगाउँछन् । यसो गरिसक्दा एक, डेढ घण्टा गुजि्रसकेको हुन्छ ।

घर फर्केपछि नुहाउँछन् अनि दिनभरिको कार्यतालिका बनाउँछन् ।

काम, भेटघाट र कार्यक्रमको सेड्युलले नै निक्र्योल गर्छ, घरबाट हिँड्नुअघि नास्ता गर्ने कि खाली पेट राख्ने ? यसबीचमा उनले थोरै चिनी हालेको कालो चिया पिइसकेका हुन्छन् । दिनभरिको सेड्युल व्यस्त रहने भए उनी घरमै हल्का ब्रेकफास्ट लिन्छन् । ब्रेड वा हल्का स्न्याक्स ।

उनी भारी लुगा लगाउँदैनन् । घडी बाँध्दैनन् । सिक्री झुण्ड्याउँदैनन् । अनुहारमा चमक ल्याउन कुनै लिपपोत गर्दैनन् । कुलमानलाई हेर्दा जस्तो देखिन्छ, त्यो उनको ‘अर्गानिक’ रुप हो ।

यन्त्रवत दैनिकी सुरु हुन्छ, घरबाट निस्किएपछि । भेटघाट, छलफल, अनुगमन, अह्राइ-खटाइले उनलाई व्यस्त बनाउँछ । त्यसमाथि थरिथरिका कार्यक्रमको निम्तो मान्नैपर्ने, आगन्तुकसँग भलाकुसारी गर्नैपर्ने, पत्रकारका लागि हाजिर भइदिनैपर्ने ।

कार्यकक्ष बाहिर भेट्न आउनेहरुको उत्तिकै चाप । कहिले कर्मचारी, कहिले नेता त कहिले शुभचिन्तकले भेट्न खोज्छन् । तर, उनी त्यस्ता भेटघाटमा खासै रुचि राख्दैनन् ।

‘नेपाली समाजकै नराम्रो संस्कार होला । हामीलाई धेरैजसो त भेटघाटले अल्मलाइरहेको हुन्छ,’ उनी भन्छन्, ‘यहाँ यस्तै हो ।’

सकेसम्म भेटघाटलाई पन्छाउने गरेको उनी बताउँछन् । भन्छन्, ‘अत्यावश्यक काम छ भने मात्र फुर्सद निकाल्छु ।’

खानपिनमा उदासीन

घरबाट निस्केपछि जहाँ, जतिबेला, जे भेटिन्छ, उनी त्यसैले पेट भर्छन् । टेबलमा जे आउँछ, मस्त खाइदिन्छन् । कुनै नाइनास्ती छैन ।

‘यो खाने, त्यो खाने भन्ने छैन । मेरो कुनै स्पेसल खाना भन्ने छैन,’ उनी भन्छन्, ‘जस्तो पनि खाइदिन्छु ।’

सामान्यतः दिउँसोको खानामा दाल, भात, तरकारी, अचार नै हुन्छ । बिहान घरमा नास्ता गर्न गरेको दिन भने मःम, चाउमिनबाट पनि उनको मन अघाउँछ ।

राति घर फर्केपछि, त्यही दालभात । कपाकप खायो, सुत्यो ।

कहिलेकाहीं उनलाई खाना पकाउन जाँगर चल्छ, फेमेली गेट-टुगेदरमा । तर, पाककलामा पारंगत भने होइनन् । यसो रहर मेटाउने मात्र हो ।

मदिराप्रति पनि उस्तो आशक्ति छैन । सोसल ड्रिंकका रुपमा कहिलेकाहीं चियर्स गर्छन् ।

‘खाने, पिउने कुरामा म एकदमै उदासीन छु,’ कुलमान भन्छन्, ‘म त्यति रसिक मान्छे होइन ।’

नो इन्टरटेनमेन्ट

दिनभरको दौडधूपबाट विश्राम लिन राति यसो मदिराको चुस्की लगाउने बानी उनको छैन । भोज एवं पार्टीहरुमा विन्दास रमाइलो गरिरहेका पनि हुँदैनन् । राजधानीका मल्टिप्लेक्स हलहरुमा चलचित्र हेर्न गएको पनि उनलाई देखिँदैन । संगीत पनि सुन्दैनन् ।

बिहान उठेदेखि कामले कति पछ्याउँछ भने मनोविनोदका लागि उनीसँग केही समय नै बच्दैन । बिहान उठ्यो काम, दिनभर काम, राति काम । कामै कामको चौघेरामा कहाँ मनोरञ्जन, कहाँ रसरंग !

साँझ घर फर्केपछि उनी मोबाइलमै अनलाइन समाचारहरु हेर्छन् । दिनभरिका खबरहरुबाट अपडेट हुन्छन् । बस्, यसरी उनको ‘एक दिन’ मैजारो हुन्छ ।

एकसरो लुगा

औसत उचाइका, मंगोलियन वर्णका, छरितो ज्यान, हँसिला तर गम्भीर पनि । कुलमान घिसिङ झट्ट हेर्दा यस्तै देखिन्छन् । यस्तो ज्यानमा उनी भारी लुगा लगाउँदैनन् । घडी बाँध्दैनन् । सिक्री झुण्ड्याउँदैनन् । अनुहारमा चमक ल्याउन कुनै लिपपोत गर्दैनन् । कुलमानलाई हेर्दा जस्तो देखिन्छ, त्यो उनको ‘अर्गानिक’ रुप हो ।

लुगाप्रति पनि उनको मोह छैन । एकसरो लुगा भए पुग्छ । तर, त्यसैमा चिरिच्याँट्ट देखिन्छन् । उनी दिउँसोका लागि अर्को लुगाको जोहो गर्दैनन् । बिहान जुन लुगा पहिरिएका छन्, दिनभर त्यसैले काम चल्छ । टाई भने कार्यकक्षमै झुन्ड्याएका छन् ।

‘विदेशी एवं कूटनीतिक नियोगका मान्छेहरुसँग भेट्नुपर्दा लगाउन एउटा टाई त जगेर्ना गर्नैपर्‍यो नि,’ उनले ह्याङगरमा झुण्ड्याइएको टाईतर्फ संकेत गरे ।

घामको कमि

कुलमानको खानपान तालिका नियमित छैन । सुत्ने र उठ्ने तालिका पनि सधैं एकनास रहँदैन । यद्यपि, उनी ऊर्जावान् देखिन्छन् ।

न पेट पुट्ट निस्किएको छ, न आँखामा पावरवाला चस्मा छ । न मधुमेहको औषधि चपाउनु परेको छ, न उच्च रक्तचाप नियन्त्रण गर्नुपरेको छ । कोलेस्टेरोरले पनि समातेको छैन, थाइराइडले दुःख दिएको छैन ।

उनले घाम भने ताप्न पाएका छैनन् । किनभने, उनलाई भिटामिन डीको कमी छ । चिकित्सकको सल्लाहअनुसार भिटामिन डीको औषधि खान्छन् ।

‘अरु त सबै ठीकठाकै छ,’ भन्छन्, ‘प्रायः घाममा बस्न नपाइने भएकाले भिटामिन डीको कमि रहेछ ।’

‘कुल म्यान’

कुलमान जुन कुर्सीमा बसेका छन्, त्यो शीतल र शान्त भने छैन । उनकै भाषामा त्यो ‘हट सिट’ हो, जसमाथि चौतर्फी दबाब छ । अनेक झैझमेला, खिचातानी, धम्की, घुर्की त्यही कुर्सी वरिपरि घुम्ने गर्छ । त्यसैले त्यो कुर्सीमा बस्ने कुलमानको रात कुनै बैरागीजस्तै मदमस्त ढंगले बित्दैन ।

‘कहिलेकाहीं छटपटी हुन्छ,’ उनी भन्छन्, ‘र, त्यसबाट निन्द्रा बिथोलिन्छ ।’

यद्यपि, सकेसम्म यस्ता तनाव व्यवस्थापन गर्छन् ।

‘आखिर तनाव लिएर पनि हुनेवाला केही छैन । जति गर्ने हो, आफैंलाई गुनासो नरहने गरी काम गर्ने हो,’ उनी भन्छन् ।

डर, भय, तनाव, आवेग, द्वेषजस्ता तत्वहरुलाई आफूभित्र प्रवेश गर्नै दिँदैनन्, उनी ।

‘म त शत्रुले पनि राम्रो काम गर्‍यो भने खुशी हुने मान्छे,’ उनी भन्छन्, ‘मभित्र त्यस्तो रीस, आवेग, घृणा केही छैन ।’

कुलमान कुनै पनि कुराको तुरुन्तै प्रतिक्रिया पनि दिँदैनन् । कसैलाई बढी रिझाउने वा कसैलाई चित्त दुखाउने मेलोमेसो पनि मिलाइरहँदैनन् । बस्, उनलाई काममा दत्तचित्त हुन पाए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?