News Summary
Generated by OK AI. Editorially reviewed.- कुलमान घिसिङ नेतृत्वका ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको करिब १ खर्ब ९५ अर्ब बजेट रोक्का भएको छ।
- मन्त्री घिसिङले २६९ प्रोजेक्टको ठेक्का तोड्ने प्रक्रिया अघि बढेको र ४९ वटा ठेक्का तोडिसकेको जानकारी दिनुभयो।
- अर्थ मन्त्रालयसँग पटक पटक छलफल भइरहेको र अनावश्यक बजेट घटाउन सहमत रहेको मन्त्री घिसिङले बताउनुभयो।
८ मंसिर, काठमाडौं । कुलमान घिसिङ नेतृत्वका तीन मन्त्रालयको करिब १ खर्ब ९५ अर्ब बजेट रोक्का भएको छ । घिसिङ मन्त्री रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको उक्त रकम बराबरको बजेट रोक्का गरिएको हो ।
खर्च मितव्ययिता अपनाउन भन्दै अर्थ मन्त्रालयले स–साना तथा टुक्रे आयोजनाको बजेट रोक्का गरेको हो ।
मन्त्री घिसिङले आफूले नेतृत्व गरिरहेको तीन मन्त्रालयको १ खर्ब ९५ अर्बभन्दा बढी बजेट रोक्का भएको बताए । बजेट रोक्का हुँदा काम अघि बढिरहेका प्रोजेक्टहरू समेत रोकिएको उनको भनाइ छ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री घिसिङले बजेट नै रोक्का भएपछि अगाडि बढ्न नसकेको बताए । ‘बजेट नै रोक्का भएपछि आयोजना अगाडि बढ्ने कुरो भएन’ मन्त्री घिसिङले भने ।
सहरी विकास मन्त्रालयको करिब ९० अर्बको बजेटमा ६१ अर्ब बजेट रोक्का भएको उनले बताए । तीन वटै मन्त्रालयबाट धेरै आयोजना लिने, ठेकेदारले कामै नगर्ने जस्ता प्रबृत्ति व्यापक रहेको उनले बताए । ठेक्का लिएर काम नगर्नेहरूको ठेक्का तोड्दै लगिने उनको भनाइ छ ।
ठेक्का लिएर काम नगर्ने, ढिलासुस्ती गर्नेहरूमध्ये २६९ आयोजनाको ठेक्का तोड्ने प्रकृया अघि बढेको घिसिङले बताए । तिमध्ये अहिलेसम्म ४९ वटा ठेक्का तोडिसकिएको जानकारी दिए ।
‘कुनै आयोजनामा १५ वर्षसम्मका लागि ठेक्का भएको तर कामै नगर्ने नगरेको पाइएको उनले बताए । झापाको कन्काई नदी पुल १५ वर्षसम्म ठेक्का भएर केही पनि काम नभएको उनले स्पष्ट पारे । कमला डाइभर्सनको १२–१५ वर्ष सम्म पनि काम नभएको पाइएको घिसिङले बताए ।
रोक्का भएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयसँग पटक पटक छलफल भइरहेको उनको भनाइ छ । जथाभावी आयोजनाको बजेट घटाउनुपर्नेमा आफू पनि सहमत रहेको उनले बताए ।
‘अनावश्यक बजेट १०–१५ अर्बको होला । बाँकी बजेट फुकुवा गर्नुपर्छ, लगानी हुनुपर्छ । किनभने अति आवश्यक जुम्लामा एउटा पुल बन्दै छ, पुलको आवश्यकता छ भने त्यो पुलको बजेट काटेर त भएन नि,’ मन्त्री घिसिङले भने ।
पुनर्निर्माणलाई व्यापक रूपमा अघि बढाइएको उनलेबताए । संरचनाहरूलाई डिजाइन गरेर अगाडि बढाउनुपर्ने भएकाले कतिपय संरचना डिजाइन प्रक्रियामा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4