Comments Add Comment

भारतीय बाँध भत्काएको प्रतिशोध साँध्न पक्रियो, घुस नदिएपछि थुन्योः देवनारायण

२१ असोज, सप्तरी । एक साता भारतीय प्रहरीको हिरासतमा बसेर छुटेका सीमा रक्षक देवनारायण यादवले दशगजा प्रकरणको रिस फेर्न आफूलाई पक्राउ गरिएको बताएका छन् ।

छोरा अजयको विवाहसँग आफ्नो गिरफ्तारीको कुनै सम्वन्ध नरहेको देवले बताए । ‘तपाईंहरु सबैले सोचेजस्तै गत वर्ष भारतीय बाँध भत्काएको घटनालाई लिएर नै मलाई पक्राउ गरिएको हो’ सीमा रक्षक यादवले अनलाइनखबरसँग भने, ‘भारतीय प्रहरीले मसँगै सिधै यही कुरा निकालेर कुटपिट गरे ।’

नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले सप्तरीको तिलाठी र भारत कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा निर्माण गरेको बाँध १३ साउन २०७३ मा देवनारायणको नेतृत्वमा गएको नेपालीहरुले भत्काइदिएका थिए । त्यस क्रममा भएको झडपमा परी देवनारायण स्वयंम गम्भीर घाइते भएका थिए ।

झडप साम्य पार्ने बहानामा भारतीय सब-इन्स्पेक्टर विनोद यादव हतियारसहित नेपाली सीमामा प्रवेश गर्दा उनको हतियार खोसिएका थिए । त्यसबेला हतियार खोस्नेमा संलग्न भएको भन्दै आफूलाई कुटपिट गरेको देवनारायणले बताए ।

‘हामीसँगै पक्राउ परेका दुई जना २५-२५ सय घुस दिएर छुटे, मलाई चाहिँ ५० हजार घुस माग्यो’ उनले भने, ‘मैले एक रुपैयाँ पनि घुस दिन्न भनेपछि पक्राउ गरेर थुन्यो ।’

सात दिन थुनामा राख्दा भने आफू र आफ्नो छोरामाथि दुव्र्यवहार नगरिएको उनले बताए ।

नेपाल सरकार, प्रहरी प्रशासन र मिडियाको दबावले गर्दा भारतीय पक्षले आफूलाई छोड्न वाध्य भएको उनले बताए । ‘भारतीय पक्षलाई दबाव दिएर मेरो रिहाईको वातावरण बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment