Comments Add Comment

प्रचण्डले भने- म गद्दार भैसकेको रहेनछु !

माओवाद र पहिचानको मुद्दा नछाड्ने प्रतिवद्धता

२४ असोज, काठमाडौं । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएका छन् ।

मातृका यादव र गोपाल किरातीको जोडबलमा सोमबार पेरिसडाँडामा सचिवालयको बैठक डाकेका प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाडिने आश्वासन दिएका हुन् । प्रचण्डको आश्वासनपछि किरातीले माओवादी केन्द्रबाट तत्काल विद्रोह नगर्ने प्रतिवद्धता जनाएका छन् ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयप्रति गोपाल किराती र मातृका यादव असन्तुष्ट थिए । किरातीले पार्टीबाट विद्रोह गर्ने चेतावनी प्रचण्डलाई दिएका थिए भने यादवले चाहिँ असन्तुष्टिका बावजुद विद्रोह नगरी अन्तरसंघर्ष चलाउने बताउँदै आएका थिए ।

पेरिसडाँडामा करिब ४० जना सचिवालय सदस्यहरुको उपस्थितिमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएपछि गोपाल किराती पनि तत्काल विद्रोहको बाटोमा नगई मात्रिका यादवको जस्तै अन्तरसंघर्ष गरेर पार्टीभित्रै रहन सहमत भएको एक नेताले अनलाइनखबरलाई बताए ।

लाजिम्पाटमा दुई दिन

एमालेसँग पार्टी एकताको घोषणासँगै नेता गोपाल किराती माओवादी पार्टी पुनर्गठनको तयारीमा लागेका थिए । तर, प्रचण्ड निवास लाजिम्पाटमा दुई दिनसम्म भएको छलफलपछि उनी पार्टीभित्रै रहेर अन्तरसंघर्ष चलाउने निश्कर्षमा पुगेका हुन् ।

असोज २१ गते किराती प्रचण्डसँग कुराकानी टर्ने भन्दै बिहान ७ बजे लाजिम्पाट पुगेका थिए । तर, एक घण्टासम्म छलफल गरेपछि उनको ब्लड प्रेसर बढ्यो र निवासतर्फ फर्किए ।

असोज २२ गते पुनः प्रचण्ड र किरातीवीच छलफल भयो । सो छलफलमा मात्रिका यादव पनि सहभागी थिए ।

माओवाद र पहिचानको मुद्दा छाडेर एमालेसँग एकता गर्ने हो भने आफू एक मिनेट पनि प्रचण्डसँग रहन नसक्ने भन्दै किरातीले चेतावनी दिएका थिए । प्रचण्डले किरातीलाई माओवाद र पहिचानको मुद्दा छाडेर एमालेसँग एकता नगरिने किरातीलाई आश्वासन दिए ।

तर, किरातीले यो कुरा आफूलाई मात्रै भनेर नहुने भन्दै सचिवालयको बैठक बोलाएर यो कुरा राख्न प्रचण्डलाई आग्रह गरेपछि २३ गते पेरिसडाँडामा सचिवालयको बैठक डाकियो ।

लाजिम्पाटमा भएको छलफलमा मात्रिका यादवले किरातीलाई पार्टीबाट विद्रोह नगर्न सुझाव दिएका थिए । आफूले विद्रोह गरेर पनि सफल नभएको भन्दै यादवले किरातीलाई असफल हुने चेतानवी दिँदै पार्टीभित्रै रहेर अन्तरसंघर्ष गरौं भनेका थिए ।

‘हामी धेरै वर्ष छुट्टयिौं, तर केही गर्न सकेनौं,’ यादवले किरातीलाई भने, तपाईको हालत पनि त्यही हुन्छ ।’

छलफलका क्रममा किरातीले प्रचण्डलाई भने-‘कमाण्डर एक्लै हिँड्यो भने मारिन्छ, सिपाहीसँगै हिँड्यो भने सुरक्षित हुन्छ ।’

स्रोतका अनुसार किरातीले पार्टी एकता संयोजन समितिलाई चुनावी तालमेल समितिमा रुपान्तरण गर्न माग गरेका थिए । साथै पार्टीको औपचारिक बैठक बोलाएर माओवाद र पहिचानको मुद्दामा प्रतिवद्धता जनाउनुपर्ने किरातीको माग थियो ।

पेरिसडाँडामा के भयो ?

सोमबार पेरिसडाँडामा हतार-हतार बसेको सचिवालय बैठकमा करिब ४० नेताहरु सहभागी थिए । गोपाल किरातीसँग खरो वैचारिक विमति राख्दै आएका शक्ति बस्नेत, टोपबहादुर रायमाझी लगायतका नेताहरु बैठकमा उपस्थित भएनन् ।

बैठकको सञ्चालन मात्रिका यादवले गरेका थिए । उनले गोपाल किरातीको माग अनुसार सचिवायलको बैठक डाकिएको बताए । सोही बैठकमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने प्रतिवद्धता जनाए ।

असन्तुष्ट नेता किरातीले यदि एमालेले पनि माओवाद र पहिचानको मुद्दालाई मान्छ भने उसँग पार्टी एकता गर्दा आफूलाई कुनै आपत्ति नहुने बैठकमा बताए ।

किरातीले बैठकमा अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि बोल्न आग्रह गरेका थिए । श्रेष्ठले पार्टी अध्यक्षको भनाइ नै आफ्नो भनाइ रहेको बताएपछि किराती सन्तुष्ट बनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘म गद्दार भैसकेको रहेनछु’

प्रचण्ड र गोपाल किरातीवीचको छलफलमा अर्को एउटा रोचक प्रशंग पनि छ ।

प्रचण्डसँग रिसाएका किरातीले पार्टी अध्यक्षलाई सम्वोधन गर्दा ‘श्री प्रचण्डज्यु’ भने । अर्को दिनको भेटमा प्रचण्डले किरातीलाई छेड हान्दै ‘श्री प्रचण्डका तर्फबाट गुडमर्निङ है’ भने ।

अरु बेलाको भेटमा किरातीले ‘कामरेड प्रचण्ड’ भन्थे । तर, एमालेसँग एकता गर्ने निर्णयमा पुगेपछि किरातीले प्रचण्डलाई ‘श्री’ भनेका हुन् ।

आफूले आशा र भरोसा गरेको नेता प्रचण्ड नै भएकाले श्री भनेर सम्वोधन गरेको किरातीले बताए पनि प्रचण्डले यसमा चित्त बुझाएनन् ।

एक माओवादी नेताले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भने- ‘श्री भन्नाले म कामरेड हुन नसके पनि साइँलाको नजरमा अझैसम्म गद्दारचाहिँ भइसकेको रहेनछु !’

अरुले आफ्नो विरोध गर्दा रीस उठे पनि साइँलासँग कहिल्यै रीस नउठ्ने प्रचण्डले बैठकमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment