Comments Add Comment

एमालेको निश्कर्ष– माओवादी नेतालाई व्यवस्थापन गर्न गाह्रो भो

प्रचण्ड र बाबुराम माग्ने, केपी ओली नदिने !

२६ असोज, काठमाडौं ।  वामपन्थी  गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँडमा सहमति जुटाउन समस्या भएको छ । माओवादी र नयाँ शक्तिले धेरै सिट दाबी गरेको भन्दै एमाले नेताहरु सकसमा परेका छन् ।

निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले धेरैजसो सिटको बाँडफाँड सहमतिमा टुंगिए पनि केही ठाउँमा मिलाउनुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कार्यदलले परामर्श लिइरहेको पोखरेलले बताए ।

बुधबार साँझसम्म एक नम्बर प्रदेशको सिट बाँडफाँड टुंगो लागेको तर अरु प्रदेशको बाँकी रहेको नेताहरुले बताएका छन् ।

माओवादीले भने ६०/४० को भागवण्डामा सहमति भएकाले आफूहरुले ४० प्रतिशत सीट पाउनुपर्ने अडान राख्दै आइरहेकोछ ।

जित्ने सिट लिन प्रचण्डलाई ओलीको सुझाव

क्षेत्र बाँडफाँडका सन्दर्भमा चुनाव जित्ने गरी मिलाउन ओली र प्रचण्डबीच माइतीघरस्थित एक शुभेच्छुकका घरमा वार्ता भएको थियो । एमाले माओवादी एकता गर्ने सन्दर्भमा पनि सोही घर प्रयोग गरिएको थियो । त्यहाँ भएको वार्तामा ओलीले कोटा पुर्‍याउन ४० प्रतिशत लिने भन्दा पनि जित्ने गरी सिट लिन प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रचण्डले आफ्ना नेताहरुको व्यवस्थापन र कार्यकर्ताको आकांक्षा बढी भएका कारण लचिलो बन्न ओलीलाई आग्रह गरेको स्रोतले बतायो ।

एमालेसँग तालमेल भएपछि माओवादीका अधिकांश नेताहरु प्रत्यक्ष चुनाव लड्ने मूडमा छन् । त्यसैले माओवादीको धेरै कम भोट भएका ठाउँमा पनि सो पार्टीका नेता व्यवस्थापन गर्न एमालेले छाड्नुपर्ने भएको छ ।

नेता व्यवस्थापन गर्न यस्तो संकट

उदाहरणका लागि काठमाडौंको क्षेत्र नम्बर ६ मा ०७४ को स्थानीय तह चुनावमा वडाहरुमा प्राप्त मत एमालेको १४ हजार ९६५ र माओवादीको ४ हजार ५३० रहेको छ । कांग्रेस करीव एक हजार मतले एमालेभन्दा पछाडि छ ।

अहिले तालमेल हुने भएपछि माओवादी नेता हितमान शाक्यले यो क्षेत्र दावी गरेका छन् । उनले ०६४ मा यही क्षेत्रबाट जितेका थिए भने ०७० मा हिमाल शर्मा चुनाव लडेर करीव ६ हजार मतका साथ तेस्रो भएका थिए ।

अहिले यो क्षेत्र माओवादी नेताद्वय शाक्य र शर्माले दावी गरेका छन् । यो क्षेत्र एमालेले माओवादीलाई छाड्दा ४ हजार भोट भएको पार्टीलाई १५ हजार भोट भएको पार्टीले आफ्नो मत खन्याउनुपर्नेछ ।

क्षेत्र खोज्दै माओवादी नेता

एमालेसँग तालमेल भएपछि यसअघि समानुपातिकमा रहेका र प्रत्यक्ष चुनाव हारेका अधिकांश माओवादी नेता प्रत्यक्ष उम्मेदवार बन्न निर्वाचन क्षेत्र खोजिरहेका छन् । राम कार्की झापा वा उदयपुरबाट उम्मेदवार बन्नका लागि सिट मागिरहेका छन् ।

त्यस्तै रामवहादुर थापा बादल, कृष्णवहादुर महरा, चक्रपाणि खनाल, देव गुरुङ, देवेन्द्र पौडेल, लीलामणि पोखरेललगायतका नेताहरु पनि चुनाव जित्ने निर्वाचन क्षेत्र खोजिरहेका छन् ।

यसपटक चुनाव नजिते ५ वर्षसम्म पछि परिने र राजनीति नै सिद्धिने डर धेरै माओवादी नेताहरुमा छन् ।

माओवादी शीर्षनेतामध्ये अहिलेसम्म अध्यक्ष प्रचण्ड चितवन ३, नारायणकाजी श्रेष्ठ गोरखा २, पम्फा भुसाल ललितपुर ३, जनार्दन शर्मा रुकुम, शक्ति बस्नेत जाजरकोट र वर्षमान पुन रोल्पाबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । प्रचण्ड बर्दिया जाने चर्चा पनि चलिरहेको छ ।

गिरिराजमणि पोखरेल महोत्तरी र टोपवहादुर रायमाझीको अर्घाखाँची पनि लगभग सुरक्षित नै छ ।

माओवादीका ठूला नेता व्यवस्थापन गर्नका लागि फिल्डमा खटिएका जिल्लास्तरीय नेताहरुले त्याग गर्नुपर्ने भएको छ भने एमालेले थोरै भोट भएको ठाउँमा धेरै भोट हालेर जिताउनुपर्ने अवस्था आएको कार्यदलका एक सदस्यले बताए ।

एमालेका भने अधिकांश मुख्य नेताहरु यसअघि जितेकै क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ । एमाले नेताहरु चुनाव लड्ने क्षेत्रमा स्थानीय तह चुनावका आधारमा सबै ठाउँमा एमाले धेरै मतान्तरका साथ अघि रहेकाले माओवादीको थोरै मत थपिँदा पनि उनीहरु सुरक्षित हुनेछन् ।

उता माओवादी र एमालेवीच सीट बाँडफाँडमा कुरा नमिलिरहेका बेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले आफूलाई अपमानित गरिएको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

आफूहरुलाई माओवादी केन्द्रका नेताले अपमानित गरिरहेको नयाँशक्तिका नेताको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment