Comments Add Comment

लेकाली जिल्लामा भेडासँगै हराउन थाले राडीपाखी !

भेडीगोठमा भेडा कम, तानमा ऊन पाउनै मुस्किल

१ कात्तिक, ताप्लेजुङ । मनसुन सकिएर विस्तारै चिसो मौसम सुरु हुँदैछ । सदरमुकाम फुङ्लिङबाट देखिने वारि–पारिका डाँडाहरुमा विस्तारै हिउँका रेखा देखिन थालेका छन् । फुङलिङका भक्ति पौडेल जाडोका लागि राडी किन्न बजार पसे ।

विगतमा फुङलिङका अधिकांश पसललमा राडीपाखी झुण्ड्याइन्थ्यो । यसपटक भने पौडेललाई कोसेली घर नै पुग्नुप¥यो । त्यहाँ पनि ‘स्टक’मा एउटा मात्र थियो । र, चार हजार रुपैयाँ हालेर किने ।

राडी खोज्दै आउने ग्राहकलाई ‘छैन’ भन्दै फर्काउनुपर्ने भएको छ, कोसेली घरमा ललित गुरुङलाई । एक समयमा राडीपाखीको केन्द्र मानिने ताप्लेजुङमै पाइन छाडेको छ, आजकाल ।

फुङलिङबाट करिब एक किलोमिटर माथि गुरुङ गाउँमा सधैं तानमा झुम्मिएका देखिन्थे, महिलाहरु । अहिले आक्कलझुक्कल मात्र बस्छन्, ऊन नै पाइन छाडेको छ । कच्चापदार्थ पाइए पनि बुनिसक्नासाथ उनीहरु कोसेली घरतिर दौडिन्छन्, बिक्री गर्न ।

दुई दशक अघिसम्म हिउँदभरि तानमै हुन्थिन्, फुङलिङ ४ भिन्तुनाडाँडाकी विष्णुमाया श्रेष्ठ । छोरीलाई घर जाँदाको कोसेलीदेखि आफन्त र इष्टमित्रलाई चिनो र बाँकी रहने राडी मात्र बिक्री गर्थिन् । अब त्यो कथाजस्तो बन्न थालेको छ ।

उमेरले ६ दशक पार गरेका हिमाली क्षेत्रका वृद्धाहरुलाई हिउँदको सिरेटोले हिर्काउन थाल्दा राडीको याद आउँछ । युवापुस्ताका लागि त्यो एकादेशको कथाझैं बन्दैछ । भेडाको ऊनजस्तो…. भन्ने गीत अब गीतमै सीमित हुन लागेको छ ।

फुङलिङबाट करिब एक किलोमिटर माथि गुरुङ गाउँमा सधैं तानमा झुम्मिएका देखिन्थे, महिलाहरु । अहिले आक्कलझुक्कल मात्र बस्छन्, ऊन नै पाइन छाडेको छ

भेडाको ऊन पाउनै मुस्किल हुँदा विस्तारै यो व्यवसाय हराउँदै गएको फुङलिङ उकालीपानीकी कृष्णमाया गुरुङ बताउँछिन् ।

उनी भन्छिन्, ‘अबको पुस्ता भेडा पाल्न गोठ बस्दैनन्, भेडी गोठ पनि कम हुँदै गए । सबैले घरमा १÷२ वटा मात्रै पालेका छन् ।’ उनको भनाइमा अहिलेका महिला पनि राडीको तानमा बस्न रुचाउँदैनन् ।

विगतमा जस्तो राडीपाखीको आवश्यकता कम हुँदै गएको छ । ०४६ सालमा फुङलिङसम्म गाडी नआउँदासम्म ताप्लेजुङका बासिन्दा तमोर गड्तीरै गड्तीर धरानको फुस्रे पुगेर ओढ्ने÷ओछ्याउने ल्याउँथे । ७/८ दिनसम्म ढाडमा बोकेर ल्याइएका सिरक, डसना प्रयोग गर्न परिवारका सदस्यबीच तँछाडमछाड चल्थ्यो ।

बुहारीहरुले त सासू, ससुरालगायत अभिभावकको ओछ्यानबाट उब्रिए मात्र धरानबाट ल्याएका सिरक, डसनामा सुत्न पाउँथे ।

त्यसैले गाउँघरमै पाइने राडीपाखी प्यारा हुन्थे, अधिकांशलाई । अहिले त गाउँ–गाउँसम्म सडक पुगेको छ । यातायातका साधनमार्फत् विकट बस्तीसम्म पुग्छन्, सिरक–डसना पनि ।

पहिले भेडाको ऊनबाट बनाइने राडी ओड्दा पनि नबिजाओस् भनेर मसिनोगरी बुनिन्थ्यो । र, उपभोक्ताको रोजाइमा पनि त्यस्तै राडी पर्थे । अहिले त सिरक, डसना बनाउने धुनिया घर–घरै पुग्छन् । राडीको महत्व पनि हराउँदै गएको छ ।

दुर्लभ बन्दै गर्दा एक दशक अघिसम्म सात सयमा पाइने पाटे राडीको मूल्य अहिले ३५ सय पुगेको छ ।

यसरी बनाइन्छ

भेडाको ऊन काडिएपछि ठूलो भाँडोमा हालेर साबुनपानीले मज्जाले धोइन्छ । साबुन नहुँदा रिठ्ठाको फिँज, खरानीलगायत वस्तु मिसाएर पानीमा उमालिन्थ्यो ।

चोयाबाट बनाइएको ठूलो झाकीमा हाल्नुअघि पानीको पोखरी नै बनाइन्छ । राम्ररी नधोए भेडाको गन्ध आउने भएकाले मिची–मिची धोएर सिनित्त पारेपछि चर्खामार्फत् धागो बनाइन्छ ।

ठूला, साना गरी विभिन्न आकारका धागो बनाएपछि ढकनीमा राखेर बाँसबाट बनेको ‘तोस्रो’ले तान्दै हिर्काउँदै बुनिन्छ ।

उमेरले ६ दशक पार गरेका हिमाली क्षेत्रका वृद्धाहरुलाई हिउँदको सिरेटोले हिर्काउन थाल्दा राडीको याद आउँछ । युवापुस्ताका लागि त्यो एकादेशको कथाझैं बन्दैछ

राडीको गुणस्तरअनुसार गाउँ, ठाउँ र पाटे लेखिन्छ । आजकाल भने जिल्लाको नाम लेख्ने चलन छ । पुराण, पूजाजस्ता धार्मिक कार्यमा भने अहिले पनि चोखो राडी ओछ्याउने प्रचलन छ ।

पहिले गुरुङ समुदायले घरमा बुहारी भित्र्याउनुअघि राडी बुन्न जान्ने÷नजान्ने निश्चय गरिन्थ्यो । अनि मात्र विवाहको मिति तय हुन्थ्यो ।

हराउँदै भेडी गोठ

बाह्रैमास हिउँ पर्ने उच्च हिमाली भेग र औलमा समेत हरेक हाट, बजारमा पहिले राडी किनबेच हुन्थ्यो ।

अहिले त राडी चाहिए बुन्ने घर पत्ता लगाएर ‘अर्डर’ दिनुपर्छ । त्यो पनि सजिलै कहाँ पाइन्छ र !

फावाखोलाका भेडा पालक हर्ममान बिष्टका अनुसार पहिले ऊनका लागि मात्र पनि हरेक घरमा ४÷५ वटासम्म भेडा पालिन्थ्यो । एउटै गोठमा ४÷५ सय भेडा हुन्थे ।

अहिले बढीमा ८० वटा भेडा गोठमा पनि पाइँदैन । क्रमशः भेडी गोठ हराउँदै गएका छन् । माथिल्लो क्षेत्र खम्बाछेन, लोनाकलगायत हिमाली क्षेत्रमा भेडी गोठ पु¥याउँदा तिब्बती व्यापारीले ऊन किन्छन् ।

व्यवसायीका अनुसार हिमाली भेगमै हुँदा भेडाबाट ऊन निकालिन्छ । अनि मात्र ओरालो झारिन्छ । वर्षमा चारपटक काट्ने ऊन दुई पटक हिमाली क्षेत्रमा खपत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment