Comments Add Comment

एमालेसँग एकता गर्न समय लाग्छ, बाबुरामजी संसदमा चाहिन्छ

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुन अहिले एमाले-माओवादी चुनावी तालमेल सम्बन्धी कार्यदलमा सक्रिय छन् । देशैभरिका प्रतिनिधिसभा र प्रदेशसभाका सीटहरुमा तालमेलका लागि उनी अहोरात्र खटिरहेका छन् ।

यसका साथै वर्षमान पुनसँग जोडिएको अर्को पनि पक्ष छ, त्यो के भने विगतमा केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेस- माओवादी गठबन्धन बनाउनेमा उनले भूमिका खेलेका थिए । हामीले एमाले र माओवादीको सिट बाँडफाँटको लफडा भन्दा पनि माओवादीको कार्यनीतिक ‘यु-टर्न’ का विषयमा जान्न चाह्यौं ।

तर, माओवादी नेता पुनले विगतमा एमालेसँगको सहकार्य तोड्न आफूले भूमिका खेलेको सगर्व बताउँदै केपी ओली र उनको दल एमालेमा दम्भ देखिएकाले त्यस्तो कदम चाल्नुपरेको स्पष्टीकरण दिए । अहिले सहकार्यको चरणमा प्रवेश गरेका बेला एमालेको धेरै आलोचना नगर्ने तर भविश्यमा यसबारे समीक्षा गरिने पुनले बताए ।

साथै माओवादी नेता पुनले आगामी संसदमा डा. बाबुराम भट्टराई चाहिन्छ र उनले जितेर आउनुपर्छ भन्दै उनलाई वाम गठबन्धनमा फर्काउन आफूहरु तयार रहेको समेत बताए ।

वाम एकताबारे नेता पुनसँग अनलाइनखबरले गरेको छोटो कुराकानी

केपी ओलीको नेतृत्वमा रहेको वामपन्थी सरकार ढालेर कांग्रेस-माओवादी गठबन्धन बनाउने मुख्य योजनाकार वर्षमान पुन थिए भनिन्छ नि ?

त्यतिखेर हामी ओलीजीको सरकार बदल्नमा लागेकै हो ।

अहिले एमाले- माओवादी एकताको घोषणासहित वाम गठवन्धन बनिरहँदा तपाईलाई लाग्दैन विगतमा एमालेको साथ छाडेर गल्ती गरिएछ ?

एउटै चिन्हमा चुनाव लड्ने, सहकार्य गर्ने वा एकतातिर जाने भन्दा पनि जतिसक्यो माओवादीलाई सँगै राखेर साइजमा ल्याउने, कमजोर पार्ने, हेप्ने र चेप्ने काम केपी ओलीबाट भयो

संविधान बनाइसकेपछि कार्यान्वयनका लागि तीन पार्टी संगसँगै जानुपर्छ भन्ने समझदारीबाट नेपाली कांग्रेस पछि हटेपछि हामीले एमालेलाई साथ दिएका थियौं । पहिलो कुरो, सरकारमा मात्रै होइन, वामपन्थीहरु हावी भएको सरकार बनाउने, सहकार्य गर्ने र दोस्रो कुरो, आगामी निर्वाचनमा सँगसँगै एउटै निर्वाचन चिन्हमा चुनाव लड्ने । त्यसपछि विचार र राजनीतिको बहस गर्दै एकता र ध्रुवीकणसम्म पुग्ने । यी तीनवटा उद्देश्यसहित हामीले ओलीको नेतृत्वमा सरकार बनाएका थियौं ।

यति हुँदाहुँदै माओवादीले फ्याट्ट सरकार छाड्नुको कारण के हो ?

जब हामी सरकारमा बस्यौं । एउटै चिन्हमा चुनाव लड्ने, सहकार्य गर्ने वा एकतातिर जाने भन्दा पनि जतिसक्यो माओवादीलाई सँगै राखेर साइजमा ल्याउने, कमजोर पार्ने, हेप्ने र चेप्ने काम केपी ओलीबाट भयो । यिनीहरु कहाँ जान्छन् र अब ? यिनीहरुको के हुती छ र ? भन्नेजस्तो ओलीजी र एमाले पार्टीको व्यवहार भइसकेपछि हामीले यो त हुँदैन भन्यौं । हामीले सरकारमा बस्नलाई मरिहत्ते गरेको पनि होइन । र, हामीले चुनाव लड्न नसकेर कोहीसँग आत्मसमर्पण गरेको पनि होइन ।

अर्कोतिर, संविधान कार्यान्वयनमा समेट्नुपर्ने धेरै विषयहरु थिए । मधेस, जनजाति, मुस्लिम, थारु, कर्णाली लगायत पिछडिएका क्षेत्रहरुप्रतिको दृष्टिको ओली सरकारको राम्रो नबनेका कारण त्यसलाई सच्याउनका लागि हामीले सरकार पपिरवर्तन गरेका हौं ।

हाम्रा नेताहरुलाई र म स्वयंलाई पनि ओली कमरेडले बोलाएर माओवादीलाई विगतमा हेर्नेमा अलि कमजोरी भयो, म माओवादीलाई एउटा शक्ति मान्छु, अब सहकार्य गरौं भन्ने प्रस्ताव राख्नुभयो

उसोभए त्यो सरकार परिवर्तन गर्ने क्रममा माओवादीले नभएर एमालेले चाहिँ गल्ती गरेको थियो भन्न खोज्नुभएको हो ?

अहिले हामीले सहकार्य गरिराखेका बेला धेरै कुरा नगरौं । तर, कुनै बेला समीक्षा गर्छौं हामी । अहिले हामी यसलाई विगि्रने गरी र यसलाई कमजोर पार्ने गरी यसलाई आलोचना गर्न चाहँदैनौं । तर, यसको समीक्षा हुन्छ ।

माओवादीलाई हेप्ने र गन्दै नगन्ने केपी ओली अन्ततः कसरी तपाईहरुसँग सहकार्य र एकताको पक्षमा आइपुगे ? यसको अन्तर्य के हो ?

अहिले नयाँ परिस्थिति आइपुग्यो । माओवादी सिद्धियो, कमजोर भयो र अब निर्णायक शक्ति रहेन भन्ने उहाँहरुमा दम्भ र अहंकार देखिएकाले हामीले त्यो स्टेप लिएका थियौं । तर, तीन चरणको स्थानीय निर्वाचन सकिइसकेपछि स्वयं हाम्रा अध्यक्षलाई, हाम्रा नेताहरुलाई र म स्वयंलाई पनि ओली कमरेडले बोलाएर माओवादीलाई विगतमा हेर्नेमा अलि कमजोरी भयो, म माओवादीलाई एउटा शक्ति मान्छु, अब सहकार्य गरौं भन्ने प्रस्ताव राख्नुभयो ।

सँगसँगै निर्वाचन पनि मुखमै आएको हुनाले स्वाभाविक रुपले विचार र राजनीतिको निकटता भएका शक्तिहरु तालमेल गर्छन् । त्यही क्रममा छलफल अगाडि बढ्यो । छलफल अझ अगाडि बढ्दै जाँदा हाम्रो अध्यक्षले एकतै किन नगर्ने ? एकतातिरको प्रक्रियामा किन नजाने ? भन्ने उहाँले प्रस्ताव राख्नुभयो । एमालेका नेताहरुले त्यसलाई स्वीकार्नुभो । र, अहिलेको अवस्था बन्यो ।

कत्तिको सहज छ एमाले र माओवादीवीचको एकता ? र, यो कहिलेसम्म सम्भव होला ?

स्वाभाविकरुपमा एमालेभित्र पनि र हाम्रोभित्र पनि हिजोको सरकार र हिजोको गठबन्धनजस्तै कमजोर धरातलमा हुन्छ कि, यसलाई बलियो जग दिनुपर्छ कि भन्ने स्वरहरु उठेका छन् । र, यो स्वाभाविक पनि हो ।

२०२८ सालमा एमालेले झापा विद्रोहका रुपमा एउटा बाटो लियो । त्यसले हामीले उसलाई उग्र वामपन्थी भन्थ्यौं । हामी चौथो महाधिवशेनको धारलाई उहाँहरु सुधारवादी, दक्षिणपन्थी भन्नुहुन्थ्यो । ०३८ सालमा आउँदा नआउँदै रुस, चीन लगायतका देशहरुलाई हेर्नेबारेमा विवाद भएर उहाँहरुलाई हामीले दक्षिणपन्थी सुधारवादतिर जानुभयो भनेर हामीले आरोप लगायौं । र, ०३८ सालपछि हामी अलि रेडिकल धारतिर गौं भन्ने उहाँहरुको आरोप रह्यो ।

यो कुनै बाँडेर खाऔं, एक्लाएक्लै हुँदा खान पाइँदैन भनेर गरिएको सहकार्य होइन

यही क्रममा ०५२ सालदेखि ०६३ सालसम्म नेपालकै इतिहासमा पृथ्वीनारायण शाहको राज्य विस्तारपछिको सबैभन्दा ठूलो सशस्त्र संघर्ष भयो । र, ०६२/०६३ को शान्ति प्रक्रिया भयो । यो श्रृंखला, ०२८ सालदेखि ४७ वर्षसम्मको अवधिमा कहिले एमाले अलि उग्र धारजस्तो, कहिले माओवादी अलि उग्र धारजस्तो व्यवहार देखाए । कहिले एउटाले र कहिले अर्कोले सुधारवादीजस्तो व्यवहार देखाए । यी प्रयोगहरु भए र हाम्रावीचमा बहस भयो ।

यति लामो वैचारिक बहस भएको दुईवटा धारको वीचमा सहकार्य मात्रै होइन, पार्टी एकताका लागि संयोजन समिति बनेको छ । तर, यसमा काफी बहस बाँकी पनि छ ।

भनेपछि यो एकता प्रक्रिया पूरा हुन केही समय लाग्छ ?

यी लामो समय बहस चलेका धारहरु हुन् । अस्ति भर्खरै कामरेड बादल र देव गुरुङजीहरुसँग त हामीले एक वर्ष लगाएर एकता गर्‍यौं । कामरेड नारायणकाजी प्रकाशसँग १० वर्ष छुट्टियौं । तर, मिलाउनलाई तीन वर्ष बहस गरेपछि बल्ल मिलायौं । त्यसैले ४७ वर्ष छुटि्टएको धारलाई मिलाउनका लागि अलिकति टाइम पनि लाग्छ ।

बाबुरामजीजस्तो मान्छे आगामी संसदमा चाहिन्छ । उहाँले जितेर आउनुपर्छ

र, वैचारिक, राजनीतिक, संगठनात्मक जगका साथै आ-आफ्नै कार्यशैली र संस्कारगत कुराहरुलाई मिलाउन जिम्मेवारीपूर्वक र धैयर्तापूर्वक प्रयत्न गरिएन भने यो धेरै कठीन पनि छ । त्यसैले यसलाई मिलाएर सबै जगहरुलाई बनाउँदै बनाउँदै विस्तारै हाम्रो इतिहासलाई पनि समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।

एमाले र माओवादीवीचको पार्टी एकताका लागि अहिलेको चुनावी तालमेलको सफलता वा असफलताले कत्तिको अर्थ राख्छ ?

निश्चय पनि । हामीले ६०/४० को कुरा गरेका थियौं । पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्रमा हामीले कुनै प्रतिशत नबनाएर कार्यदलमा काम गर्दै गयौं । र, अन्तिममा जोड्दा केन्द्रमा माओवादीले ४३ प्रतिशत र एमाले ५७ प्रतिशत भयो । त्यस्तै प्रदेशमा माओवादी ४४ प्रतिशत र एमाले ४६ प्रतिशत देखियो । त्यसैले जो हामीले सीट तालमेलका वा निर्वाचन क्षेत्र बाँडफाँट आधारहरुमा जुन लचकता देखायौं, यसले ठ्याक्कै मिल्न सकिँदोरहेछ भन्ने शुभ संकेत दिएको छ ।

दोस्रो कुरो, यो कुनै बाँडेर खाऔं, एक्लाएक्लै हुँदा खान पाइँदैन भनेर गरिएको सहकार्य होइन । र, केही नेताहरुलाई प्रधानमन्त्री बनाउनलाई, केही नेताहरुलाई मन्त्री वा सांसद बनाउनलाई मात्रै यो तालमेल र एकताको कुरा रह्यो भने त्यो जनताका लागि हर्षको कुरा हुनेछैन । र, त्यो लोभीपापीहरुको गठबन्धनजस्तो मात्रै हुन जान्छ ।

अन्तरवार्ताका क्रममा तपाईले अघि भन्नुभयो कि केपी ओली र एमालेले माओवादीलाई हेप्ने र चेप्ने काम गरे । तर, तपाईहरुले पनि त गठबन्धनमा आएका नयाँशक्तिका नेता बाबुराम भट्टराईलाई हदैसम्म हेप्नुभयो र अपमानित गर्नुभयो भन्ने उहाँको गुनासो छ नि ? यसमा के भन्नुहुन्छ ?

हामीले हेपेको होइन । हामी अझै पनि बाबुरामजीलाई मिलाउन तयार छौं । अझै पनि समय छ, मिलाउँदा हुन्छ ।

गोरखा-२ बाबुरामजी छाड्दै नछाड्ने, तपाईहरु पनि नछाड्ने, अनि कसरी मिलाउनुहुन्छ ?

यसमा त उहाँले पनि लचक हुनुपर्छ । र, बाबुरामजीजस्तो मान्छे आगामी संसदमा चाहिन्छ । उहाँले जितेर आउनुपर्छ । यसका लागि उहाँले पनि लचक हुनुपर्छ । उहाँ फेरि वाम गठबन्धनमा र्फकनुपर्छ ।

तपाईको विचारमा एमाले र माओवादीवीचको एकताको वैचारिक राजनीतिक आधार के हो ?

हिजो नेपालमा पुजीँवादी जनवादी क्रान्ति सम्पन्न हुँदासम्म कांग्रेससँग पनि हामीले सहयात्रा र सहकार्य गर्‍यौं । अब अगाडि समाजवादसम्म जाँदाखेरि विचार मिल्नेहरु एक ठाउँमा बस्नैपर्छ । त्यसैले यो पुँजीवादबाट समाजवादतिर जाने क्रान्तिको एउटा यात्रा पनि हो । त्यसैको गोरेटो बनाउने आधार र प्रतिवद्धतामा यो एकता हुन लागेको हो । त्यसो हुँदा यो सार्थक हुन्छ । त्यसो हुन सकेन भने एकता गाह्रो पनि हुन्छ र भइहाल्यो भने पनि टिकाउहुँदैन ।

अन्त्यमा तपाईहरुको कार्यदलले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा तालमेलको टुंगो लगाएको छ । अब बाँकी ४५ जिल्लाको कहिले टुंगो लाग्छ ?

हामी एक/दुई दिनमै दोस्रो चरणको पनि टुंग्याउँछौं । र, यसले समानुपातिकतिरका सामान्य हेरफेरहरुलाई पनि सजिलो गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment