Comments Add Comment

सिन्धुपाल्चोकमा पशुपतिसमशेरः ५ चोटि जिते, २ चोटि हारे, अब के होला ?

अग्नि सापकोटा र मोहनबहादुर बस्नेतबीच रोचक भिडन्त

 

६ कात्तिक, सिन्धुपाल्चोक । काठमाडौंको सम्भ्रान्त राणा खान्दानका सदस्य पशुपतिसमशेर राणाले गरीवीबाट आक्रान्त सिन्धुपाल्चोक जिल्लामा चुनाव लड्न थालेको ३६ वर्ष भयो । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले यसपटक पनि यही ठाउँबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका लागि राणा आइतबार केही बहालवाला मन्त्रीहरु र नायिका रेखा थापालाई समेत लिएर राजधानीबाट जिल्ला सदरमुकाम आएका थिए ।

चुनावी हिसाबले ०३८ सालमा पहिलोचोटि सिन्धुपाल्चोक प्रवेश गरेका जबरा बहुदलीय व्यवस्थापछि छैठौंपटक निर्वाचनको मैदानमा उत्रेका छन् । बहुदलीय व्यवस्था स्थापनापछि भएका तीनवटा निर्वाचनमा उनी लगातार सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट ह्याट्रिक गरेका नेता हुन् ।

उमेरले ८० वर्ष पुग्नै लागेका अध्यक्ष राणा आइतबार उम्मेदवारी दर्ताका क्रममा खासै उत्साही देखिएनन् । उनी बसेकै ठाउँमा लोलाइरहेका देखिन्थे । यस्तो लाग्थ्यो, राप्रपाको विरासतका लागि उनी सायद अन्तिमचोटि चुनावी प्रतिस्पर्धामा भाग लिन सिन्धुपाल्चोक आएका हुन् ।

पञ्चायतका दुबै चुनावः दोहोर्‍याई दोहोर्‍याई !

पशुपतिसमशेरले ०३८ सालदेखि सिन्धुपाल्चोकबाट चुनाव लड्न थालेका हुन् । सो चुनावमा उनी ३६८४५ मतका साथ विजयी भएका थिए ।

राणाहरुको पुरानो जमिन्दारी मौजा रहेको र तामाङ जातिको बाहुल्य रहेको सिन्धुपाल्चोकमा राणालाई काठमाडौं बसीबसी चुनाव जित्न सहज हुँदै आयो । यही सिलसिलामा उनले ०४३ सालमा पनि चुनाव जिते ।

राणाले काठमाडौंको साटो सिन्धुपाल्चोक नै रोजेका कारण त्यहाँ उनले कुनै ठूला चुनौतीहरुको सामना गर्नुपरेन ।

बहुदल आएपछि ‘ह्याट्रिक’

सिन्धुपाल्चोकमा पशुपतिसमशेर यति जब्बर मानिन्थे कि बहुदलीय व्यवस्था स्थापना भएर पञ्चहरु बदनाम बनेका अवस्थामा समेत उनले ०४८ सालमा सिन्धुपाल्चोकबाट चुनाब जितेर देखाए । सो वर्षको निर्वाचनमा सूर्यबहादुर थापाजस्ता हस्तीले धनकुटामा हार व्यहोर्नुपरेको थियो । तर, राणाले हारेनन् ।

०४८ को चुनावमा उनी दुईवटा चुनाव क्षेत्रमा उठेका थिए । क्षेत्र नम्बर १ मा अमृत बोहोरा र मोहन बस्नेतसँग हारेर उनी तेस्रो स्थानमा खुम्चिए । तर, क्षेत्र नम्बर ३ मा एमालेका डम्बरबहादुर अर्याल र कांग्रेसका रोहिणीराज सिग्देललाई हराउँदै उनी विजयी भए ।

त्यसैगरी ०५१ सालको चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा राप्रपाका तर्फबाट उम्मेदवार बनेका राणा एमालेका अमृत बोहोरासँग २ सय भोटले हारे । बोहोराले १३३६९ मत ल्याएका थिए भने राणाले १३१६९ पाएका थिए ।

तर, उनले सोही जिल्लाको क्षेत्र नम्बर ३ बाट सांसद पद हात पारे । सो क्षेत्रबाट राणा ११७४४ मत ल्याएर विजयी बने । कांग्रेसका कान्छा लामा उनीसित पराजित भए ।

त्यसैगरी ०५६ सालको चुनावमा पनि पशुपतिसमशेर सिन्धुपाल्चोकका दुईवटै क्षेत्रबाट चुनाव लडे । क्षेत्र नम्बर १ मा कांग्रेसका मोहनबहादुर बस्नेतले उनलाई जिते भने एमालेका अमृत बोहोरा दोस्रो र पशुपतिसमशेर तेस्रो स्थानमा आए । त्यसबेला बस्नेतले १९ हजार, बोहोराले १५ हजार र राणाले १० हजार मत पाएका थिए ।

तर, १ नम्बर क्षेत्रमा हारेका राणाले ०५६ को निर्वाचनमा पनि क्षेत्र नम्बर ३ बाट चुनाव जिते । त्यहाँ राणाले १४५१२ मत पाएका थिए भने प्रमुख प्रतिद्वन्दी एमालेका अमृत बोहोराले १३४९१ मत पाए । कांग्रेसका कान्छा लामा ११ हजार मतका साथ तेस्रो भए ।

गणतन्त्रमा दुई बल्ढ्याङ !

गणतन्त्र आउने क्रमसँगै भएको पहिलो संविधानसभा चुनावमा भने सिन्धुपाल्चोकमा पशुपतिसमशेर राणाको केही जोर चलेन । क्षेत्र नम्बर १ मा माओवादीका राजकुमार श्रेष्ठले २१३२० मत ल्याएर जित्दाखेरि पशुपतिसमशेर ५९६६ मतका साथ चौथो स्थानमा खुम्चिए । त्यहाँ एमालेका अरुण नेपाल १३ हजार मतका साथ दोस्रो भए भने कांग्रेसका मोहनबहादुर बस्नेत ७ हजार मतका साथ तेस्रो भए ।

पशुपतिले ०६४ को चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट पनि हार व्यहोरे । त्यहाँ राणा तेस्रो स्थानमा खुम्चिए । माओवादीका दावा तामाङले १४२१६ मत ल्याउँदा पशुपतिले १० हजार मत ल्याएका थिए । एमालेका शेरबहादुर तामाङ १४११६ मतका साथ पशुपतिलाई पछि पार्दै दोस्रो स्थानमा आएका थिए ।

यसपालिको चुनावमा उनै पशुपति र शेरबहादुर तामाङवीच चुनावी प्रतिस्पर्धा हुँदैछ । रोचक त के छ भने शेरबहादुरलाई माओवादीको साथ छ भने पशुपतिलाई कांग्रेसको साथ छ ।

तर, ०७० सालको दोस्रो संविधानसभाको नतिजा हेर्दा पशुपतिसमशेर राणालाई चुनाव जित्न पञ्चायतकाल र बहुदल कालमा जस्तो सजिलो छैन ।

समशेर भर्सेस शेरबहादुर, कसको ताकत कति ?

बहुदलीय व्यवस्थापछि छैठौंपटक संसदीय लडाइँमा उत्रेका राणा ‘हेबीवेट’का उम्मेदवार हुन् । पहिलो संविधानसभा निर्वाचनमा माओवादीका दावा तामाङसँग पराजित राणा दोस्रोमा शेरबहादुर तामाङसँग पराजित भएका थिए । मंसिर १० मा हुने निर्वाचनमा कांग्रेससँगको सहकार्यमा उनले फेरि उम्मेदवारी दर्ता गराएका छन् । र, जित्ने आशमा छन् ।

अधिंकाश तामाङ बाहुल्य यो क्षेत्रमा शेरबहादुर तामाङ र पूर्वसभासद दावा तामाङ प्रदेशसभाका उमेदवार भएका कारणले पनि तामाङलाई हराउनु राणाका लागि कम्ति चुनौतीपूर्ण छैन । तर, पनि राणाले हिम्मत भने हारेका छैनन् ।

स्थानीय चुनावमा वडाअध्यक्षले पाएको मत हेर्दा एमाले एक्लैको २५ हजार ७ सय ९० मत छ भने माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ । दुवैको जोड्दा कुल ३९ हजार ८ सय ९८ मत छ, जुन वाम गठबन्धनको मत हो ।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धन अन्तरगत स्थानीय चुनावमा कांग्रेसको २० हजार २ सय २४ छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ । दुबैको जोड्दा कुल २८ हजार ५ सय ६८ मत छ । यो भनेको वाम गठबन्धनभन्दा करिब ११ हजार कम मत हो ।

यो परिणामका आधारमा विश्लेेषण गर्ने हो भने राणालाई चुनाव जित्न धेरै सहज देखिँदैन । सिन्धुपाल्च्ाोकमा ४७ वर्ष चुनाव लडेका राणा फेरि पनि कमजोर उम्मेदवार भने होइनन् । अधिकांश स्थानमा राम्रै पहुँच भएको र कांग्रेसको समेत साथ पाएको हुनाले राणाले तामाङलाई कडा टक्कर दिने देखिन्छ ।

लामो समय सिन्धुपाल्चोकमा चुनाव लडेका राणा र युवा नेता एवं एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ चुनावी मैदानमा भएकाले यसपालिको चुनाव रोचक बनेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा यिनै शेरबहादुर तामाङसँग राणा पराजित भएका थिए ।

एमालेका युवा नेता शेरबहादुर तामाङ अहिले चौथोपटक चुनावी प्रतिस्पर्धामा छन् । एमाले विभाजन हुँदा मालेबाट उमेदवार भएका तामाङ त्यतिबेला तेस्रो भएका थिए । पहिलो संविधान सभामा दोस्रो भएका तामाङ दोस्रो संविधान सभामा भने पहिलो भएका थिए । र, त्यसबेला उनका प्रतिद्वन्द्वी थिए उनै पशुपतिसमशेर राणा ।

अहिले चौथोपटक यी दुई नेताहरु फेरि आमने-सामने भएका छन् । वाम गठबन्धनबाट तामाङ चुनावी मैदानमा छन् भने कांग्रेससँगको सहकार्यमा राणा चुनावी प्रतिस्पर्धामा छन् ।

०७० को चुनावमा सिन्धुपाल्चोक १ बाट कांग्रेसका मोहनबहादुर बस्नेतले जितेका थिए भने क्षेत्र नम्बर २ का माओवादीका अग्नि सापकोटा र क्षेत्र नम्बर ३ बाट एमालेका शेरबहादुर तामाङले जितेका थिए ।

मन्त्री र पूर्वमन्त्रीको अर्को रोचक भिडन्त

सिन्धुपाल्चोक २ मा पशुपतिसमशेर राणा र शेरबहादुर तामाङवीच प्रतिस्पर्धा भएजस्तै क्षेत्र नम्बर १ मा माओवादी नेता एवं पूर्वमन्त्री अग्नि सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतवीच भिडन्त हुँदैछ ।

क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मतपरिणाम हेर्ने हो भने माओवादी केन्द्र तेस्रो स्थानमा छ भने कांग्रेस दोस्रो र एमाले पहिलो स्थानमा । पहिलो शक्ति एमालेको सहयोगमा यसपटक सापकोटा चुनावी मैदानमा उत्रेका छन् ।

माओवादी जनयुद्ध सुरु हुनुअगावै पहिलो पटक ०४८ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा संयुक्त जनमोर्चाबाट उमेदवार भएका माओवादी केन्द्रका नेता अग्नि सापकोटा अहिले चौथोपटक निर्वाचन भिडन्तमा छन् ।

पहिलो चुनावमा एमाले उमेदवार कृष्णराज श्रेष्ठसँग पराजित भएका सापकोटा पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै विजयी भएका थिए । अहिले चौथो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका सापकोटाको यो पटकको भिडन्त वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग हुन लागेको हो ।

 

मन्त्री बस्नेत ‘रिस्क जोन’मा ?

जिल्लाबाट दुईपटक चुनाव जितेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । दोस्रो संविधान सभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले पराजित गर्दै उनले चुनाव जिते । अहिले बस्नेत सञ्चार मन्त्री बनेर चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर १ मा एमाले र माओवादी केन्द्रको गठबन्धनमा सापकोटा चुनावी मैदानमा छन् भने राप्रपाको सहयोगमा मन्त्री बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर १ मा रहेका ६ स्थानीय तहमध्ये माओवादीले भोटेकोशी गाउँपालिकामा चुनाव जितेको छ भने कांग्रेसले सुनकोशीमा । एमालेले बाँकी ४ स्थानीय तहमा चुनाव जितेको छ । स्थानीय तहको मतपरिणाम हेर्दा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मत अन्तर निकै फराकिलो छ ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २४ हजार २ सय ७८ मत पाएको थियो भने काग्रेसको २० हजार ७ सय ११ थियो । त्यस्तै माओवादी केन्द्रको १८ हजार ८ सय ३४ थियो । जबकि राप्रपाको ३ हजार ५ सय २ मत मात्रै आएको थियो ।

स्थानीय चुनावका आधारमा वामगठबन्धनको मत ४३ हजार १ सय १२ मत छ भने लोकतान्त्रिको गठबन्धनको २४ हजार २ सय १३ मत छ ।

अहिलेको अवस्थामा दुई तिहाइ मतले अगाडि रहेको वाम गठबन्धनका उमेदवार सापकोटालाई पराजित गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेतलाई फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ । तर, संसदीय राजनीतिको खेलमा माहिर रहेका बस्नेत पनि चानचुने उम्मेदवार हैनन् ।

टिकट नपाएकाले एमालेबाट असन्तुष्टहरुको मत ल्याएर चुनाव जित्ने रणनीतिमा बस्नेत लागेका छन् । एमालेको साटो माओवादी नेता सापकोटाले टिकट पाउनासाथ हौसिएका कांग्रेस नेताकार्यकर्ताहरु अब आफूहरुलाई जित्न सहज भएको बताउँछन् ।

तर, वामगठबन्धन पनि आफूहरु इमान्दारिताका साथ चुनावमा लाग्ने भएकाले अत्याधिक मत ल्याएर चुनाव जित्ने दावी गर्छन् । उमेदवारी दर्ताका क्रममा बामपन्थी शक्तिले आफूहरुले कांग्रेस गठबन्धनलाई २० हजार मतान्तरले पराजित गर्ने उद्घोष गरेका छन् ।

दुईवटा संविधान सभा निर्वाचनमा एमालेबाट उमेदवार भएका अरुण नेपालले क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा वाम गठबन्धनबाट उमेदवारी दिएका छन् । त्यस्तै २ बाट सरेश नेपालको उमेदवारीका कारण पनि सापकोटाले आफूलाई जित्न सहज हुने अनुमान गरेका छन् ।

कांग्रेसबाट प्रदेश सभामा दुवै व्यापारी

कांग्रेसमा लामो समय त्याग गरेका कांग्रेसका पुराना कार्यकर्ताहरुलाई एकाएक ‘ब्याक’ गराएर कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले क्षेत्र नम्बर १ को दुवै प्रदेशमा व्यापारिक पृष्ठभूमिबाट आएका लाई टिकट दिलाएका छन् ।

उद्योग बाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य विष्णुबहादुर खत्रीले प्रदेश सभा १ मा उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा २ मा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् ।

चुनावमा आर्थिक चलखेल समेत हुने र व्यापारीद्वयले राम्रै पैसा खर्च गर्न सक्ने भएकाले बस्नेतले उनीहरुलाई अगाडि सारेर सहजै जित्ने ठानेका हुन सक्छन् । तर, चुनावमा आर्थिक पक्षले मतदातालाई कति प्रभाव पार्छ, भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment