Comments Add Comment

माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !

७ कात्तिक, काठमाडौं । २३ भदौ ०७४ मा प्रचण्डले चितवनमा पत्रकारहरुमाझ प्रतिनिधिसभा चुनावमा आफू लड्ने निर्वाचन क्षेत्रको पहिलो पटक सार्वजनिक खुलासा गरेका थिए । उनले. भनेका थिए, ‘वीरगञ्ज बैठकले म चितवनबाट चुनाव लड्ने निर्णय गरिसकेको छ ।’

प्रदेश २ को स्थानीय चुनावलाई लक्षित गरी वीरगञ्जमा आयोजित माओवादी केन्द्रको सचिवालय बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई चितवनबाट चुनाव लडाउने निर्णय गरेको थियो । शुरुमा निर्वाचन क्षेत्र नतोकिए पनि पछि माओवादीले प्रचण्डका लागि चितवन क्षेत्र नम्बर ३ रोज्यो । तर, अर्का नेता रामबहादुर थापा ‘बादल’ले पनि चितवनबाटै प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएपछि माओवादी अहिले अप्ठेरोमा परेको छ । किनकी वाम गठवन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेले चितवनमा माओवादीलाई एउटा मात्र क्षेत्र दिन सकिने बताएको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘हाम्रो वरिष्ठ नेता बादललाई पनि त्यहाँ (चितवनमा) व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रचण्डलाई पनि व्यवस्थापन गर्दा हामीले चितवनमा दुई सिट मागेका छौं । तर एमालेसँग कुरा मिलिरहेको छैन ।’

बादललाई चितवनको विकल्प नवलपुर !

बादल पहिलो संविधानसभा निर्वाचनमा चितवनबाटै निर्वाचित भएका थिए । पार्टी बिभाजनपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका उनी प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए । अहिले उनले चितवन क्षेत्र नम्बर २ दावी गरेका छन् । बादलले प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएकाले नै निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा उनको नाम समावेश छैन ।

बादलले दाबी गरेको चितवन २ एमालेको पकड क्षेत्र हो । प्रचण्डलाई क्षेत्र नम्बर ३ छाडिसकेकाले अर्को क्षेत्र दिन नसकिने एमालेको अडान छ । यस्तो अवस्थामा बादललाई नवलपुर १ बाट चुनाव लडाउने विकल्प अघि सारिएको छ ।

माओवादीका एक नेताले भने, ‘एमालेका एक जना नेताले बादललाई नवलपुरमा उठाऔं भनेर प्रस्ताव ल्याउनुभयो ।’

नवलपुरसहित ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीलाई प्रतिनिधिसभा चुनावमा चितवनका ३ मध्ये २ वटा सिट दिँदा एमालेका नेता कार्यकर्ता असन्तुष्ट हुने र स्वयम् प्रचण्डका निम्ति परिस्थिति प्रतिकूल बन्ने खतरा छ । त्यसैले समानुपातिकको सूची संशोधन गरी बादलको नाम राख्ने वा नवलपुरमा उठाउने विकल्पमा माओवादीभित्र छलफल भइरहेको छ ।

बादललाई चितवनमा उम्मेदवार बनाएर प्रचण्ड बर्दियाबाट चुनाव लड्ने भन्ने बहस पनि माओवादीभित्र चलेको छ तर, त्यसलाई माओवादी नेताहरु गलत प्रचार बताउँछन् ।

चितवनमै घर भएका माओवादी नेता सूर्य सुवेदी ‘पथिक’ले प्रचण्ड चितवन बाहिरबाट चुनाव लड्ने भनेर गलत हल्ला फैलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment