Comments Add Comment

कता पुग्यो त्रिभुवन विमानस्थलमुनि सुरुङमार्ग बनाउने योजना ?

बजेटमा उल्लेखित योजनाबारे सरोकारवाला निकाय नै बेखबर !

७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ, ‘त्रिभुवन विमानस्थलको स्तरोन्नतीका लागि सूर्यविनायक-कोटेश्वर सडकमा सुरुङमार्ग बनाइने छ ।’

प्राविधिक भाषामा ‘अन्डर पास’ भनिने उक्त योजनाअनुसार काम भए विमानस्थल मुनिबाट सुरुङ मार्ग बन्नेछ । र, जुडिबुटीदेखि कोटेश्वरसम्मको सडकखण्ड बन्द हुनेछ ।

यद्यपि, यस योजनालाई हालसम्म कुनै पनि सरोकारवाला निकायले अपनत्व लिएका छैनन् । अर्थ मन्त्रालयले पनि यसको टुंगो लगाएको छैन । उक्त आयोजना अगाडि बढाउने निर्णय राष्ट्रिय योजना आयोगले समेत गरेको छैन ।

व्यस्त समयमा अत्यधिक ट्राफिक जाम हुन्छ, कोटेश्वर-जटिबुटी खण्डमा । अन्डर पास तयार भए उपत्यकाको पूर्वी भेगबाट काठमाडौं प्रवेश गर्ने यात्री र सवारी साधनले जामबाट छुटकारा पाउने अपेक्षा छ ।

महत्वका साथ हेरिएको आयोजना भने सुरु नहुँदै धर्मराएको छ ।

कार्यान्वयनका लागि जिम्मेवार निकाय सडक विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणले यस योजनालाई ‘हचुवा’ भनेका छन् । विभागले त विमानस्थलमुनि सुरुङ तयार पार्ने काम आफ्नो इच्छाले मात्र सम्भव नरहेको राय राष्ट्रिय योजना आयोगलाई दिएको छ ।

विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव विभागको छ ।

आव ०७४/७५ को बजेटमा सूर्यविनायक-कोटेश्वर खण्डमा सुरुङमार्ग बनाउने योजना आफूहरुको प्रस्तावमा नआएको विभागका महानिर्देशक गोपाल सिग्देल बताउँछन् । ‘विमानस्थलको स्तरोन्नति कार्यक्रममा सुरुङमार्गलाई जोडिएको छ । त्यसैले यो काम उड्ययन प्राधिकरणमार्फत् अघि बढ्नुपर्छ,’ सिग्देल भन्छन् ।

प्राधिकरणका अधिकारीहरु पनि उक्त योजनाबारे अनभिज्ञ छन् । बजेटमा कसरी र कसको सुझावमा उक्त योजना समेटिएको हो भन्ने उनीहरुलाई जानकारी छैन ।

‘हामीलाई यो योजनाबारे कुनै तवरबाट औपचारिक जानकारी आएको छैन । बजेटले घोषणा गरेको सुनेका मात्र हौं,’ प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘यसलाई विमानस्थलको स्तरोन्नतिसँग पनि जोडेका छैनौं ।’

उड्ययन अधिकारीहरु विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने कुरा सम्भव नरहेको बताउँछन् ।

आर्थिक र प्राविधिक हिसाबबाट उक्त योजना कार्यान्वयन कठीन रहेको निष्कर्ष प्राधिकरणको छ । त्यसरी सुरुङ निर्माण गर्दा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नै जोखिममा पर्नसक्ने उड्डयन अधिकारीहरुको भनाइ छ ।

तथापि, शंका निवारणकै लागि भए पनि सम्भाव्यता अध्ययन गर्दा फरक नपर्ने विज्ञहरुको भनाइ छ ।

सडक विभागका महानिर्देशक सिग्देल पनि सम्बन्धित निकायले सम्भाव्यता अध्ययन गरेर निर्माणको जिम्मा दिए काम अगाडि बढाउन सकिने बताउँछन् ।

अहिले त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तारको काम भइरहेको छ, जसअनुसार कोटेश्वरतर्फ तीन सय मिटर धावनमार्ग विस्तार हुँदैछ ।

धावनमार्ग विस्तारपछि विमानस्थलको ‘रनवे-सिग्नल लाइट’ हाल सेनाको क्याम्पसहितको भीओआर/डीएमई उपकरण रहेको स्थानतर्फ करिब तीन सय मिटर दक्षिण धकेलिने छन् । अहिले सडकको छेउसम्म सिग्नल लाइट छन् ।

धावनमार्ग विस्तारपछि सिग्नल लाइटको व्यवस्थापनका लागि सडकमाथि सानो ब्रिजिङ (पुल निर्माण) गर्नुपर्ने प्राधिकरणका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘कुन प्रविधिमार्फत् सिग्नल लाइटको तार लैजाने व्यवस्था मिलाउने भन्ने टुंगो लागेको छैन । चारपांग्रे गाडी गुड्न सक्ने क्षमताको पुल बनाएर सडकको वल्लोपल्लो भागलाई जोड्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, दुईतर्फ खम्बा राखेर पनि ब्रिजिङ गर्न सकिने भएकाले त्यहाँ ठूलो मिहिनेत पर्दैन ।’

यसका लागि सडक विभागसँग परामर्श गर्ने योजना प्राधिकरणको छ । तर, सडककै कारण अहिले विमानस्थलको व्यवस्थापनमा ठूलो समस्या नआउने प्राधिकरणका अधिकारीहरु बताउँछन् । प्रवक्ता श्रेष्ठका अनुसार धावनमार्ग विस्तारको योजनामा सुरुङ मार्ग समेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment