Comments Add Comment

उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता

शक्ति बस्नेतविरुद्ध बागी दिएका गोविन्दविक्रमको पनि उम्मेदवारी फिर्ता

८ कात्तिक, जाजरकोट । जाजरकोटको प्रदेश सभा क बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार विहान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

पत्रकार सम्मेलनमा आचार्यले भने– मैले पार्टी स्थायी कमिटी बैठकबाट टिकट पाएर उम्मेदवारी दिएँ । तर, मेरै कारण वामपन्थी गठबन्धन भत्किन नदिन पार्टीको निर्देशन शिरोपर गर्नुपर्याे । अध्यक्षले निरंकुश शैलीमा मेरै टिकट खोस्नुभयो, त्यसैले ओलीको टिकट ओलीलाई नै फिर्ता भयो ।

एमाले माओवादी सिट बाँडफाँटका क्रममा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा दुवै एमालेको भागमा परेको थियो । तर, उम्मेदवारी मनोयनका दिन हुम्लामा एक सिट माओवादीले पाउने भएपछि जाजरकोट एमालेले एउटा छाड्ने सहमति केन्द्रमा भयो ।

तर त्यतिबेलासम्म जाजरकोट क मा आचार्य र ख मा एमालेकै करवीर शाहीले मनोनयन दर्ता गरिसकेका थिए । माओवादीका गणेशप्रसाद सिंहले पनि आचार्यकै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो ।

प्रदेश ख मा पनि माओवादीका नरबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

आचार्यको उम्मेदवारी फिर्तासँगै माओवादीका सिंह प्रदेश ख मा वाम गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहले पनि ै उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन् ।

उम्मेदवारी फिर्ता लिन शाहले राष्ट्रियसभा सदस्य वा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो स्थान सुरक्षित गर्नुपर्ने माग गर्दै आएका छन् । उनले पार्टीले आफूलाई अन्याय गरेको भन्दै सम्मानजनक स्थानको माग गरेका छन् ।

एमाले नेताहरुले जाजरकोटमा स्थानीय चुनाव परिणामले एमाले पहिलो पार्टी भए पनि सिट बाँडफाँटमा माओवादीलाई बढी दिइएकोमा केन्द्रीय नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment