
१८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिस्पर्धी रविन्द्र मिश्रमाथि खनिएका छन् ।
पूर्वपत्रकार समेत रहेका मिश्र काठमाडौं १ मा विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् ।
शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चार पटक सोच्न मतदातालाई आग्रह गरेका छन् ।
आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिँडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे ! के सुधार गर्नुहुन्छ ?’
मिश्रप्रति लक्षित गर्दै सिंहले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेर आएको बताए ।
कांग्रेस नेता सिंहले रविन्द्र मिश्रका पितालार्इ समेत गाली गर्न भ्याए । उनले अघि भने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतीबाट जनता बनाउने पिताको छोरा उम्मेदवार छ ।’
भारतीय चुनावमा सुपरस्टारले ठूला नेताहरुलाई हराउने तर, ५/६ महिनापछि काम गर्न सकिँन भनेको स्मरण गर्दै सिंहले भने, ‘यहाँ पनि नहोला भन्ने के ग्यारेन्टी ?’
कांग्रेस नेता सिंहले वाम गठबन्धनको पनि आलोचना गरे ।
सिंह भर्सेस मिश्रको दुई पक्षीय भिडन्त
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गइरहेको छ । उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा वाम गठबन्धन र कांग्रेसवीच प्रतिस्पर्धा हुने देखिए पनि काठमाडौं १ मा भने कांग्रेस र विवेकशील साझा पार्टीवीच टक्कर पर्ने संकेत देखिएको छ ।
प्रकाशमानविरुद्ध एक महिना अगाडि नै उम्मेदवारी घोषणा गरेर घरदैलोमा निस्किएका मिश्रले कांग्रेसको धेरै भोट काट्ने अनुमान गर्न थालिएको छ । वाम गठबन्धनबाट एमालेले उम्मेदवारी नदिएको र माओवादीका तर्फबाट अखिल क्रान्तिकारीका कार्यकर्तालाई टिकट दिइएकाले यहाँको चुनाव प्रकाशमान भर्सेस रविन्द्र मिश्रवीच हुने स्थानीयको अनुमान छ ।
काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान सिंहले निरन्तर जित्दै आएको ठाउँ हो । ०७० को चुनावमा यस क्षेत्रमा माओवादीबाट प्रचण्डपुत्री रेणु दाहालले दोस्रो स्थान हासिल गरेकी थिइन् भने एमाले रेणुभन्दा पछाडि थियो ।
विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र युवाहरुमाझ लोकप्रिय छन् । साथै काठमाडौंको शहरिया जनमत यो पार्टीमा आकर्षित छ भन्ने गत संविधानसभा चुनावमा सो पार्टीले काठमाडौं र ललितपुर महानगरमा ल्याएको भोटले पनि देखाएको छ ।
तर, रविन्द्र मिश्रले प्रकाशमानको भोट काटेर वाम गठबन्धनका उम्मेदवारलाई सजिलो मात्रै बनाउँछन् या आफूलाई नै पहिलो स्थानमा उभ्याउँछन्, त्यो अहिल्यै भन्न सकिँदैन ।
कांग्रेस नेता प्रकाशमान सिंह पनि काठमाडौं १ मा कमजोर छैनन् । विशेष गरी नेवारी समुदायको भोटबैंक सिंहको पक्षमा देखिन्छ ।
कतिपय वाम नेताहरुले चाहिँ काठमाडौं १ मा कांग्रेस र वाम गठबन्धनवीचमै प्रतिस्पर्धा हुने दाबी गरेका छन् । तर, यहाँ विस्तारै वाम गठबन्धनको भन्दा रविन्द्र मिश्रको माहौल बन्दै जान थालेको महसुस धेरैले गरेका छन् ।
जे होस् प्रकाशमानसिंह आफ्नो भाषणमा रविन्द्र मिश्रको विरोधमा बढी केन्द्रित हुनुले पनि कांग्रेसले आफ्नो निकतम प्रतिस्पर्धी वाम गठबन्धनलाई भन्दा विवेकशील साझा पार्टीलाई नै देखेको हुन सक्छ ।

प्रतिक्रिया 4