Comments Add Comment

कांग्रेस आक्रामक, कम्युनिस्ट संयमित

'कम्युनिस्ट जिते बुढाबुढीलाई गोली ठोकेर मार्छ भन्नेको प्रतिवाद गरिन्न'

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवा वाम गठबन्धनप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले कम्युनिस्ट गठबन्धनले जितेमा रुन समेत नपाइने त्रास देखाउँदै लोकतन्त्र जोगाउन कांग्रेसलाई मत मागे ।

मंगलबार कम्युनिस्ट नेताहरु देउवा भन्दा ठीक विपरीत अर्थात शालीन शैलीमा प्रस्तुत भए । केपी शर्मा ओली र प्रचण्ड दुवैले आफ्ना कुरा राखे, तर कांग्रेसलाई गाली गरेनन् ।

प्रचण्डले आफूहरु कांग्रेसलाई तल्लो तहमा उत्रिएर गालीगलौज गर्ने पक्षमा नरहेको शुरुमै बताए । कांग्रेसले कम्युनिस्ट गठबन्धनविरुद्ध तल्लो तहमा ओर्लिएर टिप्पणी गरे पनि त्यसको खण्डन समय क्रममा आफैं भइरहेको उनले बताए ।

प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले पनि उनको परम्परागत तिखो बोलीलाई नियन्त्रण गरेको देखियो । उनले यतिमात्र भने, एमाले र माओवादी मिलेर यसअघि पनि २ पटक सरकार बनाएको हो, त्यो बेला त कोकोहोलो भएन । अहिले चुनावमा तालमेल गर्दा र पार्टी एकता गर्न लाग्दा किन कोकोहोलो ?’

घोषणापत्र र नेताहरुका अभिव्यक्तिमा कांग्रेस जति आक्रामक भइरहेको छ, कम्युनिस्ट पार्टीको संयुक्त घोषणापत्र र नेताहरुका अभिव्यक्ति तुलनात्मक रुपमा संयमित देखिएका छन् । कांग्रेसप्रति सार्वजनिक रुपमा आरोप प्रत्यारोप नगर्ने नीति एमाले र माओवादीले लिएको अनुमान लगाउन सकिन्छ ।

कांग्रेसले अहिले वामपन्थी गठबन्धनमाथि लगाउने सबैभन्दा ठूलो आरोप भनेको कम्युनिस्टले जिते भने लोकतन्त्र रहँदैन र कम्युनिस्ट अधिनायकवाद आउनेछ । अझ एक कदम अघि बढेर नेताहरुले रुन समेत पाइँदैन भन्ने त्रास फैलाउन खोजेका छन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा कम्युनिस्ट नेताहरुबाट त्यसको चर्को प्रतिवाद हुने अनुमान विपरीत ओली र प्रचण्ड दुबैले सामान्य खण्डन समेत गरेनन् ।

पत्रकारले यसबारे प्रश्न सोध्नुअघि नै कार्यक्रम सञ्चालक एमाले महासचिव ईश्वर पोखरेलले कार्यक्रम समापन गरे ।

कांग्रेसको आरोपको खण्डन किन गर्नुभएन ? भन्ने प्रश्नमा महासचिव पोखरेलले भने, ‘कांग्रेसको बर्बराहटको खण्डन गर्नुपर्ने आवश्यकता हामीले देखेका छैनौं । २०४८ सालको चुनावमा हामी पहिलो पटक भाग लिँदा कम्युनिस्टले जिते भने ६० वर्ष कटेका बुढाबुढीलाई गोली हानेर मार्छ भन्ने कांग्रेसका यीनै नेता हुन् ।’

जनता सचेत भइसकेकाले कांग्रेसको तहमा ओर्लेर प्रतिवाद गर्नुपर्ने आवश्यकता आफूहरुले नदेखेको पोखरेलले बताए । नेपालमा लोकतन्त्र जतिपटक अपरहण भयो, सबै समयमा कांग्रेसको दुई तिहाई वा बहुमतको सरकार रहेको भन्दै पोखरेलले लोकतन्त्रलाई कोबाट खतरा छ भन्ने इतिहासले पुष्टि गरिसकेको बताए ।
उनले कांग्रेसले लोकतन्त्रको रक्षाको कुरा गर्नु बिरालोले दूधको रक्षा गर्ने भने जस्तै हुने टिप्पणी गरे ।

एमाले र माओवादीको संयुक्त घोषणापत्रमा कांग्रेसलाई दक्षिणपन्थी धारको राजनीतिक शक्ति भने पनि कांग्रेस घोषणपत्रमा कम्युनिस्टलाई गरिएजस्तो कठोर टिप्पणी गरिएको छैन । कम्युनिस्ट गठबन्धनले आफ्ना धारणा जनतामा लैजाने तर, विरोधीलाई गाली गलौज नगर्ने नीति लिएको नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment