Comments Add Comment

राजनीतिको खेल – जुँगुकाण्डका पीडित र आरोपित यसरी मिले

कुलवहादुरका परिवार पार्टीको जिम्मा, पीडितलाई बनाइयो चुनावीसभाको अध्यक्ष

२२ कात्तिक, दोलखा । राजनीतिमा जे पनि सम्भव हुन्छ त्यसै भनिएको होइन रहेछ । दोलखाको जुगुमा मंगलबार यस्तै दृष्य देखियो । जो विरुद्ध आफ्नो छोराको हत्या गरेको अभियोग लगाएर किटानी जाहेरी दिए उसैलाई भोट दिन्छु भन्दै सँगै मन्चमा बसे गोरे तामाङ । जुँगु हत्याकाण्डका घाइतेले चुनावीसभाको अध्यक्षता गरे, ‘अभियुक्तहरु’ले पीडित परिवारका सदस्यसँगै बसेर फोटो खिचे ।

करीव ५ महिनाअघि स्थानीय तहको निर्वाचनका क्रममा एमाले कार्यकर्ता कुलवहादुर तामाङ माओवादीसँग भएको झडपमा मारिए । पीडित परिवारले माओवादी नेता विशाल खड्का, देवी खड्का, गंगा कार्की लगायत ३९ जनाविरुद्ध ज्यान मुद्दा हाले ।

एमालेले माओवादीबाट कुलवहादुरको हत्या भएको भन्दै ठूलो चुनावी मुद्दा बनायो भने माओवादी नेताहरु भूमिगत भए । चुनाव एमालेले जित्यो, मुद्दा अदालतमै बिचाराधीन छ ।

पहिलो चरणको स्थानीय तह चुनावको चार दिनअघि भएको जुँगुकाण्डले देशभर चर्चा पाएको थियो । कुलवहादुर तामाङको शवसहित एमालेले दोलखामा आन्दोलन मात्र गरेन, माओवादी त्यहि काण्डले रक्षात्मक बन्यो । कांग्रेस माओवादी गठबन्धन बन्दा समेत दोलखामा एमालेलाई जित्न सकेनन् ।

जसलाई सिध्याउन खोजियो,उसैलाई भोट माग्दै

उसै पनि न्यानो सम्बन्ध नभएका दोलखाका एमाले र माओवादीलाई जुँगुकाण्डले पानी बाराबारको अवस्थामा पुर्‍यायो । एमाले नेता पार्वत गुरुङमाथि आक्रमणको धम्की आयो । तर, राजनीति सबै सम्भावनाहरुको खेल रहेछ ।

पार्वतको नाम सुन्न नचाहने र भौतिक रुपमै सिध्याउनुपर्छ भन्ने माओवादी नेताहरु प्रतिनिधिसभा सदस्यमा पार्वत जिताउन हिँडेका छन् । त्यस्तै जुँगुकाण्डका मुख्य योजनाकार भनेर आरोपित गरिएका माओवादी नेता बिशाल खड्कालाई प्रदेशसभा सदस्य जिताउन एमाले नेता कार्यकर्ता खटिएका छन् ।

पीडित परिवारको घरमै पुगेर माफी मागे  

नेता मिले पनि जुँगुकाण्डको घाउ कसरी निको होला ? कुलवहादुर तामाङका पीडित परिवारलाई के जवाफ देलान् ? चरिकोटमा एमाले माओवादी गठबन्धनप्रति प्रश्न उठिरहेका थिए । तर, दुवै पार्टीका नेताहरु जुँगु पुगेर कुलवहादुरकै परिवारलाई कन्भिन्स गरे । उनीहरुले पीडित परिवारसँग माफी मागे ।

जुँगु हत्याकाण्डमा मारिएका कुलबहादुर तामाङकी पत्नि साङमायासँग एमाले नेता पार्वत गुरूङ र माअोवादी नेता देवी र विशाल खड्का ।

एमाले नेता पार्वत गुरुङ, ईश्वरचन्द्र पोखरेल, माओवादी नेता देवी खड्का, विशाल खड्काहरुको टोली स्थानीय चुनावको बेला मारिएका कुलवहादुरको घरमा पुगेर परिवारका सदस्यहरुसँग भेटे । जुँगुकाण्ड नै अब अन्तिम होस भन्दै दोलखामा दुई पार्टीबीच कुनै समस्या नरहेको र एउटै पार्टी बन्ने भएकाले पीडित परिवारको साथ खोजे ।

माओवादी नेतृ देवी खड्काले मञ्चबाटै दिलवहादुर बुढाथोकीलाई जिउँदो शहीद घोषणा गरिन् । उनले अब जुँगुमा कहिल्यै रगत नबग्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

पीडित परिवारको जिम्मा पार्टीले लियो

मृतकका बुबा गोरे, श्रीमती साङमाया तामाङ लगायतले रुँदै आफ्ना पीडा पोखे । उनीहरुले दुईटा पार्टी मिलेकोमा कुनै गुनासो गरेनन्, बरु कमाउने व्यक्ति मरेपछि बालबच्चा र परिवारको बिल्लिबाठद भएको भन्दै सहयोगको याचना गरे ।

तत्कालै उम्मेदवारसहित नेताहरुले बालबच्चा पढाउने, साङमायालाई जागिर लगाउने र कुलवहादुरको परिवारको सम्पूर्ण जिम्मा पार्टीले लिने प्रतिबद्धता जनाएका छन् ।

दुवै पार्टीका नेताहरु त्यसपछि जुँगु घटनामा माओवादी आक्रमणबाट गम्भिर घाइते भई उपचारपछि फर्किएका शिक्षक दिलवहादुर बुढाथोकीलाई भेट्न पुगे । झगडा मिलाउन बोलाइएका बुढाथोकीलाई मरणासन्न पारेर छाडिएको थियो । अन्ततः बुढाथोकीलाई बामपन्थी गठबन्धनको चुनावी सभाको अध्यक्षता गराइयो ।

पीडितहरु समक्ष माओवादी नेताहरुले माफी मागे । नेताहरुले अब यस्तो दुःखद घटना नहुने भन्दै वामपन्थी गठबन्धन जिताउन आह्वान गरिएको एमाले नेता गुरुङले बताए ।

जुँगुमा मारिएका कुलवहादुरकी बिधवा साङमाया तामाङले माओवादी नेताहरुले माफी मागेर दुवै पार्टीले आफ्नो परिवारको जिम्मेवारी लिएपछि आफूहरु सन्तुष्ट भएको बताइन् । ‘मरेको मान्छे फर्किदैनन्, अब यस्तो घटना यो गाउँमा अरुले भोग्नु नपरोस भनेर हामीले एमाले नेताहरुको आग्रह मान्यौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment