२७ कात्तिक, काठमाडौं । शान्ति प्रकि्रयाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक-फरक ध्रुवमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ ।
प्रतिनिधिसभाका लागि काठमाडौं ६ का उम्मदेवार झक्कु संविधान कार्यान्वयनका लागि वाम गठबन्धनका तर्फबाट भोट मागिरहेका छन् । उता उनका छोरा सन्तोष सुवेदी भने मतादताहरुलाई तर्साउँदै अपहरण, विस्फोट र ढुंगामुढामा सक्रिय छन् । र, अहिले पक्राउ परेका छन् ।
प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी काठमाडौं-६ मा भोट माग्न मतदातको घरदैलोमा पुगेका छन् । कांग्रेस नेता भीमसेन प्रधानसँग प्रतिस्पर्धामा उत्रिएका झक्कु सुवेदीले आफ्नो डेरासमेत निर्वाचन क्षेत्र नं. ६ मै सारिसकेका छन् ।
पहिलो संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं-२ बाट पराजित गरेर चर्चामा आएका सुवेदी यसपटक काठमाडौं-६ बाट एमालेलाई नै साथ लिएर मतदातासँग भोट मागिरहेका छन् ।
तर, प्रयास भनेर चिनिने उनका छोरा सन्तोष सुवेदी भने यतिवेला रोल्पामा प्रहरी हिरासतमा छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा रोल्पा प्रहरी सन्तोषलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।
बाबु काठमाडौंमा चुनाव लडिरहेका बेला प्रयासले रोल्पामा चुनाव प्रतिरोधका लागि भन्दै चुनाव बिरोधी कि्रयाकलापमा सक्रिय भएका थिए ।
चुनाव प्रभाव पार्ने गरी गतिविधि सञ्चालन भएपछि विप्लव नेतृत्वको नेकपाको रोल्पा सेक्रेटरी समेत रहेका प्रयासलाई प्रहरीले यही कात्तिक २२ गते पक्राउ गरेको हो ।
केही समय अगाडि रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती वियोगको अपहरणमा समेत जागृति र प्रयासको संलग्नता रहेको प्रहरीको दावी छ ।
प्रयाससँगै नेकपा रोल्पाका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृतिलाई समेत प्रहरीले चुनाव प्रभावित पार्नसक्ने भन्दै नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ ।
चुनाव नजिकिएसँगै थवाङ पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावको प्रतिरोध गर्न निर्देशन दिएपछि उनीहरु सोही अनुसार परिचालित भएका थिए ।
चुनाव बहिष्कार गर्न भन्दै प्रतिरोध अभियानमा संलग्न भएका प्रयास सेना समायोजन हुनुपूर्व तत्कालीन जनसेना प्रमुख ननन्दबहादुर पुन (पासाङ)को सचिवालयमा कार्यरत थिए ।
अंग्रेजी भाषामा दख्खल भएका प्रयास पासाङको सचिवालयमा दोभाषेको काम समेत गर्थेे ।
हुन त राजनीतिमा बाबुछोराको नाता जोड्नु राम्रो मानिँदैन । अघिल्लो साता रविन्द्र मिश्रका सम्बन्धमा यस्तै विषयमा बोल्दाखेरि काठमाडौं १ मा उम्मेदवार प्रकाशमान सिंहले आलोचना खेप्नुपरेको थियो ।
तर, झक्कु सुवेदीले काठमाडौंमा भोट मागिरहेका बेला आफ्नै छोरो बहिस्कार अभियानमा सक्रिय भइदिँदा झक्कुलाई पक्कै पनि आफ्नो चुनावी अभियान सहज बनेको छैन ।
प्रतिक्रिया 4