Comments Add Comment

किन हुन्छ अचानक मृत्यु ? यस्तो छ कारण

प्रकाश दाहालको अप्रत्यासित मृत्युले अहिले निकै खैलाबैला मच्चाएको छ । उनी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका एकमात्र छोरा हुन् ।

उनको मृत्युको खबर यसकारण पनि अप्रत्यासित बन्यो कि, उनी खासै ठूलो रोगको चपेटामा थिएनन् । थलिएका थिएनन् । उपचाररत पनि थिएनन् ।

जब आइतबार बिहानै प्रकाश दाहालको मृत्युको खबर फैलियो, त्यसले सबैलाई आश्चर्यमा पार्नु स्वाभाविकै थियो । प्रकाशको निधन कसरी भयो भन्ने तथ्य बाहिर पक्कै आउला ।

तर, यहाँचाहिँ मानिसको अकस्मात् मृत्यु के कारणले हुन्छ भन्नेबारेमा चिकित्साशास्त्रीय दृष्टिकोणले चर्चा गरौं:

हृयदयघात कस्तो रोग हो ?

यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनीहरू वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशिकाहरू अक्सिजन र पोषण तत्वहरुको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो ।

यो रोग अकस्मात घटित भए पनि यसका पछाडि धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी साँघुर्‍याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर सयौं कारणहरू जिम्मेवार छन् ।

यो धेरै कारणहरुले हुने भएको हुँदा एसलाई बहुकारणिक रोग पनि भनिन्छ । १९८१ मा सर विलियमसले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शारीर तथा जैविकतासँग सम्बन्धित छन् ।

त्यसैगरी ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा बंशानुगत, हुन भने ५ वातावरण र ६ दवाई तथा औषधी उपचारसँग सम्बन्धित छन् ।

अचानक हुनसक्छ मृत्यु

अप्रत्यासित रुपमा एक्सिडेन्ट भएजास्तो गरी घट्ने, तत्काल आपतकालीन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने यो रोगको कारणले संसारभर ७४ लाख मानिसहरू प्रत्येक वर्ष मृत्यु हुन्छ । उनीहरु बाँचे पनि पूर्ण स्वस्थ्य नहुने, पराश्रित हुनुपर्ने हुन्छ ।

यद्यपी जोखिम र कारक तत्वहरूलाई निदान गरेमा पुरानै जीवनमा फर्कन असंभव भने छैन ।

हृदयघातमा मुटु तथा रक्तनलीका रोगहरूलाई पनि जोड्ने हो भने यो रोगबाट मर्नेहरूको संख्या बार्षिक १ करोड ७७ लाख हुन पुग्छ ।

सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारीको रुपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरूको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सि र सघन उपचार कक्ष प्रवेशको मूख्य कारण पनि हो ।

यसकारण हुनसक्छ जोखिम ?

रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डी.एल कोलेस्टेरोल, उच्च नन् एच.डी.एल वा भी.एल.डी.एल कोलेस्टेरोल, निम्न एचडीएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मध्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आपना अडान र निर्णयहरूप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनाव जस्ता कारणहरूपर्दछन् ।

यसका अलावा विशेष रोगवस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् ।

यी जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारीलाई ५० प्रतिशतले कम गरेका छन भने फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्वहरूसँग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदाएले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाइरहेका छन् ।

के छ निदान ?

कतिपय अवस्थामा यसलाई जीवनशैली परिर्वतन वा औषधिसेवन गरेर न्यूनीकरण गर्न वा हटाउन सकिन्छ

१) उच्च रक्त संयुक्त कोलेस्टेरोलः कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको उपयोग शरीरको कोषहरुको भित्ता, नशाहरुलाई ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोईड हरमोनहरूर मस्तिष्कका कोषहरू बनाउनका लागि हुन्छ तसर्थ यो शरीरलाई चाहिने तत्व हो ।

तर यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जम्नगई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँछ । माछा, मासु, अण्डा, दूध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पति जन्य चिल्लोमा पाइँदैन ।

यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पुर्‍याउनुपर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केहि ट्रान्सपोर्टर प्रोटिनहरू चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडीएल, भीएलडीएल र एचडीएल प्रोटिन भनिन्छ ।

यी प्रोटिनहरू ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसँग जोडिएपछि यसलाई काइलोमाइक्रोन, एलडीएल, भीएलडीएल र एचडीएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिन युक्त वा फ्री कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भइ रक्तनलीका भित्ताहरुमा टाँसिन पुग्छ ।

फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाइ ह्दयघात वा मस्तिस्कघात गराउन सक्छ ।

२) उच्च रक्त एलडीएल कोलेस्टेरोलः

इसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटीनले कोलेस्ट्रोललाई कलेजो बाट अन्य तन्तुहरूसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडीएलको मात्रा ज्यादा हुन्छ ।

ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरुसँग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषक्त तत्वमा परिवर्तित हुन पुगि रक्तनलीहरुमा सुक्ष्म घाउहरू बनाउँछ ।

यो घाउ भए पश्चात उक्तठाऊ प्रदाहतमक क्रिया सुरु हुन्छ र घाऊ भएको स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ ।

यो डल्लोले नशा साँघुर्‍याएर उक्त अंगहरुको रक्त संचारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलीयम डिराइभ रिल्याक्सि फ्याक्टरको उत्पादन कम गराउछ र उक्त नलीहरुलाई कसिलो राख्छ ।

३) उच्च भीएलडीएल कोलेस्ट्रोल: यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउछ ।

ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सुर्यमुखी, भटमास जस्ता वनस्पतिय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरू हुन् ।

पाचन पश्चात ट्राइग्लिसिराइड फ्याटीे एसीड र ग्लिसरालमा परिवर्तीत हुन्छन् । यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडका रुपमा शरीरमा अवशोषित हुन्छन् ।

हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटीे एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् ।

सबै वनस्पति घ्यू (डाल्डा ) र रिफाइन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा वा अन्य तत्व सँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरीयल फरमन्टेसन भएर तेल टुटी ट्रान्स फ्याटी एसीड बन्दछ ।

स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्री कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ ।

यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गइ मुटु तथा रक्तनलीको रोग लाग्दछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः यो अनुपात मुटुरोगको महत्वपूर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचापः मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवाव हो ।

यसरी लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिँदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षतिग्रष्त हुन पुग्दछ फलतः उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रूतगतिमा हुन पुग्छ र हृदयरोग लाग्दछ ।

८) मधुमेहः रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मिलिग्राम प्रति १०० मिलिलिटर र खाना खाएको दुई घण्टा पश्चात १४० मिलिग्राम प्रति १०० मिलिलिटरभन्दा ज्यादा भएको अवश्थालाई मधुमेह भनिन्छ ।

मधुमेह हुदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपनः भोजनमै भएको वा शरीरमा आफैं बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तित हुन नसकि बोसे तन्तुमा जमेर बडीमास सुचांक, ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका ब्यक्तिहरुलाई धेरै किसिमका रोगहरूलाग्ने खतारा हुन्छ ।

मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । यसकासाथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरुर्ला बढी जन्माउदछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

०) निश्क्रिय जीवन: मुटुरोगले श्रम र ब्यायाम नगरी निश्क्रिय जीवन जीउनेहरुलाई ज्यादा मन पराउदछ । निश्क्रिय जीवन जीउदा मुटु तथा रक्तनलीलाई ब्यायाम हुन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्तीसेवन: धुम्रपान नगर्नेभन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरुले रगतको कोलेष्ट्रोललाई अक्सिडाइज गरी झन बिषाक्त बनाउन मद्दत गर्दछ जसले धमनीहरुलाई क्षतिग्रष्त पार्दछ । बिषाक्त कोलेष्ट्रोल झन चिपचिपे भई नशाहरुमा प्लाक बनाउन मद्दत गर्दछ ।

धुम्रपानले पुर्‍याउने क्षति ब्यक्तिले लिएको चुरोटको संख्यासँग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक हुन ।

१२) मानसिकतनावः वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३) चोकर र रेसाको कमीः रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । मसिनो मिठो खानाले तौल पनि चाँडो बढाउँछ । फलतः मुटु रोग लाग्दछ ।

१४) भिटामिन र एण्टीअक्सीडेण्टको कमीः भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाउँछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सी र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ ।

भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरू पर्दछन् । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाऊदछ ।

१५) टायप “ए” ब्यक्तित्व: मुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै पनपराऊछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरू अधैर्यवान, सधै तनावमा रहन, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरूछाड्न नसक्ने प्रवृतिका हुन्छन् ।

यसको अलावा यी व्यक्तिहरूसधै हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पूर्वाग्राही आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।

१६. मदिरापान: मदिरापान र मुटुको स्वास्थलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको विपरीत छ किनकि रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ ।

थोरै मात्रमा रक्सी पिउनु ब्यक्ति हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउदैनन् । फेरी रक्सीले कलेजो आन्द्रा भुंडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पुर्‍याउने हुँदा त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।

(लेखक भरतपुर—१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment