Comments Add Comment

प्रेस रिभ्यूः आवश्यक परे हतियारसहित उत्रन्छौं- सेना

अमेरिकी सहरले 'राजेश पायल राई डे' मनाउने

फाइल फोटो

४ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले प्रचण्डपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । त्यससँगै निर्वाचन सुरक्षामा नेपाली सेनाले दिएको चासो र तामाकोसी जलविद्युत आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको समाचारले पनि प्राथमिकता पाएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले ‘आवश्यक परे हतियारसहित उत्रन्छौं’ शीर्षक दिएर प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दिएको अभिव्यक्तिलाई समाचार बनाएको छ । समाचारमा लेखिएको छ- रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए । सेनाले मतदाता र उम्मेदवारको सुरक्षा गर्ने जिम्मा नपाएको उल्लेख गर्दै क्षत्रीले भने, ‘दुवै प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ । आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छौं ।’

उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचनविरोधी तत्व’ भनी टिप्पणी गरेको छ ।

अन्नपूर्ण पोष्टमै कांग्रेसलाई मधेसीसँगको तालमेल सकस भएको समाचार पनि छापेको छ । गठबन्धन बलियो बनाउन कांग्रेसले आफ्ना उम्मेदवार फिर्ता बोलाए पनि अन्य राजनीतिक दलबाट सहयोग नपाएको समाचारमा उल्लेख छ । उदाहरणको रुपमा महोत्तरी ३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलाएको तर महोत्तरीकै क्षेत्र नम्बर २ मा कांग्रेसकी किरण यादव र राजपाका शरतसिंह भण्डारी भिड्न लागेको विषयलाई समाचारमा समेटिएको छ ।

 ध्वंसात्मक गतिविधि रोक्छु: देउवा

कान्तिपुर दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले ध्वंसात्मक गतिविधि रोक्छु भनेर दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको छ । डडेलधुरामा आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी सुरक्षा व्यवस्था मिलाइने बताए । ‘म तुरुन्त राजधानी फर्कँदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन निर्देशन दिन्छु ।’

निर्वाचन खर्च बढ्नुका ६ कारण

नयाँ पत्रिका दैनिकले हरेक नयाँ निर्वाचनमा खर्च दोब्बर बढ्ने गरेको र बदर मत नघटेको समाचार छापेको छ । ०४८ मा ११ करोडमा सम्पन्न निर्वाचन ०७४ को संसदस्य निर्वाचनमा १० अर्ब नाघ्न लागेको समाचारमा उल्लेख छ । समाचारमा निर्वाचन खर्च बढ्ने ६ कारण पनि उल्लेख छ । अस्थीर राजनीति, निर्वाचन बिभिन्न चरणमा हुनु, बढ्दो महंगी, निर्वाचन प्रणाली, भ्रष्ट प्रवृति र राजनीतिक संस्कार नहुनुलाई निर्वाचन खर्च बढ्नुका कारणको रुपमा प्रस्तुत गरिएको छ ।

साथै विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दातृ निकायले सम्झौता गरेको अनुदान तथा सहायताको अर्बौं रुपैयाँ जोखिममा परेको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ । शिक्षा मन्त्रालयले दातृ निकायलाई प्रगति विवरण उपलब्ध गराउन नसक्दा यो अवस्था आएको हो । हाल विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गएको र बजेटसमेत सरकारले सीधै स्थानीय तहलाई दिएकाले प्रगति विवरण संकलनमा समस्या परेको शिक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

देश भित्रिने रकम बढ्यो, मूल्य वृद्धि ३ प्रतिशतमा झर्‍यो

राजधानी दैनिकले मूल्यवृद्धि ३ प्रतिशतमा झरेको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा मूल्यवृद्धि ३ दशमलव १ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक गरेको छ । बजारमा आम उपभोक्ताको पहुँचभन्दा बाहिर मूल्य पुगेको अवस्थामा केन्द्रीय बैंकले सार्वजनिक गरेको ३ महिने आर्थिक परिदृष्यको प्रतिवेदनमा सो उल्लेख गरेको हो ।

राजधानी दैनिकमै एनआईसी एसियाको बैंकिङ सुरक्षा र वित्तीय प्रणालीमा गम्भीर समस्या देखिएपछि राष्ट्र बैंकले छानबिन थालेको समाचार पहिलो पृष्ठमा छापिएको छ । समाचारमा लेखिएको छ- आन्तरिक एवं वित्तीय सुरक्षा प्रणालीमा सबैभन्दा कमजोर रहेको निष्कर्षसहित नियमनकारी निकाय केन्द्रीय बैंकले सो बैंकको वित्तीय अवस्था र उसले अवलम्वन गर्दै आएको बैंकिङ सुरक्षा प्रणालीका विषयमा छानबिन सुरु गरेको हो ।

एनआईसी एसिया बैंकको स्विफ्ट ह्याक गरी ४३ करोड रुपैयाँ चोरी भएको थियो ।

कान्तिपुर दैनिकले देश भित्रिने रकम बढ्यो शीर्षकमा आर्थिक पृष्ठमा समाचार छापेको छ । अघिल्ला दुई महिनासम्म निरन्तर घाटामा रहेको शोधनान्तर स्थिति बचतमा फर्केको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि असोज महिनामा शोधनान्तर स्थिति ४ अर्ब २७ करोड रुपैयाँले बचतमा पुगेको समाचारमा उल्लेख छ ।

र यो पनि– राजेश पायल अब अन्तर्राष्ट्रिय गायक

राजेश पायल राई अब अन्तर्राष्ट्रिय गायक बनेका छन् । कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा समाचार लेखिएको छ- अमेरिकाको रोचेस्टर सहरले अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने भएको छ ।

समाचारमा लेखिएको छ- राजेश पायलको सातौं अमेरिका भ्रमणको क्रममा रोचेस्टर सहरकी मेयर लभ्ली वारेन र उपमेयर डा. कार्डिक एल अेक्जन्डरले यस्तो सम्मान गरे अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने छ ।

‘म त सो गर्न मात्र अमेरिका गएको थिएँ । सम्मान मेरो लागि पनि सरप्राइज नै भयो,’ केही दिन अघिमात्र नेपाल फर्किएका उनले भने, ‘नेपाली गीत गाएर अमेरिकाको राज्यले सम्मान गर्नु यो मेरो मात्र उपलब्धि होइन, नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment