Comments Add Comment

तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल

तिङ्लामा आमभेलाको निर्णय-मंसिर १० को चुनाव पनि सामुहिक बहिस्कार

६ मंसिर, काठमाडौं । सोलुखुम्बुको तिङ्लामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्न खोजेका थिए । तर, मंसिर २ मा गाउँको आमभेला बस्यो र यसपटक पनि ‘नो भोट’ अभियान कायमै राख्ने लिखित निर्णय गर्‍यो ।

अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय मतदाताले निर्वाचन बहिस्कार गर्नेछन् ।

स्थानीय तहको सीमांकनप्रति असन्तुष्टि जनाउँदै तिङ्ला विद्रोह भयो । उनीहरुले गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा ‘नो भोट, नो क्याण्डिडेट’ अभियान सफल बनाए ।

तर, प्रदेश र प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा केही दल र उम्मेदवारले तिङ्लाबासीबीच फुट ल्याउन प्रयास गरेका छन् । तर, आमभेलाले चुनावमा भोट हाल्नुपर्छ भन्ने केही व्यक्तिको स्वर खारेज गरेपछि यसपटक पनि तिङ्लाले ‘नो भोट’ गर्ने भयो । सिंगो मुलुक प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चटारोमा रहेका बेला तिङ्ला सुनसान छ ।

एक उम्मेदवारको स्वार्थमा …

स्थानीय तह पुनर्संरचनाको बेला आफूहरुलाई पायक पर्ने सोलु दूधकुण्ड नगरपालिकामा नराखी ६ घण्टा टाढा जानुपर्ने नेचासल्यान गाउँपालिकामा राखिएदेखि तिङ्लाबासी आन्दोलित छन् ।

यसक्रममा धेरेले जेलनेल पनि भोगे । स्थानीय चुनाव बहिस्कार गर्ने क्रममा कांग्रेस नेता बलवहादुर केसीले संघर्ष समितिका संयोजक बालकुमार कार्की सहितलाई २८ दिन थुनाए ।

तर, पनि तिङ्लाबासीले माग पूरा नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान कायमै राखेका छन् ।

यसपटक ‘नो भोट’ तोडाउने सचेत प्रयास नभएको होइन । मंसिर २ को भेलामा स्थानीय कांग्रेस नेता दत्तसिंंह कार्की लगायतले मतदान प्रक्रियामा सहभागी हुनुपर्ने प्रस्ताव पनि राखे ।

तर, आमभेलाले अस्वीकार गर्‍यो । प्रदेशसभाका कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्कीका धेरै नातागोता तिङ्लामा रहेका कारण उनले नो भोटबाट ब्याक गराउन हरसम्भव प्रयास गरिरहेका छन् ।

कार्की तिङ्लासँगै जोडिएको सल्यानका बासिन्दा हुन् । तर, धेरै नातागोता तिङ्लामा छन् । तिङ्लाले नो भोट गर्दा आफूलाई घाटा पर्ने विश्लेषणका आधारमा उनले आफू निकट केही व्यक्तिलाई आमभेलामै मतदानको पक्षमा बोल्न लगाएको स्थानीयले बताएका छन् ।

मतदान गर्दा मुद्दा कमजोर हुने डर

तिङ्ला संघर्ष समितिका संयोजक बालकुमार कार्कीले भने मतदानमा जाँदा मुद्दा कमजोर हुने भएकाले संस्थागत रुपमै बहिस्कार गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्नेमा छलफल भयो, एक दुईजनाले मतदानमा जानुपर्छ भन्नुभयो तर, ९९ प्रतिशत जनताले हुँदैन भनेपछि बहिस्कार नै गर्ने निर्णय भयो ।’

नेचसल्यान गाउँपालिका ६ मा पारिएको तिङ्ला यस्तो गाउँ हो, जहाँ देशभरी चुनाव भए पनि यहाँ भएन र वडाध्यक्ष चुनिएनन् । ९९५ घरधुरीका करिब ५ हजार जनसंख्या रहेको यो गाउँमा स्थानीय चुनावमा २६७६ मतदाता थिए, जुन अहिले ३१ सय पुगेको छ ।

बलवहादुर केसीको अर्कै आक्रोश

तिङ्लाको ३१ सय भोट आफैंमा जितहारमा निर्णयक हुनसक्छ । त्यसैले कांग्रेसका प्रदेशसभाका उम्मेदवार प्रकाशसिंह कार्कीले नो भोट अभियान फुटाउन प्रयास गरेका छन् ।

बिगतमा ९० प्रतिशतसम्म मत कांग्रेसलाई खस्ने गरेको यो गाउँका बासिन्दाको सबैभन्दा ठूलो आक्रोश पनि कांग्रेस नेता बलवहादुर केसीसँगै छ । केसीले नै तिङ्लालाई सोलुदूधकुण्डा गाउँपालिकामा राख्न नदिएको आरोप स्थानीयवासीको छ ।

अहिले पनि कांग्रेसका प्रदेशसभा उम्मदेवार प्रकाशसिंह कार्कीले मतदान गराउन प्रयास गर्दा केसीले भने ‘तिङ्लाले किन भोट हाल्ने ?’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । केसीलाई तिङ्लाले आफूविरुद्ध मत दिने डर छ भने कार्कीलाई तिङ्लाको मतले जिताउने भर छ ।

प्रदेशसभाबाट एमालेका प्रत्यासी उत्तमकुमार बस्नेत तिङ्लालाई भने प्रकाशसिंह कार्कीलाई बढी मत दिँदा आफूलाई असर पर्ने डर छ । ‘हामीले मतदानमा भाग लिँदा कसैलाई जित्ने र कसैलाई हार्ने डर भएकाले पनि हाम्रो मुद्दा चुनावअघि सम्बोधन नभएको हो’ संयोजक कार्कीले भने ।

गाउँपालिकाले दियो छुट्टनिे अधिकार

अान्दोलित तिङ्लावासी । फाइल तस्वीर ।

त्यसो त चुनावलगत्तै नेचा सल्यान गाउँपालिकाका २ तिहाई जनप्रतिनिधिको निर्णयले तिङ्लालाई आफूबाट छुटि्टएर जाने अधिकार दिइसकेको छ । जनताको माग अनुसार तिङ्लालाई छुटि्टने दिइएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताएका छन् । सोलु दूधकुण्ड नगरपालिकाले पनि तिङ्लालाई आफूसँग समाहित गर्न सहमति दिइसकेको छ ।

राजनीतिक स्वार्थकै कारण गाउँपालिका र नगरपालिकाको निर्णय कार्यन्वयनमा अवरोध सिर्जना भएको हुनसक्ने आशंका तिङ्लाबासीको छ । त्यसैले पनि उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि बहिस्कार गर्ने निर्णय गरेका हन् । कांग्रेस नेता केसीले संघर्ष समितिका पदाधिकारीलाई अहिले पनि धम्क्याउने र तर्साउने काम गरिरहेका कार्कीले बताए ।

उनले भने, ‘हाम्रो गाउँबाट ९० प्रतिशत भोट कांग्रेसलाई जाने गरेको हो । कुनै समय बलवहादुर केसीले ९९ प्रतिशतसम्म भोट पाउनुभएको थियो । तर, उहाँकै कारण तिङ्ला नेचासल्यान गाउँपालिकामा पारियो ।’

तिङ्लामा यसपटक भोट हाल्ने र नहाल्ने पक्षबीच विभाजन आउने आशंकाले गर्दा प्रशासनले पनि सुरक्षा सतर्कता बढाएको छ । उम्मेदवारको स्वार्थमा गाउँबासीबीच बिभाजन आउने सम्भावना देखिएको अपि्रय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको स्रोतले जनाएको छ ।

तर, संघर्ष समितिका सचिव रामकुमार राईले भने तिङ्लाबासीबीच कुनै मतभेद नरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment