Comments Add Comment

बाजुरामा घरेलु हतियार प्रहारबाट ६ जना घाइते

८ मंसिर, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने ३ जना सम्पर्कविहीन रहेका छन् ।

घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ । सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिए ।

भट्टले दिएको जानकारीअनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर छ। आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद ५ हजार ५ सय रुपैयाँ लुटेको भट्टले बताए ।

घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन् भने ललित थापा स्थानीय तहको निर्वाचित वडा सदस्य हुन् ।

घाइते भएका छ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ । आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताए ।

बाटोमा हिँडिरहेका बेला कुनै कुराकानी नगरी एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको थापाको भनाइ छ ।

वामगठबन्धनका उम्मेदवार लालबहादुरको निर्देशन र आक्रमणमा संलग्न गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट काँग्रेसका कार्यकता घाइते भएकोप्रति नेपाली काँग्रेसले घोर आपत्ति जनाएको छ ।

चुनावी प्रचारमा जनतालाई भेटघाट गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भए पनि राणा शासन चलाउन खोजेकोप्रति काँग्रेसले विरोध गर्छ काँग्रेस सभापति कविराज पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment