Comments Add Comment

‘दुबै गठबन्धन भारतीय दलाल !’

'चुनावमा ३८ लाख खर्च गर्छु भन्नेलाई जेल हाल्नुपर्छ'

११ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिन्छ भक्तपुर । त्यसमा पनि निर्वाचन क्षेत्र नम्बर १ मा वि.सं. ०४८ सालयता लगातार ५ पटक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव जितेका छन् ।

यद्यपि, यो पटक बिजुक्छे चुनावी मैदानमा छैनन् । उनको ठाउँमा नेमकिपाले उठाएको छ, पार्टीका वरिष्ठ नेता प्रेम सुवाललाई । उनी यसअघि समानुपातिक सांसद थिए । ५७ वषर्ीय सुवालले व्वयस्थापनमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

सुवालले पार्टी अध्यक्ष विजुक्छेले यस क्षेत्रमा कायम गरेको बिरासतलाई आफूले जोगाउने दाबी गरे । उनले भने, ‘मेरो निकट प्रतिस्पर्धी कोही छैन ।’

वामपन्थी गठवन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धन दुवै भारतको निर्देशनमा बनेको उनको जिकिर छ । ‘भारतीय विस्तारवाद र भारतीय पुँजीका दलाल’ भन्ने शब्दावली कयौंपटक प्रयोग गर्दै उनले ठूला तीन पार्टीलाई प्रहार गरे ।

भक्तपुर नगरपालिकास्थित नेमकिपाको प्रधान कार्यालयमा सुवालसँग गरिएको कुराकानीः

नेमकिपाको किल्लामा उम्मेदवार बन्नुभएको छ । आफूलाई कत्तिको सुरक्षित ठान्नुभएको छ ?

पक्कै पनि हो । म ठूलो मतान्तरले जित्दैछु ।

नारायणमान विजुक्छे उम्मेदवार बन्नुभएन, यसमा आन्तरिक कारण पनि थिए कि ?

केही थिएन । जनताको र पार्टीको आग्रह उहाँ नै उम्मेदवार बन्नुपर्छ भन्ने हो । तर, उहाँले केन्दि्रय समितिको वैठकमा आफू उम्मेदवार नबन्ने प्रस्ताव गर्नुभयो । पाँच पटक सांसद भएर देश र जनताको सेवा गरेँ, अब पार्टीमा नयाँ नेतृत्व आवश्यक छ । नयाँ पुस्ता संसदमा गएर काम गरेको अनुभवी भएकाले म नै जानुपर्छ भन्ने छैन भन्नुभयो । जो गए पनि पार्टीको निर्देशनमा काम गर्ने हो । उहाँको प्रस्ताव अनुसार पार्टीले निर्णय गरेको हो ।

बिजुक्छेको व्यक्तिगत लोकपि्रयताको भोट यसपालि अन्यत्र जान सक्छ र तपाईंलाई गाह्रो पर्न सक्छ पनि भनिन्छ नि ?

हाम्रो भोट यताउता हुँदैन ।

यो चुनावमा तपाईंको मुख्य प्रतिस्पर्धा वाम गठवन्धनसँग होला कि कांग्रेससँग ?

हामीले इमान्दारितापूर्वक देश र जनताको सेवा गर्दै आएको हुनाले हामीलाई धेरै मतान्तरले मतदाताहरुले जिताउनुहुनेछ । यहाँ मात्रै होइन, देशका विभिन्न ३६ जिल्लामा पनि हाम्रा उम्मेदवारलाई जिताउनु हुनेछ ।

सरकारमा गएर भ्रष्टाचार नगरेको, भारतीय विस्तारवाद, भारतीय एकाधिकार पूँजीको दलाल नबनेकाले नेमकिपा नै नेपाली जनताको पार्टी हो । दुई गठवन्धनलाई मत दिनु भनेको भारतीय बिस्तारवाद र भारतीय एकाधिकार पूँजीको दलाललाई मत दिनु हो भन्ने जनताले बुझेका छन् । मेरा निकट प्रतिस्पर्धी कोही छैनन् ।

भक्तपुरका जनताले परिवर्तन खोजेका छैनन् ? यसपालि उलटफेर हुन के बेर ?

हो, परिवर्तन खोजेका छन् । सरकारमा गएर काम गर्नै नसक्ने, घोषणपत्र कार्यान्वयन गर्न नसक्ने, भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीका दलाललाई हिजो जति मत दिएका थियौं, त्यो आज दिन्नौं भनेर परिवर्तन चाहेका हुन् ।

अरु पार्टीका उम्मेदवार पैसा खन्याएर चुनाव जित्ने धुनमा छन् । अस्ति अनलाइनखबरमै भक्तपुरका एक उम्मेदवारको अन्तरवार्ता पढेँ । उहाँले खुल्लम खुल्ला आचारसंहिता उल्लंघन गर्ने कुरा गर्नुभएको छ । चुनावमा ३८ लाख खर्च गर्छु भन्नुभएको छ जबकि निर्वाचन आचार संहिताअनुसार २५ लाखसम्म मात्रै खर्च गर्न मिल्छ । बैंकमा जग्गा धितो राखेर चुनाव लड्छु भन्नुभएको छ । भोलि त्यो जग्गा फुकुवा कसरी गर्नुहुन्छ ? यस्ता उम्मेदवारलाई जेल हाल्नुपर्छ ।

तपाईंहरुले चाहिँ चुनावमा पैसा खर्च गर्नुहुन्न ?

हाम्रो एकजना उम्मेदवारको २० हजारदेखि बढिमा ५० हजारसम्म खर्च हुन्छ । पर्चा-पम्प्लेटमा मात्र हो खर्च हुने । शहरमा अलिकति गाडी भाडामा जान्छ । अरु खर्च केही पनि छैन । कार्यकर्तालाई हामीले चिया पनि खुवाएका छैनौं । मतदातालाई भोजभतेर खुवाएका छैनांै । सबै आआफ्नो घरको खाएर प्रचार गर्ने हो ।

स्कुलदेखि ईट्टाभट्टासम्म चन्दा उठाएर हिँड्नुभएको छ भन्ने सुनिन्छ नि ?

हामीले पर्चा-पम्प्लेटका लागि जनतासँग अलिकति पैसा उठाएका छौं । हाम्रो घोषणापत्र हेरेपछि जनताले स्वेच्छाले चन्दा दिनुहुन्छ ।

अहिलेसम्म कति पैसा उठाउनुभयो ?

निर्वाचन सकेपछि थाहा हुन्छ । अहिले साथीहरुले उठाउँदै हुनुहुन्छ, हिसाब निकालेको छैन ।

यति उठाउने भन्ने टार्गेट त होला नि ?

त्यस्तो टार्गेट छैन । जनताबाट जति प्राप्त हुन्छ, त्यसैमा सन्तोष मान्ने हो । साथीहरु चन्दा उठाउने कमिटीमा हुनुहुन्छ । उम्मेदवारलाई यसको खासै चासो हुँदैन । पार्टीलाई विश्वास गरेर जनताले आर्थिक सहयोग गर्छन् भन्ने मान्यता हो ।

अरुबेला चाहिँ पार्टीको आयस्रोत के हो ?

कार्यकर्तासँग लेवी उठाउँछौं । हामी संसद सदस्यहरुले पनि सबै तलब पार्टीलाई दिने हो । संसदको चेक हामीले छुँदा पनि छुँदैनौं ।

तलब सबै पार्टीलाई बुझाएर तपाईंहरुको घर कसरी चल्छ त ?

हामीलाई पार्टीले मावि टिचरले पाउने तलव सरहको पैसा मासिक रुपमा दिन्छ । त्यसैले घर चलाउने हो । त्योभन्दा बढी आशा गर्ने हो भने पार्टीमा नलाग्दा हुन्छ ।

सबै केन्द्रीय नेताले मावि शिक्षक सरहको पैसा पाउँछन् र ?

होइन, हामी संसद सदस्यहरु र अरु होलटाइमरहरुले मात्रै पाउँछन् । हाम्रा केन्द्रीय सदस्यहरु आ-आफ्नो पेशा गर्नुहुन्छ । प्राय खेती-किसानीमा हुनुहुन्छ ।

तपाईको निवार्चचन क्षेत्रमा वाम गठवन्धनले नेमकिपालाई छोड्नेे चर्चा थियो नि, पछि के भयो ?

उनीहरुले हामीलाई छोड्ने कुरा मिडियामा हामीले सुन्यौं । तर, औपचारिक कुनै प्रस्ताव आए ।

तालमेल गर्ने प्रस्ताव आएको भए स्वीकार्नुहुन्थ्यो ?

स्वीकार्ने प्रश्नै आउँदैनथ्यो.. । वाम गठवन्धन नाम मात्रैको वाम हो । संसदीय भाषामा वाम भनेको सभामुखको बायाँतिर बस्नेलाई वाम भन्छ, दायाँतिर बस्नेलाई सत्तापक्ष भनिन्छ । माओवादी अहिले पनि विनाविभागीय मन्त्री र उपप्रधानमन्त्री खाएर बसिरहेको छ । त्यो माओवादीसँग एमालेको गठवन्धन छ । माओवादी सरकारमा नै रहेको र उसैसँग एमालेको पनि गठवन्धन रहेको हुनाले एमाले र माओवादी सत्तापक्षकै हुन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा वाम भनेर कम्युनिष्टलाई भनिन्छ । तर, एमाले र माओवादी कम्युनिष्ट पनि होइनन् किनभने सरकारमा हुँदा उनीहरुले मजदुर, किसान र कामदार बर्गको निम्ति कुनै काम गरेनन् । कांग्रेसले जस्तै काम गर्ने यिनीहरु ‘भाइ कांग्रेस’ हुन् । वाम नै नभएपछि, कम्युनिस्ट नै नभएपछि सिद्दान्त नमिल्नेसँग कसरी सहकार्य हुन सक्छ ?

हाम्रो ठहर छ, भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजिले पालैपालो आफूले भनेअनुसार शासन चलाउनका निम्ति दुई गठवन्धन बनाएको हो । भारतको निर्देशनै छ, दुई गठवन्धन निर्माणमा । त्यसकारण हामीले निर्वाचनमा भारतीय विस्तारवादका दलालहरु, भारतीय एकाधिकार पुँजीका दलालहरुलाई हराउनुपर्छ भनेर नारा दिएका छौं । यदि दुई गठवन्धन मध्ये एउटाको बहुमत आयो भने भारतीय विस्तारबाद र भारतीय एकाधिकार पूँजिको बहुमत आयो भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।

यो त मनोगत आरोप मात्रै भएन र ?

हामीले तथ्यमा टेकेर भनिरहेका छौं । दुवै गठवन्धनको काम एउटै हो, भारतीय विस्तारवादको दलाली गर्ने । यी दुई पार्टीले धेरै संख्यामा जिते भने नेपाली लेन्डुप दोर्जेहरुको जन्म हुनेछ र देश अन्ततः सिक्किम हुने सम्भावना छ ।

चुनावको तयारी कसरी अघि बढिरहेको छ तपाईंको ?

स्वाभाविक ढंगले अगाडि बढिरहेको छ । हामी जनताको घर-दैलो, चोक र टोलमा हामीलाई भोट दिनु पर्ने कारणहरु बताउँदै हिँडिरहेका छौं ।

प्रचार अरु पार्टीको भन्दा फरक शैली केही छ कि ?

चुनावलाई हामी राजनीतिक कक्षाका रुपमा लिन्छौं । यसलाई विचारको लडाइँ र घोषणापत्रको लडाइँका रुपमा लिन्छौं । त्यसैले हामीले सरकारमा गएका पार्टीहरुको घोषणापत्रमा के-के झूटा आश्वासन छन् र हाम्रो घोषणापत्र उनीहरुको भन्दा किन महत्वपूर्ण र औचित्यपूर्ण छ भनेर जनतालाई बताइरहेका छौं । चोक र चोटा वैठकमा मानिसहरुलाई डाकेर मतदाता शिक्षा पनि दिइरहेका छौं ।

हामीले चुनावलाई राजनीतिक कक्षा र वर्गसंघर्ष पनि भनेका छौं । यो कामदार वर्ग र शोषक वर्गबीचको लडाइँ हो । वाम र लोकतान्त्रिक । दुवै गठवन्धनमा रहेका दलहरुले १७ पटक सरकारको नेतृत्व गरे । कांग्रेसले १० पटक, एमालेले ४ पटक र माओवादीले ३ पटक । तर, देशलाई रसातलमा पुर्‍याउने उनीहरु नै अहिले जनताकहाँ गएर हामी यो गर्छौं, त्यो गर्छौ भन्दै फलाकिरहेका छन् ।

दुवै गठवन्धनको घोषणापत्र हेर्‍यौं भने राति सूर्य ल्याइदिने बाहेक सबै छ । यो झूटको पुलिन्दा हो भनेर हामीले जनतालाई बताउँदैछौं ।

तपाईंहरुको घोषणापत्रचाहिँ के फरक छ ?

हाम्रो घोषणापत्रमा प्रष्टसँग भनेका छौं कि हामी प्रखर प्रतिपक्षको भूमिका निभाउने छौं । सरकारमा जाने पार्टीहरुले देश र जनताको हितविरुद्ध कुनै पनि काम गर्न खोजेमा हामी संसदमा र सडकमा आवाज उठाउँछौं । अबको भूमिका पनि त्यही हो ।

आफू सरकारमा नजाने, अनि प्रतिपक्षमा बसेर विरोध मात्रै गर्ने सिलसिला कहिलेसम्म चलाउनुहुन्छ ?

यो प्रधानमन्त्रीय बन्दोबस्त हो । हामी कुनै पूँजिवादी पार्टीको प्रधानमन्त्रीत्वमा मन्त्री खाँदैनौं । हामी आफ्नै वर्ग संघर्षबाट मजदुर र किसानहरुको सरकार स्थापना गर्छौं । त्यसका लागि हामी जनतालाई सचेत गरिरहेका छौं ।

तपाईंहरुलाई मन्त्री बन्न अफर कत्तिको आउँछ ?

सबै पार्टीका नेताहरु मन्त्री भए । हामीलाई पनि ०४६ सालदेखि पटक-पटक मन्त्रीको लागि आग्रह भएको छ । तर, हामी पूँजिवादी बन्दोबस्तमा मन्त्री कदापि बन्दैनौं । पूँजीवादी सरकारले देश र जनताको सेवा गर्ला भन्ने विश्वास छैन ।

पूँजिवादी बन्दोबस्तमा सांसद चाहिँ किन बन्ने त ? मन्त्री बनेर केही गर्न सकिँदैन भने सांसद बनेर के सकिन्छ ?

संसदमा हाम्रो उपस्थिति भनेको सरकारमा जाने पूँजिवादी पार्टीहरुले देश र जनताको हितविपरीत काम गरेको खण्डमा त्यसको सन्देश जनतालाई पुर्‍याउने हो । त्यो पूँजिवादी सरकारले देश र जनताको हितविरुद्ध गरेका कामविरुद्ध संसदमा संघर्ष गर्न हामी आवश्यक छ । हामी संसदमा गएनौं भने सरकार अझ देश र जनताविरोधी काममा अघि बढ्नेछ । जनतालाई थाहै हुँदैन । अर्को कुरा, संसद देश विकासका लागि नीति तथा कार्यक्रम बनाउने मूल थलो हो, हुन्छ/हुन्न भनेर हात उठाउने भेडीगोठ मात्र होइन ।

तपाईंहरुले चाहेजस्तो शासन व्यवस्थाचाहिँ कहिले आउँछ त देशमा ?

जनता सचेत भएपछि आइहाल्छ । जस्तो एक सय ४ वर्षसम्म राणाहरुले शासन गरे । जनता उठेपछि त्यो ढल्यो । त्यसपछि १७ सालबाट पञ्चायती व्यवस्था सुरु भयो । ३० वर्षमा त्यो ढल्यो । अब जनता सचेत भएपछि क्रान्ति हुन्छ । त्यसले यो व्यवस्था समाप्त गर्छ र जनताको नयाँ सत्ता स्थापित गर्छ ।
जब क्रान्ति भएर हाम्रो सत्ता आउँछ, त्यसपछि बल्ल देशको मुहार फेरिन्छ ।

भक्तपुरमा त लामो समयदेखि नेमकिपाकै हालिमुहाली छ । यहाँको मुहार चाहिँ कति फेर्नुभयो ?

हामीले भक्तपुरमा गरेको जस्तै काम ७५ वटै जिल्लामा भएको भए जनताको यो स्थिति हुने थिएन । हामीले नगरपालिकामार्फत कलेजहरु खोल्यौं । दुई इञ्जिनियरिङसहित सात कलेजमा ७४ जिल्लाका विद्यार्थीले पढ्छन् । इञ्जिनियर मात्रै वर्षको ५ सयजनाले पढ्छन् । सम्पूर्ण विद्यार्थी ५ हजार छन् । तीमध्ये ३ हजार विद्यार्थी विभिन्न जिल्लाका हुन् भने २ हजार भक्तपुरका ।

स्वास्थ्यसेवा, कला-संस्कृति संरक्षण र सरसफाइमा पनि हामीले काम गरेका छौं । नगरपालिकाले खोलेको जनस्वास्थ्य केन्द्रमा भक्तपुर जिल्लाभरिकाले ३० रुपैयाँमा विशेषज्ञ सेवा लिन सक्छन् ।

देशभरि शिक्षा निःशुल्क हुनुपर्छ भनेर संसदमा आवाज उठाउनुभयो, तर भक्तपुरमा नगरपालिकाले खोलेका कलेजमा नै निःशुल्क गर्न सक्नुभएको छैन नि ?

देशभरिका विद्यार्थीहरुलाई पढाउन चानचुने पैसाले पुग्दैन । तर, हामीले प्राइभेट कलेजले भन्दा आधा मात्र पैसा लिएका छौं । इन्जिनियर पढ्नलाई अन्यत्र १०/१५ लाख लाग्छ, हामीकहाँ पाँच लाख । सबैलाई आधा शुल्क छात्रवृत्ति छ । नेमकिपाको दर्शन र सिद्धान्तअनुसार सरकार बन्यो भने देशभर शिक्षा-स्वास्थ्य निशुल्क हुनेछ ।

भक्तपुर-१ बाहेक तपाईंहरुले जितको आशा गरेको ठाउँ कहाँ हो ?

हामीले ३६ जिल्लामा उम्मेदवारी दिएका छौं, ती सबै स्थानमा हामी बलिया छौं । बुझिराख्नुस्, अब नेपाली जनताले हामीलाई नै भोट दिने हुन् । अब भारतीय विस्तारवाद र एकाधिकार पूँजिका दलालहरुको केही लाग्दैन । नेपालको आधाउधी जिल्लामा जितेर यो देशमा विकासको आँधिबेरी सिर्जना गर्नेछौं ।

तपाईंहरुले भक्तपुरमा एक दलीय अधिनायकवादको नरम अभ्यास गरिरहनुभएको छ भनिन्छ नि ?

अधिनायकवाद सरकारमा बस्ने पार्टीले गर्छ । अधिनायकवाद भनेको सरकारमा बस्ने पार्टीले मानवअधिकार हनन गरेर, कानूनी राज्यलाई गुण्डा, तस्कर, काला बजारीमार्फत कब्जा गरेर अभ्यास गर्ने हो । हामी सरकारमै छैनौं । संसदले बनाएको ऐन-नियम अनुसार चल्छौं । कांग्रेस, एमाले, माओवादीले नै हामीलाई अधिनायकवादको खोक्रो आरोप लगाउँछन् ।

तर, अरु पार्टीहरुसँग कुनै सरसल्लाह नगरी एकलौटीरुपमा काम गर्नुहुन्छ रे ?

हामी जनताको सरसल्लाहमा काम गर्छौैं । हाम्रो काम जनसहभागितासहित हुन्छ । कलेज खोलेर ७४ जिल्लाका जनतालाई सेवा गर्दैछौं ।

तपाईंहरुले भक्तपुर नगरमा मात्रै काम गर्नुभएको छ, तर गाउँहरुलाई हेर्नुभएको छैन पनि भनिन्छ नि ?

जुन ठाउँमा जसले जित्यो, त्यसले गर्ने हो । हामीलाई जिम्मा दिइयो भने राम्रो गरेर देखाउँछौं । हामीले हाँकेका जिल्लाहरुमा बजेटको दुरुपयोग, भ्रष्टाचार, जनतालाई अन्याय हुँदैन । आफ्नो पार्टीको नीति-तिर्देशन अनुसार पारदर्शी ढंगले काम गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment