Comments Add Comment

सुर्खेतमा ‘हेभीवेट’ चुनावः पूर्वगृहमन्त्रीदेखि जेलब्रेक कमाण्डरसम्म

बहालवाला राज्यमन्त्री र पूर्वमन्त्री प्रदेशमा प्रतिस्पर्धा गर्दै

११ मंसिर, सुर्खेत । प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतमा दोस्रो चरणअन्तर्गत आगामी २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला राज्यमन्त्रीदेखि सुर्खेत जेलब्रेकका कमाण्डरसम्म चुनावी प्रतिस्पर्धामा छन् ।

कोही जितको हृयाटि्रक गरिसकेका उम्मेदवार छन् भने कोही हारको ह्याट्रिक पूरा गरिसकेका उम्मेदवारहरु पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।

सुर्खेतमा प्रतिनिधिसभामा मात्र नभई प्रदेशसभा सदस्यका लागि समेत ‘हेभिवेट’ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्यमन्त्रीका दाबेदार भएकाले सुर्खेतमा पूर्वमन्त्रीले समेत प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

अवकाश प्राप्त शिक्षक, बरिष्ट इञ्जिनियर, पूर्वराष्ट्रिय खेलाडी, निर्माण व्यवसायीसमेत चुनावी प्रतिस्पर्धामा छन् ।

साथै ३० वर्षमुनिका युवासमेत यसपटकको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसपटक सुर्खेतमा नयाँ दलका रुपमा नयाँशक्ति पार्टी र विवेकशील साझाका उम्मेदवारहरु समेत सबै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका छन् । विवेकशील साझाले युवालाई उम्मेदवार बनाएर चर्चा बटुल्लने प्रयाससमेत गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशनले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिएको छ । राप्रपा र एकीकृत राप्रपा राष्ट्रवादी, राप्रपा प्रजातान्त्रिकले पनि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर एकः ‘हेभिवेट’ पूर्णबहादुरलाई ध्रुब शाही चुनौती

यसअघि तीनवटा क्षेत्र रहेको सुर्खेतमा यसपटक दुईवटा क्षेत्र निर्धारण गरिएको छ । क्षेत्र नं. १ पूर्वी सुर्खेत हो ।

दुईवटा क्षेत्र निर्धारण भएपछि साविकको २ नं. क्षेत्रका केही भागहरु यो क्षेत्रमा गाभिएको छ । चिङगाड गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडाहरु, साविकको लेखपराजुल गाविस र साटाखानी गाविस अहिले क्षेत्र नं. १ मा गाभिएको छ ।

यो क्षेत्रमा ४९०९७ पुरुष र ५२५४० महिला गरी जम्मा १ लाख एक हजार ६३७ जना मतदाता रहेका छन् ।

क्षेत्र नं .१ मा विभिन्न ९ वटा राजनीतिक दलहरु प्रतिस्पर्धामा छन् । जसमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, एमालेबाट ध्रुवकुमार शाही, संघीय समाजवादी फोरम नेपालबाट धनवीर कामी, राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले उम्मेदवारी दिएका छन् ।

यस्तै नेमकिपाबाट जीवनकुमार शाक्य, नयाँशक्ति पार्टी नेपालबाट रेशमकुमार राना, एकीकृत राप्रपा (राष्ट्रवादी) बाट चक्रबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट देवबहादुर राना र विवेकशील साझा पार्टीबाट रम्मा आचार्यले प्रत्यक्षतर्फ उम्मेदवार छन् । ९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिए पनि यो क्षेत्रमा मुख्य गरी कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने पक्का छन् ।

कांग्रेसबाट हालसम्म भएका आम चुनावमा अपराजित पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का प्रतिस्पर्धामा छन् । उनको मुख्य प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही छन् ।

पहिलो संविधानसभा चुनावमा खड्का समानुपातिक उम्मेदवार थिए । त्यसबाहेक ०४८, ०५१, ०५६ र ०७० मा निर्वाचित भएका हुन् । सुरुदेखि खड्काले एमालेसँगै प्रतिस्पर्धा गर्दै आएका थिए ।

यसपटक भने एमालेका शाही माओवादीको साथ लिएर चुनाव लडेका कारण खड्कालाई चुनौती थपिएको छ । देशका धेरै ठाउँमा राप्रपा-कांग्रेस गठबन्धन भए पनि यो क्षेत्रमा एकीकृत राप्रपा (राष्ट्रवादी) ले समेत उम्मेदवार बनाएको छ । राप्रपाले भने उम्मेदवारी दिएका छैनन् ।

स्थानीय तहको मतअनुसार एमाले-माओवादीको मतले खड्कालाई सकस हुने अनुमान गरिएको छ । तर, हेभिवेट भएकाले अस्थिर मत खड्कालाई जाने कांग्रेसको दाबी छ ।

स्थानीय तहका अनुसार वाम गठबन्धनको मत ३५ हजार ७७१ र कांग्रेसको मत २९ हजार ५४९ मत रहेको छ ।

यो क्षेत्रमा केही मत जनमोर्चा, राप्रपा नेपाल, एकीकृत राप्रपा -राष्ट्रवादी) र नेमकिपाको पनि केही मत छ । तर, यो मत नगन्य भएको कांग्रेस र वामपन्थीहरुको भनाइ छ ।

प्रदेश १ (क) : पूर्व छापामारसँग र कांग्रेस उपसभापतिको प्रतिस्पर्धा

क्षेत्र नं. १ को प्रदेशसभा (क) मा २३ हजार २२ जना महिलासहित ४४ हजार ३४७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि १० जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका सबै दलहरुले प्रदेश-क) मा पनि उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नदिएको राप्रपाले पनि यो क्षेत्रमा उम्मेदवारी दिएको छ ।

प्रदेश(क) मा पनि प्रतिनिधिसभा जस्तै मुख्य गरी कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारहरुवीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यो क्षेत्रमा कांग्रेसबाट पार्टी जिल्ला उपसभापति उम्मेदवार छन् भने वाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य ठम्मर विष्ट प्रतिस्पर्धामा छन् ।

पूर्वमाओवादी छापामार विष्ट यसअघिको चुनावमा क्षेत्र नं. १ बाटै प्रत्यक्षतर्फका उम्मेदवार थिए । कांग्रेसका टेकबहादुर सिंह पूर्वजिल्ला सचिवसमेत हुन् ।

यो क्षेत्रमा स्थानीय तहको मतका आधारमा वाम गठबन्धन र कांग्रेसको मत थोरै मात्रै तलमाथि छ । वामको १४ हजार ७३३ छ भने कांग्रेसको १४ हजार ६६७ मत रहेको छ ।

यो क्षेत्रमा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । राप्रपा र एकीकृत राप्रपा राष्ट्रवादी पनि यहाँ प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेश १ (ख): पूर्वशिक्षक भर्सेस पूर्वखेलाडी

विभिन्न ९ वटा राजनीतिक दलहरुले उम्मेदवारी दिएको यो क्षेत्रमा २९ हजार ५११ जना महिलासहित ५७ हजार २९० जना मतदाता रहेका छन् ।

यो क्षेत्रमा पनि मुख्य गरी कांग्रेस र वाम गठबन्धनवीच नै प्रतिस्पर्धा देखिन्छ । कांग्रेसका झकबहादुर डांगी र एमालेबाट खड्क खत्री उम्मेदवार छन् ।

डाँगी अवकास प्राप्त शिक्षक हुन् । शिक्षक हुँदादेखि नै नेपाल शिक्षक संघमा सक्रिय डाँगीले एमालेका खत्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

भलिबल र एथ्लेटिक्सका पूर्वराष्ट्रिय खेलाडी तथा निर्माण व्ययसायी खत्रीसँग डाँगीको प्रतिस्पर्धा कठिन हुने अनुमान धेरैको छ ।

यो क्षेत्र एमाले र माओवादी दुवैको संगठन बलियो भएको क्षेत्र हो । यहाँ स्थानीय तहको मतअनुसार एमाले र माओवादीको मत २२ हजार ७३ हजार छ भने कांग्रेसको मत १५ हजार ६४७ मात्रै छ ।

क्षेत्र नं. २:  हारमा हृयाट्रिक गरेका रावत पूर्वमन्त्री थानीसँग भिड्दै

क्षेत्र नं. २ पश्चिम सुर्खेत हो । साविकको २ र ३ नं. क्षेत्रका मुख्य भाग नै हालको २ नं. क्षेत्र बनेको छ ।

यो क्षेत्रमा साविकको २ नं. क्षेत्रको मुख्य भाग वीरेन्द्रनगर नगरपालिकाका १४ वडा गाभिएको छ भने साविकको ३ नं. क्षेत्रको लेखपराजुल गाविस हटाएर बाँकी सबै भाग यसमै राखिएको छ ।

विभिन्न १० वटा राजनीतिक दलहरुले उम्मेदवारी दिएको यो क्षेत्रमा पुराना सबैजसो दलहरुका उम्मेदवार छन् ।

नेपाल दलित पार्टी, मंगोल अर्गनाइजेशन, देशभक्त जनगणतान्त्रिक मञ्चदेखि विवेकशील साझाका समेत यो क्षेत्रमा उम्मेदवार छन् । तर, यो क्षेत्रमा राप्रपाले भने उम्मेदवारी दिएको छैन । १० दलले उम्मेदवारी दिएपनि यो क्षेत्रमा पनि वामपन्थी र कांग्रेस गठबन्धनकै प्रतिस्पर्धा छ ।

कांग्रेसबाट पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार छन् भने वामका तर्फबाट एमालेका पूर्वजिल्ला अध्यक्ष नवराज रावत उम्मेदवार छन् ।

थानीले यही क्षेत्रमा रहेको साविकको २ नं. क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् भने रावतले साविकको तीन नम्बर क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । तर, थानीले जित र हार बराबरी व्यहोरेका छन् भने रावतले हारको ह्याट्रिक नै गरेका छन् ।

सधैं हारिरहेका रावतले यसपटक आफैंलाई पराजित गरेका माओवादीका नेतालाई चुनावी कमाण्डर बनाएर थानीसँग प्रतिस्पर्धा गर्दैछन् ।

यसपटक थानी र रावत पहिलो पटक आमने-सामने हुन थालेका हुन् । थानीका पुराना प्रतिस्पर्धी यामलाल कँडेल यही क्षेत्रको प्रदेश -क) का उम्मेदवार भएपछि रावत र थानीको प्रतिस्पर्धा जुरेको हो ।

मन्त्रीसमेत भइसकेकाले थानी रावतको तुलनामा ‘हेभिवेट’ हुन् । मन्त्री हुँदा क्षेत्रमा भएका विकास निर्माणलाई आफ्नो पहलमा भएको भन्दै थानीले चुनावी प्रचार गरिरहेका छन् । रावतले गठबन्धनकै मतलाई आधार मानेर पहिलो पटक आम चुनावमा जित हात पार्ने दावी गरिरहेका छन् ।

स्थानीय तहको मतानुसार यो क्षेत्रमा वामपन्थीको मत कांग्रेसभन्दा धेरै छ । एमाले र माओवादीको मत ३५ हजार ९९९ छ भने कांग्रेसको मत २५ हजार ०१० मत छ ।

स्थानीय तहको मत र पार्टी संगठनलाई आधार बनाएर रावतले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् भने थानीले आफूले क्षेत्रको विकास गरेकाले मत पाउने आश गरेका छन् ।

जिल्लाको मुख्य भागसमेत रहेको यो क्षेत्रमा ५३ हजार ३३२ महिला र ४९ हजार ६०८ जना पुरुष गरी एक लाख दुई हजार ९४० जना मतदाता छन् ।

प्रदेश २ (क): पूर्वमन्त्री कँडेललाई रेग्मीको चुनौती

क्षेत्र नं. २ को प्रदेशसभा (क) मा प्रतिनिधिसभा सदस्यको चुनाव जस्तै प्रतिस्पर्धा हुँदैछ । १० वटा राजनीतिक दलहरुका उम्मेदवार प्रतिस्पर्धामा रहेको यो क्षेत्रमा पूर्वमन्त्री तथा मुख्यमन्त्रीका दावेदारसमेत उम्मेदवार छन् ।

मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेल वाम गठबन्धनबाट साझा उम्मेदवार छन् । कँडेलसँग कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी प्रतिस्पर्धा गर्दैछन् ।

वाम गठबन्धनका उम्मेदवार कँडेलसँग काँगेसका रेग्मी एक्लै प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा राप्रपाले समेत उम्मेदवार उठाएको छ ।

यो क्षेत्रबाट विवेकशील साझाका संयोजकसमेत रहेका बरिष्ट इञ्जिनियर ओमदत्त रेग्मी पनि उम्मेदवार छन् । उनी यसअघि कांग्रेस निकट थिए । यसले गर्दा पनि कांग्रेसका रेग्मीलाई चुनौती छ ।

कँडेल आफैंमा ‘हेभीवेट’ भएको र गठबन्धनको मतसमेत बलियो भएकाले कँडेललाई पराजित गर्न रेग्मीले ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।

स्थानीय तहको मतअनुसार यो क्षेत्रमा वाम गठबन्धनको मत १८ हजार १०१ छ भने कांग्रेसको १३ हजार ६४० मत छ ।

हाल यो क्षेत्रमा २९ हजार ८८१ जना महिला र २६ हजार ३८६ जना पुरुष गरी ५६ हजार २६७ जना मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ (ख): सुर्खेत जेल ब्रेकका कमाण्डर भर्सेस राज्यमन्त्री

क्षेत्र नं. २ को प्रदेश (ख) मा पनि चुनाव प्रतिस्पर्धा रोचक छ । यो क्षेत्रमा विभिन्न १० राजनीतिक दलहरुले उम्मेदवार उठाएका छन् ।

मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएका वाम गठबन्धन र कांग्रेसबाट दुईजना विष्टहरु प्रतिस्पर्धा गर्दैछन् ।

यो क्षेत्रमा सूचना तथा सञ्चार राज्यमन्त्री तथा कांग्रेस सुर्खेतका पूर्वसभापति तप्तबहादुर विष्ट चुनावी प्रतिस्पर्धामा छ ।

विष्ट दोस्रो संविधानसभा चुनावमा साविकको ३ नम्बर क्षेत्र (हालको यही क्षेत्र) बाट निर्वाचित सांसद हुन् ।

उनलाई वामपन्थीका साझा उम्मेदवार माओवादीका युवा नेता विन्दमान विष्टले चुनौति दिँदैछन् । विष्ट सुर्खेत जेल ब्रेकका कमाण्डर हुन् ।

अखिल क्रान्तिकारीका पूर्व महासचिव विष्ट माओवादीका पोलिटव्यूरो सदस्य समेत हुन् । बिन्दमानलाई एमालेको भर छ ।

राज्यमन्त्री विष्टले भने पार्टी संगठन र बहालवाला राज्य मन्त्री भएकोले त्यसकै आधारमा आफूलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

स्थानीय तहको मतानुसार यो क्षेत्रमा वाम गठबन्धन अगाडि छ । यहाँ वामको मत १६ हजार ८६३ छ भने कांग्रेसको १० हजार ६०५ मत मात्रै छ ।

यो क्षेत्रबाट राप्रपा र एकीकृत राप्रपा राष्ट्रवादीले समेत उम्मेदवार दिएकाले वाम गठबन्धन केही बलियो देखिएको छ । तर, स्थानीय तहकै मतका आधारमा यहाँको चुनावी प्रतिस्पर्धा आँकलन गर्न सकिने अवस्था छैन ।

अहिले यो क्षेत्रमा २३ हजार ४५१ जना महिला र २३ हजार २२२ जना पुरुष गरी ४६ हजार ६७३ जना मतदाताले मतदान गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment