Comments Add Comment

मकवानपुरमा ‘लालकिल्ला’ बनाउने र बन्न नदिने होड, कमल थापा कति सुरक्षित ?

१२ मंसिर, हेटौंडा । मतदानको मिति नजिकिँदै जाँदा मकवानपुरको चुनावी सरगर्मी पनि बढेको छ । वाम गठबन्धन प्रतिनिधिसभाको दुई र प्रदेशसभाको ४ सिट जितेर ‘लाल किल्ला’ बनाउने दाबी गरिरहेका छन् भने कांग्रेस र राप्रपा ‘लाल किल्ला’ बन्न नदिने रणनीति बुनिरहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७९९ मतदाता छन् भने १६ उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा राप्रपा अध्यक्ष कमल थापा र एमालेका कृष्ण दाहालबीच देखिएको छ । यद्यपि विवेकशील साझा पार्टीका उम्मेदवार सरोज कोइरालाले आफूलाई तेस्रो धारको उम्मेदवार भएको र त्रिपक्षीय प्रतिस्पर्धा हुने बताएका छन् ।

उपप्रधान तथा उर्जामन्त्री समेत रहेका थापालाई कांग्रेसको समर्थन छ भने दाहाललाई माओवादीको । नयाँ शक्तिले राप्रपालाई समर्थन गर्ने निर्णय गरेपछि उम्मेदवार प्रहृलाद लामिछाने भने एमालेतिर लागेका छन् ।

यो चुनावमा थापाका लागि जति प्रतिकुलता छ, उनका प्रतिस्पर्धीलाई त्यति नै अनुकुलता देखिएको छ । यद्यपि थापा ‘हेभिवेट’ उम्मेदवार भएका कारण वाम गठबन्धनले यो चुनाव सहज नभएको स्वीकार गरेको छ ।

मकवानपुर १ मा थापालाई समर्थन गरेसँगै कांग्रेस मकवानपुरमा ठूलै ‘भूकम्प’ गयो । जिल्ला सभापति इन्द्र बानियाँले यो क्षेत्र छाड्नु पर्ने भएपछि पत्रकार सम्मेलन नै गरेर थापालाई भोट नहाल्ने घोषणा गरे । तर, पार्टी केन्द्रको निर्णय परिर्वतन नभएपछि बानियाँ अर्को क्षेत्रको प्रदेशसभामा सरेका छन् । कांग्रेसमा देखिएको असन्तुष्टि विस्तारै मत्थर भएको छ । तर, अझै पनि खुलेर थापालाई भोट माग्न हिँडिरहेका छैनन् ।

थापाको अर्को चुनौती भनेको उनी आफैंले पनि आफ्नो चुनावी क्षेत्रमा समय दिन पाएका छैनन् । केही दिनको चुनावी कार्यक्रमपछि काठमाडौं आएका उनी मंगलबारमात्र जिल्ला फर्किएका छन् । यद्यपि उनको अनुपस्थितिमा भाइ गणेश थापाले चुनावी कमाण्ड सम्हालेका थिए ।

उनको अर्को चुनौती आफ्नै गृह जिल्ला भएर पनि कमजोर बन्दै गएको संगठन हो । ०६४ को पहिलो संविधानसभा चुनाव ताका त्यसबेलाका चारै क्षेत्रमा राप्रपाको भोट ७/८ हजार थियो । तर, राप्रपाका समर्थकले अप्रत्यक्ष रुपमा माओवादीलाई सघाए । त्यसपछि त्यो भोट फर्किएन र ०७० मा आइपुग्दा राप्रपाको भोट २/३ हजारमा झर्‍यो ।

बैशाख अन्तिममा भएको स्थानीय चुनावमा पनि राप्रपाले राम्रो मत पाउन सकेन । मकवानपुरका सबै स्थानीय तहमा गरी १०० वडाध्यक्ष उठाएकोमा एकजना पनि विजयी भएनन् । यद्यपि हेटौडा उपमहानगरका मेयरका साथै बकैया र बाग्मती गाउँपालिकाका अध्यक्ष उम्मेदवारले सम्माजनक मत पाएका थिए । वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा यो क्षेत्रमा राप्रपाको मत ९ हजार ८९२ छ ।

जबकि एमालेको मत २७ हजार १४३ छ भने माओवादी केन्द्रको १४ हजार ५८७ । कमल थापालाई समर्थन गरेको कांग्रेसको मत २३ हजार ५४८ छ । यसरी हेर्दा थापाले कांग्रेसको सबै मत पाएर मात्र पुग्दैन, वाम गठबन्धनमा देखिएको असन्तुष्टिलाई क्यास गर्दै भोट तान्न सक्नुपर्छ ।

तर, वाम गठबन्धनबाट थापालाई भोट जाने सम्भावना न्यून रहेको नेताहरुको दाबी छ । मकवानपुरका एमाले हुन् वा माओवादी, दुबै एन्टी कांग्रेस होइन कि एन्टी कमल थापा सेन्टिमेन्टमा हुर्किएका छन् ।

थुप्रै प्रतिकुलताका बीच थापाका लागि अनुकुलता के हो भने उनी राष्ट्रिय राजनीतिका एक खेलाडी हुन् । वाम गठबन्धनका उम्मेदवार पुरानै प्रतिस्पर्धी हुन् । ०४८ देखि ०५६ सम्म थापा र दाहाल भिडेका थिए । ०४८ मा थापालाई हराएका दाहाल ०५१ मा हारे । तर, ०५६ मा फेरि थापालाई नै हराएर सांसद बनेका थिए । अब १८ वर्षपछि फेरि प्रतिस्पर्धा हुँदैछ ।

थापाको तुलनामा दाहालका अनुकुलता धेरै छन् । स्थानीय तहको मत परिणाम, बलियो संगठन, माओवादीको साथ र एन्टी कमल थापा सेन्टिमेन्ट सबै उनका अनुकुलता हुन् । यसका बाबजुद थापा राजनीतिक खेलाडी हुन् र राष्ट्रिय स्तरमा उनको तुलानामा थापाको सहज पहुँच हुनेछ ।

थापाको अनुकुलता धेरै रहेको स्वीकार गर्दै राप्रपाका एक नेता भन्छन्, ‘हामीलाई थाहा छ कि कांग्रेसको भोट आएर मात्र पुग्दैन । तर, अहिले जुनखालको माहोल बन्दै गएको छ, यसलाई कायम राखे जित्न सक्छौं ।’

एमाले जिल्ला अध्यक्ष मनु सिग्देल भने वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्छिन् । ‘मकवानपुर लालकिल्ला बन्नेमा अब कुनै शंका छैन’ उनले भनिन्, ‘हाम्रो प्रयास मतान्तर ठूलो बनाउनेमा केन्दि्रत छ ।’

मकवानपुर १ को प्रदेशसभातर्फ क मा कांग्रेसका धर्मराज लामिछाने, माओवादीका प्रेमबहादुर पुलामीसहित १२ उम्मेदवार छन् भने खमा कांग्रेसका अशोकराज शाक्य र एमालेका डोरमणि पौडेलसहित ११ उम्मेदवार छन् ।

मकवानपुर २ मा १ लाख ३० हजार ८०४ मतदाता छन् भने ११ उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र एमालेका विरोध खतिवडाबीच हुने देखिन्छ । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा पनि एमाले माओवादी गठबन्धन नै बलियो छ ।

वडाध्यक्षको मतका आधारमा हेर्दा कांग्रेसको २४ हजार १७४ र राप्रपाको ५ हजार ८९८ मत छ । जबकि एमाले एक्लैको २९ हजार ६०८ मत छ भने माओवादीको १८ हजार ९३९ छ । तर, प्रदेशसभातर्फ पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ उम्मेदवार भएकाले डिनालाई केही सजिलो भएको छ ।

दोस्रो संविधानसभामा एमालेले तीन क्षेत्र जिल्ला बानियाँ कांग्रेसबाट चुनिएका थिए । उनी जिल्ला सभापति पनि हुन् । यो क्षेत्रमा पर्ने थाहा नगरपालिकाको वामपन्थी मत आफूतिर तान्न सके चुनाव जित्ने कांग्रेसको आंकलन छ, जुन सजिलो भने छैन ।

प्रदेशसभातर्फ कमा कांग्रेसका यतिराज सापकोटा र वाम गठबन्धनका तर्फबाट माओवादीका कुमारी मोक्तानसहित १० तथा खमा कांग्रेसका बानियाँ र एमालेका राजाराम स्याङ्तानसहित ८ उम्मेदवार चुनावी मैदानमा छन् । कुमारी र राजाराम दुबै पूर्वसभासद हुन् ।

यो पनि पढ्नुस्

१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment