Comments Add Comment

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

'घरदैलो गर्न सम्भव छैन, विकास गर्न मैले मन्त्री हुनै पर्दैन'

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ ।

मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो रहनु स्वाभाविकै हो ।

कैलालीमा अहिले कांग्रेस नेतृ आरजुको चुनावी अभियान कसरी चलिरहेको छ र उनले के-कस्ता चुनावी मुद्दा अघि सारेकी छिन् भन्नेबारे अनलाइनखबरकर्मी उपेन्द्र पोखरेलले गरेको कुराकानीको सारसंक्षेपः

प्रचार प्रसारका क्रममा मतदाताको रेस्पोन्स कस्तो पाइरहनुभएको छ ?

सकारात्मक रेस्पोन्स पाइरहेकी छु । पहिलो त कांग्रेसको संगठन पनि छ । मेरा बारेमा जिज्ञासाका कारण पनि मानिसहरु आएको जस्तो लाग्यो ।

चुनाव जितिन्छ त ?

जितिन्छ जस्तो लाग्छ ।

तर, तपाईं हार्नुहुन्छ भन्छन् नि ?

चुनाव हो, शतप्रतिशत जितिन्छ त कसरी भन्न सकिन्छ र ? आफ्नोतर्फबाट कोशिस गर्ने हो । कोशिस गरिरहेकी छु । हार्ड वर्क हो, हेरौं ।

चुनाव जित्ने आधारचाहिँ के के हुन् नि ?

म हार्ड वर्क गर्छु । मेरो विगतको रेकर्ड पनि त्यही छ । सुदूरपश्चिममा कसैले विकास गरेको छ भने त्यो कांग्रेस र शेरबहादुर देउवाले गर्नुभएको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरमा विगतमा मैले गरेका विकास प्रयास हेर्दा हुन्छ । । कर्णाली चिसापानीको पुलदेखि पश्चिमको राजमार्ग र २२ वटा पुल शेरबहादुर देउवाले नै निर्माण गर्नुभएको हो ।

कर्णाली पुलसँग त्यसदेखि पश्चिमको भूगोल जोड्नुभएको उहाँले नै हो । त्यसपछि ठूलो विकास यहाँ भएकै छैन ।

बल्ल अहिले शेरबहादुरजी नै प्रधानमन्त्री हुँदा पश्चिम सेती निर्माणको सम्झौता भयो । अगस्टमा भारत भ्रमणमा जाँदा गौरीफण्टा नाकाको स्तरोन्नतिको सहमति भएको छ । त्यसबाहेक पञ्चेश्वर परियोजना, दोधरा-चाँदनीको सुख्खा बन्दरगाह र कैलालीमा एउटा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने सहमति भएको छ, भारतसँग । ती सबै प्राथमिकताका साथ अगाडि बढेका छन् ।

पोलिटेक्निक त उहाँ तेस्रो पटक प्रधानमन्त्री हुँदा नै उठान भएको विषय हो । तर, त्यसपछि बनेका एमालेका सरकारहरुले कहिले मकवानपुर, कहिले मोरङ पुर्‍याए, पोलिटेक्निक इन्स्टिच्युट । त्यसैले, सुदूरपश्चिममा आएर भोट माग्ने एमालेको अधिकार के हो ? सरकारमा हुँदा सुदूरपश्चिममा केही सिन्को नभाँच्ने, अनि अहिले भोटमात्रै माग्ने ? त्यसैले मैले मेरा मतदातालाई भोट हाल्नुअघि एकपटक विचार गरेर हाल्नुस् भनेर अनुरोध गर्ने गरेकी छु ।

तपाईं ठूला योजनाका कुरा मात्र गर्नु हुन्छ रे । मानिसका सानातिना आवश्यकतामा ध्यान दिनुभएको छैन रे नि ?

सानातिना आवश्यकता पूरा गर्ने काम अहिले नगरपालिकाले गरिरहेको छ त । मेरा सबै आमसभामा नगर प्रमुख र उपप्रमुख जानु नै भएको छ । दुवै कांग्रेसकै हुनुहुन्छ । मैले सानातिना मुद्दालाई सम्बोधन गरिरहनुपरेकै छैन ।

अहिलेको संविधान मानिसले पढ्नु एकदमै जरुरी छ । स्थानीय तहका सडक, ढल, बिजुली, महिलाले माग गर्ने सीप विकासको काम सबै नगरपालिकाको जिम्मा छ अहिले । अहिले सरकार तीन तहको हुन्छ । र, ती सबैको अलग-अलग भूमिका रहेको धेरैजनाले नबुझेजस्तो लाग्छ ।

सघन शहरी विकास आयोजनाले धनगढी नगरपालिकाभित्रको एक सय किलोमिटर सडक निर्माण गरेको छ । ३८ किमी सडकका लागि एसियाली विकास बैंक (एडीबी) को लगानी आएको छ । र, त्यसका लागि सहजीकरणको भूमिका मैले नै निर्वाह गरेकी हुँ ।

यसभन्दा अगाडिको सरकारले सघन शहरी विकासको योजना रोकेको रहेछ । त्यसलाई खुलाउने काम मैले नै गरेकी हुँ । नगरमा ट्रान्सफरमरहरुको समस्या रहेछ । त्यसलाई पनि सहजीकरण गरेकी छु ।

मैले एक सांसदका हैसियतले केन्द्रीय सरकारको शैली अपनाएकी हुँ । ठूला काम सबै अहिले पनि केन्द्र सरकारबाटै हुन्छ । नगरपालिकाका काममा बजेट लगायतका लागि पहल म गर्न सक्छु ।

कनेक्टिभिटी र चुरे दक्षिणको इलाकामा भइरहेको मरुभूमीकरणका लागि तपाईंका एजेन्डा के छन् ?

दक्षिणी भेगको कनेक्टिभिटीको काम त हुलाकी सडकले गर्छ । हुलाकी सडकको काम टेन्डर भएर यसअघि नै शुरु भइसकेको छ । मेरो माइतीको गाउँ बर्दिया पनि त्यसैबाट जोडिन्छ, धनगढीसँग । मेरै जमिनबाट जान्छ, हुलाकी सडक ।

यसअघिको सरकारमा रमेश लेखकजी निर्माण तथा यातायात मन्त्री हुनु हुन्थ्यो । उहाँकै पालामा अड्केर बसेको हुलाकी सडकको काम अगाडि बढाइएको हो । भारतबाट नभएपछि नेपाल आफैंले बनाउने निर्णय त्यतिबेलै भएको हो ।

चुरेको क्षेत्रमा मेरो निर्वाचन क्षेत्र पर्दैन । तथापि, यहाँ पनि मरुभूमिकरण भइरहेको छ । हामी फ्लड रेञ्जमा बसेका छौं ।

धनगढी उपमहानगरमा जमीनको वितरणको मुद्दा छ । र, फ्लड रेञ्जमा भएको भएर ढल निकासको पनि मुद्दा छ । अहिलेसम्म यहाँ खण्ड-खण्डमा मात्र विकास भएको रहेछ । होलिस्टिक विकासचाहीँ यहाँ भएको रहेनछ । होलिस्टिक विकासको दृष्टिबाट हेर्ने हो भने चुरे मात्र होइन, महाभारतबाट बग्ने नदी, नालाको व्यवस्थापन नगरी यहाँको दिगो विकास सम्भव देखिनँ मैले ।

तपाईको चुनाव प्रचारमा कुन पक्षमा मिहेनत नपुगिरहे जस्तो लाग्छ, अहिलेसम्म ?

मैले सबैसँग पहुँच बढाएकी छु । सबै व्यवसायिक संघसंस्थासँग अन्तक्रिर्या गरिरहेकी छु । बुद्धिजीवी, विभिन्न धार्मिक समुदायसँग पनि भेटघाट गरिरहेकी छु ।

तपाईले घरदैलोचाहिँ किन नगर्नुभएको नि ?

घरदैलो गर्न सम्भव छैन । यहाँ यति ठूलो भूगोल र जनसंख्या छ, वडा-वडा जानलाई नै सम्भव छैन । अझै दुईवटा वडा बाँकी छन् । पहिलेजस्तो छैन, अहिले एउटा वडा सिंगै गाविस हो । अहिलेका कुनै पनि निर्वाचन क्षेत्रमा घरदैलोमा जान सम्भव छैन ।

दलित, कमैया, राना थारु बस्तीहरुमा भने गइरहेकै छु । जनसंख्याको आकारका आधारमा सबै बस्तीमा कोणसभा र आमसभा गरिरहेकै छु । पूर्वी क्षेत्रमा त ३/४ चोटि गइसकें । त्यो धेरै ठूलो क्षेत्र छ । घरदैलो त वडाध्यक्ष लड्नेले पनि गर्न पनि गाह्रो छ अहिले ।

प्रतिद्वन्द्वीहरु कत्तिको बलिया लागेका छन् ?

वाम गठबन्धन छ । विवेकशील साझा पनि छ । विवेकशील साझाले कसको भोट काट्छन् भन्ने थाहा छैन । तर, उहाँहरुले संविधान पढ्नुभएको भए चुनावमा आउनु नै हुने थिएन । पार्टी दर्ता गर्नै उहाँहरुले हतार गर्नुभएजस्तो लाग्यो ।

तर, तपाईंकै क्षेत्रमा विवेकशील साझा पार्टीका नेता/कार्यकर्तामध्ये अधिकांश पूर्वकांग्रेसी रहेछन् नि ? तपाईंले उनीहरुलाई सम्बोधन गर्न नसक्नुभएको हो कि ?

कांग्रेस भन्दैमा सबैले मलाई भोट हाल्छन् भन्ने छैन । यहाँ ३६४ दिन कांग्रेस भएर खाने, अनि तीन सय ६५ औं दिनमा भोट हाल्नुपर्दा कांग्रेस नबन्ने पनि छन् । ती मानिसलाई म कांग्रेस भन्न चाहन्न । उनीहरु अवसरवादी हुन् ।

जो अवसरवादी छन्, उनीहरुले मलाई भोट दिँदैनन् । तिनले ठूलो परिदृष्य, यहाँको विकास र वाम गठबन्धनसँगको हाम्रो प्रतिस्पर्धा हेर्दैनन् । व्यक्तिवादी हुन् उनीहरु र अवसरवादी हुन् ।

आरजु राणालाई सानो घेराले छेकेर राखेको छ भन्ने आरोप पनि छ नि ?

प्रतिद्वन्द्वहरुले अरु केही भन्न पाएनन् । एकजनाले टुरिस्ट भने । एउटा घर पनि म यहाँ किन्ने क्रममा छु । म टुरिस्ट होइन भनेर सबैले भन्न थालेका छन् । मैले पासपोर्ट पनि बेचेकी छैन । न त अनैतिक कामहरु गरेकी छु । अब केही नपाएपछि ‘घेराबन्दीमा छ’ भन्न थालेका छन् ।

पार्टीका मुख्य आयोजकहरु मसँग हिँड्नुपर्‍यो । मेयर, उपमेयर, महिला संघलगायत संगठनका मुख्य मानिसहरु त हिँड्नु पर्‍यो । त्यसलाई घेराबन्दी कसरी भन्ने ? कतिजना त नियमित रुपमा हिँड्न पनि छाडेका छन्, त्यही आरोपबाट मलाई मुक्त गर्न । उनीहरु आ-आफ्ना वडामा घरदैलोमा लागेका छन् ।

तर, घेराबन्दीमा भएँ र मानिसले भेट्नै पाएनन् भन्नेचाहिँ वाहियात कुरा हो । म बिहानदेखि रातिसम्म नयाँ मानिसहरुसँग भेट्न नै व्यस्त छु ।

सुदूरपश्चिमको कुरा गर्दा क्लस्टर र सेन्टिमेन्टको भोट निणर्ायक हुने गर्छ । त्यस्तो भोट कसरी आकर्षित गरिरहनुभएको छ ?

यसमा मेरो सोझो रणनीति छ । सीधा उनीहरुलाई नै भेट्ने । सबै सेन्टिमेन्टका मानिसलाई मलाई चिन्नुभएको छ । पार्टीले पनि यसमा सन्तुलन गर्न खोजेको छ ।

जस्तो- म डडेलधुरा सेन्टिमेन्टकी मानिस हुँ । प्रदेशसभाका उम्मेदवार डिल्लीराज पन्त डोटी सेन्टिमेन्टको हुनुहुन्छ । जीवन राना अर्को प्रदेशसभामा हुनुहुन्छ । उहाँ राना थारु सेन्टिमेन्ट र महिला पनि हुनुहुन्छ । समानुपातिक रैटाजी दलितबाट हुनुहुन्छ । समानुपातिककै गौरी लामा जनजाति हुनुहुन्छ । समानुपातिककै बुद्धि चौधरी थारु समुदायबाट हुनुहुन्छ । समानुपातिककै दिव्येश्वरी शाह यहाँकी पुरानो कांग्रेस हुनुहुन्छ ।

सातजनाको हाम्रो टोलीले सबै सेन्टिमेन्टको प्रतिनिधित्व गर्छ । डडेलधुरा र डोटी यहाँको पुरानो सेटलमेन्ट हो । त्यो समीकरण मिलाएको छ, पार्टीले ।

अछामको समुदायलाई पनि मैले भेटें । बैतडी र दार्चुलाको समुदायसँग पनि कुराकानी भइरहेको छ ।

मेरो नातागोता पनि ठूलो छ यहाँ । शेरबहादुरजीतिर मात्रै होइन, मेरो माइतीका नातागोता पनि यहाँ धेरै हुनुहुन्छ ।

राणाजीहरुले पहिल्यैदेखि सुदूरपश्चिमको ठकुरीहरुसँग विवाह गर्थे । पहिले त डोलाइँ पार्ने चलन पनि थियो । धेरै फूपा, भेना, दाजु, ज्वाइँ नाता पर्नेहरु धेरै हुनुहुन्छ । नातागोता नलाग्ने त इलाका नै छैन यहाँ ।

धर्मको एउटा सञ्जाल भएजस्तै नातागोता पनि ठूलै सञ्जाल हो । सामाजिक नेटवर्क पनि राम्रो छ मेरो यहाँ । मैले भनेको सुन्छ र मेरो काम गरिदिन्छ भन्नेलाई नै मानिसले भोट दिने हो ।

यहाँ हिन्दुराष्ट्र पक्षधरको गतिविधि पनि रहेछ । उनीहरु कसको पक्षमा छन् ?

पार्टी र संविधानमा जे छ, मेरो सोच त्यही हो । म पूर्ण हिन्दु हुँ । बिहान उठेर पूजापाठ गर्छु । गौराको पूजा गर्छु । नवरात्र, कृष्ण अस्टमी, राम नवमी मनाउँछु । यो मेरो आफ्नो धर्म हो ।

तर, त्यसो भन्दैमा अरुको धार्मिक अभ्यास गर्न पाइँदैन भन्ने पक्षको म होइन । तर, जबर्जस्ती धर्मान्तरण गर्न पाइँदैन भन्छु । धर्मनिरपेक्षताको अर्थ जबर्जस्ती धर्मान्तरण होइन । सबैले आ-आफ्नो धर्म मान्न पाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

मतदाताले तपाईंसँग के अपेक्षा राखेको पाउनुहुन्छ ?

धेरै अपेक्षा विकाससँग सम्बन्धित छ । मैले केही गरिदिने खास अपेक्षा छ महिलाहरुमा । म महिलावादी हुँ र महिलाको हक, अधिकारका लागि लडेकी पनि छु ।

तपाईंको क्षेत्रमा महिलाको भोट कति छ ?

५१ प्रतिशत त महिला नै छन् । महिलाले मलाई राम्रै मत दिन्छन् भन्ने आशा छ । मेरो कार्यक्रममा बहुसंख्यक महिला नै हुन्छन् । म तीन दशकदेखि मैले महिलासँगै काम गरेकी छु । स्वदेश/विदेश दुवैतिर मेरो पहिचान महिला अधिकारवादीको हो । नागरिकता, सम्पत्तिमा अधिकार र प्रजनन स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेकी छु । म यसमा ‘की रोल’मा छु । हाम्रा अधिकार खोसिने बेलामा मैले निर्वाह गरेको भूमिकालाई मानिसले सम्मान पनि गर्छन् । यस भूमिकामा म अझ अगाडि बढ्नेछु ।

तपाईका अरु एजेन्डा के के छन् ?

यहाँको गरिबी नेपालको औसतभन्दा दोब्बर छ । कर्णालीमा जस्तै हामीलाई पनि यहाँ विशेष हैसियत दिनुपर्छ । कणर्ालीमा भन्दा छिटो हामी गरिबी निवारण गर्न सक्छौं । भारतसँगको नाकामा छौं । उत्पादनशीलता र कनेक्टिभिटी छ । मानिसहरु कडा परिश्रम गर्छन् ।

र, यहाँ खेतीयोग्य जमिन पनि प्रशस्त छ । पहाडदेखि समथर भूभागसम्म राम्रो डाइभर्सिटी छ । थुप्रै जंगल क्षेत्र र जलविद्युतको प्रचुर सम्भावना छ । हामीलाई विशेष हैसियत राज्यले दियो भने सुदूरपश्चिम मात्र होइन, पूरै नेपालकै मुहार फेर्न सक्छौं हामी ।

विशेष हैसियत भनेको के हो ?

कुनै उद्योग स्थापना गर्न दिनुपर्छ । त्यसका लागि कर छुट दिने । जलविद्युत स्थापना गर्न करमा सहुलियत दिने । महिलाका नाममा जग्गा दर्ता गर्दा १० प्रतिशत कर छुट दिएजस्तै । त्यसका लागि यो ठाउँ उपयुक्त हो । किनभने, यहाँका मानिस अनुशासित पनि छन् । यहाँ भ्रष्टाचारको ठूलो समस्या पनि छैन । कडा परिश्रम गर्ने मानिस पनि छन् यहाँ ।

यसअघि प्रधानमन्त्री नहुँदा पनि शेरबहादुरजी महाकालीमा २/३ वटा पुल बनाउन लगाउनु भएको थियो । यसले नेपाल र भारतको कनेक्टिभिटी धेरै बढ्छ । र, यो क्षेत्र भारतका मुख्य-मुख्य शहरहरुबाट नजिक पनि छ । भारतका नेसनल क्यापिटल रिजन हरियाणा, नोयडा र दिल्लीसँग हामी धेरै नजिक छौं । र, नजिकै रहेको लखनऊ पनि ठूलो शहर हो ।

धनगढी विमानस्थलमा फेब्रुअरी १ देखि रात्री उडान शुरु गर्दैछौं । यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अनुमति मागिसकेका छौं । पूर्वतिर यसलाई विस्तार गर्न सकिन्छ ।

आगामी सरकार वाम गठबन्धनको बन्ला जस्तो छ, तपाईं मन्त्री पनि बन्नुहुन्न । अनि तपाईंलाई मतदाताले किन भोट दिने ?

मैले यहाँको विकास गर्न मन्त्री बन्नै पर्दैन । मन्त्री हुँदा एउटा मन्त्रालयको मात्र काम हुन्छ । मन्त्री नबनी ‘इन्फ्लुएन्स’ र राम्रो नेटवर्क बनायो भने सबै मन्त्रालयको काम लिन सक्छु ।

यहाँ धेरै राम्रा कलेज छन्, तिनीहरुलाई अझ राम्रो बनाउने मेरो प्रयास छ । सुदूरपश्चिम विश्वविद्यालयको ४४४ वटा दरबन्दी यही सरकारले पारित गरेको हो । अब १५ वटा आंगिक क्याम्पस हुन्छन् ।

निजी क्षेत्रको एउटा भूमिका हुन्छ । तर, अहिले शुरु हुन लागेको सार्वजनिक क्षेत्रको भूमिका अझ राम्रो भएर जानेछ । २२ महिनामा मेडिकल कलेज तयार हुनेछ । यहाँको अस्पताललाई तीन सय शैय्याको बनाउने लक्ष्य छ । मेडिकल कलेजको आधारभूत उपचार त्यहीँ हुन्छ । विस्तारै धनगढीलाई मेडिकल हब बनाउने लक्ष्य छ ।

यो पनि पढ्नुस्

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment