Comments Add Comment

कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्

१४ मंसिर, धनगढी । काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको जति चर्चा छ, त्यस्तै चर्चा कैलालीको क्षेत्र नम्बर ५ मा पनि रहेछ । यहाँ विवेकशील साझा पार्टीबाट दिनेश भण्डारीको उम्मेदवारी परेको छ । र, उनले कांग्रेस नेतृ आरजू राणाका साथै एमाले नेता नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दैछन् ।

कैलाली क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका सबै वडाहरु समेटिएका छन् । गत स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेको यस उपमहानगरपालिकामा विवेकशील साझा पार्टीका उम्मदेवार गोपाल हमाल दोस्रो स्थानमा आएका थिए भने एमाले तेस्रो र माओवादी चौथो स्थानमा खुम्चिएका थिए ।

कैलाली ५ मा धनगढी उपमहानरसँगै कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ नम्बर वडाहरु पनि समेटिएका छन् । यीमध्ये वडा नम्बर ६ मा कांग्रेसले जितेको थियो भने ९ मा स्वतन्त्रले जितेको थियो । यहाँ नयाँशक्तिको पनि राम्रो मत आएको थियो ।

स्थानीय चुनावमा धनगढी नगरपालिकामा कांग्रेसका मेयर नृपबहादुर बडले १४ हजार ३२४ मत पाएर जितेका थिए भने दोस्रो स्थानमा आएका विवेकशील साझा पार्टीका हमालले ११ हजार ५२७ मत पाएका थिए । एमालेका रामसमझ रानाले १० हजार २०९ मत पाएका थिए भने माओवादीका मेयर उम्मेदवारले ९ हजार ९४६ र राप्रपाले ८२९ मत पाएका थिए ।

स्थानीय चुनावको मत जोड्दा एमाले र माओवादीको बढी नै देखिए पनि विवेकशील साझा पार्टीका उम्मेदवार दिनेश भण्डारीले संसदीय चुनावमा आरजु राणा र नारदमुनि रानालाई हराउने दाबी गरे ।

भण्डारीले अनलाइनखबरसँगको अन्तरवार्तामा भने- ‘हामी परीक्षण भइसकेका सफल व्यक्ति हौं । उहाँहरु परीक्षण भएका असफल व्यक्तिहरु हुनुहुन्छ । सफल र असफल व्यक्तिहरुबीच कुनै प्रतिस्पर्धा हुन्छजस्तो लाग्दैन ।’

विवेकशील साझाबारे आरजु र नारदमुनिको टिप्पणी

छुट्टाछुट्टै अन्तरवार्ताका क्रममा हामीले आरजू राणा र नारदमुनि रानालाई पनि कैलाली ५ मा विवेकशील साझा पार्टीको अवस्थाबारे सोधेका थियौं ।

कांग्रेस उम्मेदवार आरजु राणाले विवेकशील साझा पार्टीबारे छोटो प्रतिक्रिया दिँदै भनिन्- ‘विवेकशील साझाले कसको भोट काट्छ भन्ने थाहा छैन । तर, उहाँहरुले संविधान पढ्नुभएको भए चुनावमा आउनु नै हुने थिएन । पार्टी दर्ता गर्नै उहाँहरुले हतार गर्नुभएजस्तो लाग्यो ।’
त्यसैगरी भण्डारीका अर्का प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले विवेकशील साझाबारे यस्तो प्रतिक्रिया दिए-

‘विवेकशील साझा पार्टीले कांग्रेस र एमाले-माओवादीका केही मत लैजाला । तर, त्यसको खासै असर पर्दैन । स्थानीय तहमा गोपी हमाल लोकपि्रय हुनुभएकाले राम्रो मत ल्याएका थिए । संसदीय राजनीतिमा पार्टी राजनीति प्रधान हो । हमाल विवेकशीलबाट नभई स्वतन्त्र हैसियतमा चुनाव लडेका थिए । अहिले यस क्षेत्रमा विवेकशीलका उम्मेदवार नभइदिएका भए उनलाई खस्ने मत कांग्रेस या वाम गठबन्धनमा आउने निश्चित थियो । उम्मेदवार भएकाले केही मत त ल्याउलान्, दिनेश भण्डारीले । तर, त्यसले खासै असर पार्दैन ।’

कैलाली ५ को अवस्थाबारे हामीले विवेकशील साझा पार्टीका उम्मेदवार एवं व्यवसायी दिनेश भण्डारीसँग विस्तृत कुराकानी गर्‍यौंः

तपाईले कैलाली ५ मा किन उम्मेदवारी दिनुभएको ? पैसा खर्च गर्न कि अरुको भोट काट्न ?

यो क्षेत्रको समृद्धि र विकासका लागि उम्मेदवारी दिएका हौं । भ्रष्टाचार शून्यमा झार्नका लागि हाम्रो उम्मेदवारी हो । हामी एक पैसा पनि खर्च नगरी यो देशको राजनीतिक कोर्ष परिवर्तन गर्न चाहन्छौं । अरु दलले समृद्धि ल्याउलान् जस्तो हामीलाई लागेन । धेरै पटक राज्यव्यवस्था परिवर्तन भयो । तर, जनताको अवस्था कहिल्यै परिवर्तन भएन । मानिसले सन्तानको घाँटी थिच्दै आत्महत्या गर्नुपर्ने अवस्था आयो । छोराछोरीसहित आमाहरु भीरबाट हामफालेर आत्महत्या गरेको पनि हामीले देख्यौं ।

यो क्षेत्रका हामी जिम्मेवार व्यक्ति हौं । लामो समयदेखि यस क्षेत्रमा सामाजिक आन्दोलन गरेका छौं । १२ वर्षदेखि सुदूरपश्चिमका माग सम्बोधन गरिदिनुपर्‍यो भनेर यस क्षेत्रबाट प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवासँग माग गरेका थियौं । १२ वर्षमा पनि खोलो फर्केन ।

प्राकृतिक स्रोत, साधनबाट भरपुर क्षेत्र हुँदाहुँदै पनि मुलुकका अन्य क्षेत्रभन्दा दोब्बर गरिबी छ । १८ घण्टा काम गर्न सक्ने युवाले खाडी देशलाई हरिया बनाइरहेका छन्, हाम्रा डाँडाकाँडा भने उजाड बन्दै गएका छन् । यो अवस्था चिर्नका लागि आएका हौं हामी ।

चुनाव जित्नुहुन्छ त ?

जित्ने सम्भावना प्रबल छ । विकास र समृद्धि सबैलाई चाहिएको छ । हाम्रा पक्षमा युवाको लहर देखिएकाले शतप्रतिशत जित सुनिश्चित छ ।

डा. बाबुराम भट्टराईजस्ता ठूला नेता त नयाँ शक्ति बनाउन सकेका छैनन् तपाईंहरु नयाँ पार्टी खोलेर कसरी सफल हुनुहोला र ?

उहाँहरु व्यक्तिगत अवसरका लागि राजनीति गरिरहनुभएको छ । हामी देशमा समृद्धि चाहन्छौं । अर्को पार्टीले समृद्धिको कोर्ष लिइदिएको भए हाम्रो आवश्यकता थिएन । हामी पूर्णरुपमा व्यवसाय गरेर बसेका मान्छे । म गरिबीबाट हुर्केको मान्छे हुँ ।

हामीजस्तै देशहरुले विगत २५ वर्षमा धेरै ठूलो फड्को मारिसकेका छन् । तिनै देश अहिले हाम्रा युवाको रोजगारीको उत्कृष्ट गन्तव्य भएका छन् । ८/१० वर्षमा देशमा ठूलो फड्को मारेर युवालाई आफ्नै देशमा सिञ्चित गर्न लगाउने हाम्रो योजना छ ।

तपाईंलाई कुन वर्ग को भोट आउला ?

त्यस्तो वर्ग कुनै छैन । समृद्धिका लागि आतुर जनताले हामीलाई भोट दिनेछन् । अब आर्थिक विकासको एजेन्डा मात्र बाँकी छ अब । त्यसका लागि हाम्रा नेताहरुसँग कुनै भिजन छैन । उहाँहरु आन्दोलन गर्न सक्नु हुन्छ । लोकतन्त्र ल्याउनु भएकामा हामी धन्यवाद दिन चाहन्छौं ।

शेरबहादुर देउवाले रेणु दाहाललाई जिताउँछन् र प्रचण्डले रुखमा भोट हाल भन्छन् । यदि त्यसै गर्नु थियो भने किन १७ हजारलाई बलिदान गर्न लगाइयो ? किन टाउकोको मोल तोकिएको थियो ? अब जनता त्यसको औचित्य पुष्टि भएको हेर्न चाहन्छन् ।

चूडामणि शर्माले तीन हजार करोड र गोपाल खड्काले डेढ सय करोड भ्रष्टाचार गरे । तर, गरिबका पक्षमा बोल्ने डा. गोविन्द केसीजस्ता मानिस जिउँदो लास बन्न बाध्य भएका छन् । सुशीला कार्कीजस्ता व्यक्तित्वमाथि महाभियोग लगाइन्छ ।

यो देशले मन्त्रीलाई नै बेरोजगार बनाएको छ । १६ जना एआईजी छन्, तर, ठाउँ-ठाउँमा बम पड्किएको पड्किएकै छ । पैसा हुने नेताहरु हेलिकोप्टर चढेर भोट माग्न आउँछन् । पैसा नहुनेहरु गाडीमा हुइँकिन्छन् ।

०४८ सालमा यस्तै चर्का कुरा गर्थे अहिलेका नेताले । दिनेश भण्डारी पनि त्यस्तै नेता हुन् कि ?

हामीले आफूलाई प्रमाणित गरेर देखाएका छौं । कुनै पनि काम गर्नका लागि इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति एट्याचमेन्टबाट आउँछ । तपाईंका छोराछोरी भोकै छन् भने तपाईं १८ घण्टा पनि काम गर्नुहुन्छ । यो इच्छाशक्ति अपनत्वले आउँछ । त्यो अपनत्व हामीसँग छ । किनभने यही नै हाम्रो जन्म, कर्म र अन्तिम सास फेर्ने थलो हो ।

कृषि बजार सूचना प्रणाली हामीले स्थापना गरेका हौं । हाम्रो व्यक्तिगत पहलमा भएको हो त्यो । एक दिनको श्रम विमानस्थललाई भनेर विमानस्थल बनायौं । २/४ जनाको पहलमा विमानस्थल बनाउन सक्छौं भने हामीले पद प्राप्त गर्‍यौं भने के-के गर्न सक्छौं होला ।

राजनीतिक पेशा या लगानी गर्ने ठाउँ होइन । यो त्याग गर्ने ठाउँ हो ।

कुन कुन सेन्टिमेन्टबाट भोट प्राप्त गर्ने ठान्नुभएको छ ?

हाम्रो सेन्टिमेन्ट भनेको विकास र समृद्धि हो । विकास नहुँदा आउने हुन् सेन्टिमेन्टका कुरा ।

के हो यो विकास र समृद्धि भनेको ?

कौडीको भाउमा बिक्री हुन नसकेका प्राकृतिक स्रोत, साधनको परिचालनबाट प्राप्त हुने हो विकास र समृद्धि । पर्यटन विकास पनि त्यसको एउटा माध्यम हो ।

कणर्ाली किनारमा सरकारले जग्गा दियो भने १० वटा सुविधा सम्पन्न रिसोर्ट खोल्न सकिन्छ । र, उत्तरप्रदेशको २२ करोड जनसंख्यालाई आकषिर्त गर्न सकिन्छ । सुदूरपश्चिममा नैनीताल, मसुरीभन्दा राम्रा गन्तव्य छन् । कैलालीमा एक सय ९३ वटा प्राकृतिक तालहरु छन् । तर, हामी अर्बौं रुपैयाँको माछा भारतबाट आयात गर्छौं ।

नेपालमा २० हजार टनभन्दा बढी महको खपत छ । उत्पादन आधा पनि छैन । कैलाली त्यस्तो सम्भावना भएको जिल्ला हो । यसलाई हामी अवसरमा बदल्न सक्छौं । अर्गानिक फार्मिङ गरेर विश्व बजारमा बिक्री गर्न सक्छौं ।

वाम गठबन्धनका एक स्थानीय उम्मेदवारले दुई वर्षमा धनगढीलाई दक्षिण एशियाको व्यापारिक केन्द्र बनाउँछु भन्दै थिए । त्यो हावादारी गफ हो । वाम गठबन्धनको घोषणा पत्रमा पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच लाख बनाउने उल्लेख छ । जुन देशका पाँच लाख युवा हरेक वर्ष बिदेसिन बाध्य छन्, त्यसवापत लासका बाकस हामी आयात गरिरहेका छौं । यही तरिकाले प्रतिव्यक्ति आय पाँच लाख बनाउने हो ? २५ वर्ष अगाडि उहाँहरुका घोषणा पत्र जे थिए, आज पनि त्यही छन् । वाम गठबन्धन कृषि क्रान्ति, पर्यटन विकास र रोजगारी सिर्जनाका लागि भइदिएको भए हामी सलाम गर्थ्याैं । तर, व्यक्तिलाई चुनाव जिताउने लक्ष्य मात्र छ, त्यस्तो गठबन्धनको ।

तपाईंलेचाहिं किन नगर्नुभएको नि अहिलेसम्म ? तालमा माछा किन नपाल्नुभएको ? अनि कर्णालीमा रिसोर्ट किन नखोलेको ?

मैले गरेको छु । मैले जीर्ण रहेको झपट ताल दिनोस्, म युवालाई रोजगारी दिन्छु भनेको थिएँ, पहिलेका एक मेयरलाई । उहाँले मलाई दिनुभएन । र, निजी ६ बिघा जमिनमा माछापालन गरेर चण्डीगढबाट डुंगा ल्याएर बोटिङ गर्ने सुविधा बनाएको छु । रेस्टुराँ खोलेको छु । फिसिङ गर्न त्यहाँ पाइन्छ । कर्णाली तीरमा रिसोर्ट खोल्न सरकारले लिजमा जग्गा नदिई सम्भव छैन ।

अहिलेसम्म पर्यटन प्याकेज किन बिक्री नगर्नु भएको नि ?

पर्यटन प्याकेज बनाएर दिइरहेका छौं हामीले । सुन्दर सुदूरपश्चिमको नाराका साथ काम गरेका छौं । हामीले आफ्नातर्फबाट गर्न सक्ने कुरा गरेका छौं ।

राजनीतिमा लाग्नुभयो, अब व्यवसाय समाप्त होला नि त ?

हामी आधा समय मात्र राजनीतिलाई दिन्छौं । अहिले चुनावका कारण मात्र शतप्रतिशत समय राजनीतिमा लागेको हो ।

गोपी हमालले मेयरमा धेरै भोट ल्याउनुभएकाले तपाईंहरु हौसिनु भएको हो कि ?

हामी त्यसरी जोसिएर लागेका होइनौं । त्यतिबेला उहाँले चुनाव जित्नुभएको भए धनगढीलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउनुहुने थियो । हिजो धनगढी उद्योग वाणिज्य संघलाई एक्सेलेन्स अवार्ड दिलाएका थियौं । विमानस्थल नै बनायौं । निजी क्षेत्रको पहलमा नेपालमा कुनै परियोजना यसरी बनेका छैनन् ।

खुटियादेखि दिपायल जोड्ने ७२ किलोमिटर सडक हाम्रै पहलमा खुलेको हो । अहिले बल्ल शेरबहादुर देउवा त्यस सडकमा आकषिर्त हुनुभएको छ । ०७० सालको चुनावमा उहाँले त्यसलाई एक नम्बर एजेन्डामा राख्नुभएको थियो । त्यसपछि उहाँले कहिल्यै पहल गर्नुभएन । अहिले आरजु राणाले पनि त्यसलाई एक नम्बर एजेन्डामा राख्नुभएको छ । अब त्यो प्रतिबद्धता उहाँका छोराबाट गराउनु नपरोस् भन्ने हामी चाहन्छौं । त्यही भएर हामी आफैं राजनीतिमा लागेका हौं ।

आरजु राणा र नारदमुनि राना तपाईंका कत्तिको बलिया प्रतिस्पर्धी हुन् ?

राज्यशक्तिको दुरुपयोगमा उहाँहरु एकदमै बलियो हुनुहुन्छ । राजनीतिक संगठन जनताको नजरमा ती मान्छे ठीक छन् भन्ने भएपछि मात्र चाहिने हो ।

हामी परीक्षण भइसकेका सफल व्यक्ति हौं । र, उहाँहरु परीक्षण भएका असफल व्यक्तिहरु हुनुहुन्छ । सफल र असफल व्यक्तिहरुबीच कुनै प्रतिस्पर्धा हुन्छजस्तो लाग्दैन हामीलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment