Comments Add Comment

प्रकाशमानको प्रश्न– ५० वर्ष शासन किन ? वेष्ट बंगालको जस्तै तोबा–तोबा गर्न ?

‘वामपन्थीको सरकार बनेमा अरु पार्टीको अस्तित्व हुँदैन’

प्रकाशमान सिंह । फाइल तस्वीर

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनाव देशमा लोकतान्त्रिक शासन व्यवस्था कायम राख्ने कि अधिनायकवाद लाद्ने भन्ने कुराको छिनोफानो गर्ने जनमत संग्रह भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले आइतबार नयाँबानेश्वरमा आयोजित अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै वामपन्थीको सरकार बनेमा कम्युनिष्ट बाहेक अरु पार्टीको अस्तित्व नहुने र लोकतन्त्र संकटमा पर्ने दावी गरे ।

‘वाम गठबन्धनले भन्ने गरेको साम्यवाद आएमा कम्युनिष्ट पार्टी बाहेक अरु कुनै पार्टीको गुन्जायस र अस्तित्व हुँदैन । विरोधको स्वर पनि निकाल्न सक्दैनौं,’ कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘हामीले अहिले उपभोग गरिरहेका अधिकार छिन्नका लागि कम्युनिष्ट वाम गठबन्धनलाई भोट दिने ?’

प्रकाशमानले थपे, ‘१० वर्षमा साम्यवादी व्यवस्था ल्याउँछौं । ५० वर्ष शासन गर्छौं भन्नु भएको छ । वेष्ट बंगालको जस्तै तोबा–तोबा गर्नका लागि उहाँहरुले (एमाले–माओवादीले) ५० वर्षको आंकलन गर्नु भएको हो कि के गर्न खोजिराख्नु भएको छ ?’

ग्राउण्ड रियालिटी कांग्रेसको पक्षमा रहे पनि पत्रपत्रिकाले वाम गठबन्धनको पक्षमा मिसन पत्रकारिता गरिरहेको आरोप उनले लगाए ।

प्रकाशमानले अहिले वाम गठबन्धनको समर्थन गरिरहेका प्रेस जगत नै वाम सरकार आएपछि निषेध हुने दावी गरे । ‘कम्युनिष्ट व्यवस्था आयो भने राज्यको चौथो अंग कांग्रेसले स्थापित गरेको प्रेस जगतलाई सबभन्दा पहिले निषेध हुन्छ । वाम गठबन्धनलाई प्रोत्साहित गरेका पत्रपत्रिकाहरुले सोच्नुपर्छ,’ उनले भने ।

नेपाली कांग्रेसले जस्तो अरु कुनै पनि दलले जनताको पिरमर्का नबुझेको दावी उनले गरे । कांग्रेसको सरकारले संविधान जारी गरेकाले अब समृद्धिको अभियानको नेतृत्व गर्न र संविधानमा सुनिश्चित गरिएका अधिकारलाई संस्थागत गर्न पनि कांग्रेसले नै जित्नुपर्ने उनको जोड थियो ।

देशलाई विकासको मार्गमा अगाडि बढाउनुपर्ने नेपाली जनताको चाहाना बुझेर नै नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान प्रमुख नारा बनाइएको भन्दै उनले भने, ‘यो समृद्धिको अभियानमा अब नेपाली कांग्रेस पार्टी अघि बढ्यो, बढ्यो, बढ्यो ।’

उनले अघि भने, ‘फेरि तपाइहँरुले भन्नुहोला नारा त अरु पार्टीहरुका पनि राम्रै छन् भनेर । तर नारा राम्रो भएर के गर्ने ? कहिल्यै कार्यान्वयन गर्न नसक्ने दलहरुले त्यो नारा दिएर के गर्ने ? नेपाली कांग्रेसले नारा दिइसकेपछि त्यो नारालाई कार्यान्वयन गरेरै छोड्छ भन्ने कुरा विगतको इतिहास हेरे हुन्छ ।’

उनले विगतमा जनताले एमाले र माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर दिए पनि संविधान पनि जारी गर्न नसकेको र जनआकांक्षाअनुसार पनि काम नगरेको आरोप लगाए । उनले भने, ‘अवसर दिँदा काम नगर्ने र अनि ठूलठूला नारा फलाक्ने ? नाराको पछि लाग्नु हुँदैन ।’

विगतका चुनावमा आफू निर्वाचित भएपछि काठमाडौं क्षेत्र नम्बर १ मा धेरै विकास गरेको र आफू उपप्रधानमन्त्री हुँदा नयाँ संविधान जारी भएको भन्दै उनले फेरि पनि विकासका अधुरा काम पूरा गर्ने अवसर दिन अपिल गरे । कतिपय स्थानमा आफूहरुको ध्यान नपुगेको भए त्यसबारे जानकारी दिन पनि मतदातालाई उनले आग्रह गरे ।

उनले निर्वाचन क्षेत्रको विकास गर्दै केन्द्रीय राजनीतिबाट पूरै देशको विकासमा योगदान गर्न चाहेको जानकारी पनि गराए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘धेरैले मलाई भन्छन् तपाईं क्षेत्रको मात्रै कुरा गर्नुहुन्छ । तर क्षेत्रबाट नजितिकन केन्द्रमा योगदान गर्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment