Comments Add Comment

मोरङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र वाम गठबन्धनको दाबी

दुई सिटमा संघीय फोरमको दाबी

१८ मंसिर, बिराटनगर । मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा चुनावको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । काठमाण्डौंपछिको सबैभन्दा बढी सिट संख्या भएको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ सिट संख्या छ ।

मोरङमा स्वतन्त्रसहित १८ दलका उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये प्रतिनिधिसभा सदस्यका लागि तीन महिलासहित ६१ जना उम्मेदवार छन् । प्रदेशसभातर्फ ८ महिलासहित १०८ जना उम्मेदवार छन् ।

कुल मतदाता ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ७५८ मतदान केन्द्र छन् ।

साना र ठूला गरी १८ दलले चुनावमा सहभागिता जनाए पनि मोरङ जिल्लामा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनवीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको पनि केही सिट जित्ने दाबी छ ।

मोरङ जिल्लामा कुन दलले कति सिट जित्ने आँकलन गरेका छन् ? यसबारे छोटो चर्चा गरौंः

कांग्रेसको दाबी- ६ सीट

प्रतिनिधिसभातर्फ कांग्रेसले मोरङका पुरै ६ वटै सिट जित्ने दाबी गरेको छ । कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्वुले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा जित निकाल्न कडा मेहनत गरिएको र सोही अनुसारको मतपरिणाम कांग्रेसकोे पक्षमा आउने दाबी गरे ।

लिम्बुले भने, ‘स्थानीय तहको मत परिणामलाई हेरेर हुँदैन, अहिले मोरङका सबै क्षेत्रमा हाम्रो अवस्था निकै राम्रो छ ।’

सबै सीट जित्ने वाम गठबन्धनको दाबी

कांग्रेसले जस्तै वाम गठबन्धनले पनि मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभाका पुरै सिट जित्ने दाबी गरेको छ । मोरङमा एमाले त्यसै पनि बलियो रहेको र यसपल्टको चुनावमा एमाले र माओवादी केन्द्रवीच गठबन्धन भएकाले सहजै जित्ने उसको दाबी छ ।

एमाले र माओवादीवीच तालमेल हुँदा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्र माओवादीले पाएको छ । मोरङ ४ र ५ मा माओवादीका उम्मेदवार छन् भने बाँकी ४ वटामा एमालेका उम्मेदवार छन् । एमालेले प्रदेशमा गठबन्धनले ५ सिट र प्रदेशमा १२ सिट जित्ने दाबी गरेको छ । प्रदेशमा माओवादीले ६ सिट पाएको छ भने एमाले पनि ६ सिटमा उम्मेदवारी दिएको छ ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले विगतको चुनावमा एमाले र माओवादीले पाएको मतको विश्लेषणका आधारमा सतप्रतिशत जित बामगठबन्धनले निकाल्ने  दावी गरे ।

संघीय समाजवादी फोरमः दुई सिटमा दाबी

मोरङ ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको संघीय समाजवादीले ५ र २ नम्वर निर्वाचन क्षेत्रमा जित हासिल गर्ने दाबी गरेको छ ।

संघीय समाजवादीले दावी गरेको मोरङ निर्वाचन क्षेत्र नम्वर ५ मा प्रतिनिधिसभा सदस्यका लागि जिल्ला अध्यक्ष राजकुमार यादव उम्मेदवार छन् । त्यसैगरी २ नम्वर निर्वाचन क्षेत्रमा संघीयबाट युवराज कार्की उम्मेदवार छन् ।

पहिलो संविधानसभा चुनावमा मोरङका ९ वटा निर्वाचन क्षेत्रमध्ये मधेसी जनअधिकार फोरमले निर्वाचन क्षेत्र नम्बर ४, ५, ६ र ७ मा जित हात पारेको थियो । फोरममा आएको फुटसँगै अहिले संघीय समाजवादी फोरमको उपस्थिति कमजोर देखिएको छ । दोस्रो संविधानसभासम्म आइपुग्दा फोरमले सबै क्षेत्र गुमाउन पुग्यो ।

निर्वाचन क्षेत्र नम्वर ५ मा संघीय फोरमको उपस्थिति अन्यत्र भन्दा केही बलियो मानिन्छ । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने बिराटनगर महानगरपालिकाका १३ देखि १८ नम्बर वडासम्म सबै संघीय समाजवादीले जितेको थियो । त्यस्तै यसक्षेत्रमा पर्ने रंगेलीका ४ वडामध्ये २ वटामा फोरमले र दुईवटामा माओवादीले जितेका थिए ।

संघीय फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले क्षेत्र नम्वर ५ र २ मा आफ्नो पार्टीको पकड भएकाले दुबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दाबी गरे । यादवले प्रदेश सभाको कुल १२ सिटमध्ये ५ सिट जित्ने दावी गरे ।

फोरमबाट ५ नम्बर प्रदेशको उम्मेदवार समेत रहेका यादव भन्छन, ‘हामीले कडा मेहनत गरेका छौं, मतदाता उत्साही देखिएका  छन्, क्षेत्र नम्वर ५ र २ मा हाम्रो जित सुनिश्चित छ ।’

मोरङ क्षेत्र नम्बर ५ मा कांग्रेसका अमृत अर्याल र माओवादीका शिवकुमार मण्डल उम्मेदवार छन् भने संघीय समाजवादी फोरमबाट जिल्ला अध्यक्ष राजकुमार उम्मेदवार छन् । यहाँ राजपाका तर्फबाट बद्रीप्रसाद मण्डलको पनि उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा स्थानीय चुनावको मतको विश्लेषण गर्दा एमाले र माओवादीको १९ हजार, कांग्रेसको १७ हजार र फोरमको १३ हजार देखिन्छ । अन्य दलबाट फोरम उम्मदेवारले ३/४ हजार मत तान्न सके भने मोरङ ५ मा फोरमले जित्दैन भन्ने स्थिति देखिँदैन । तर, मोरङको क्षेत्र नम्बर २ मा भने फोरमको दाबी खासै पुग्न सक्ने देखिँदैन ।

क्षेत्र नम्बर २ मा एमालेका ऋषि पोखरेल र कांग्रेसका डा. मिनेन्द्र रिजाल उम्मेदवार छन् भने फोरमले युवराज कार्कीलाई उठाएको छ ।

अब मोरङ जिल्लाका ५ वटै चुनाव क्षेत्रमा कसको पोजिसन कस्तो छ भन्नेबारे विश्लेषण गरौंः

क्षेत्र नम्बर १ः घनश्यामलाई सहज, डिकबहादुर दबावमा

मोरङ क्षेत्र नम्बर १ मा एक लाख ७ हजार २ सय ३५ मतदाता छन् । दुई नगरपालिका र दुई गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा छन् । यहाँ स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा वाम गठबन्धनका घनश्याम खतिवडा र कांग्रेसका डिकवहादुर लिम्वु मुख्य चुनावी प्रतिस्पर्धीमा छन् । वाम गठबन्धन र कांग्रेस दुवैले जित्ने दाबी गरेको मोरङ क्षेत्र नम्वर १ मा आफ्नो पक्षमा मत आउनेमा दुबै उम्मेदवार ढुक्क जस्तै देखिन्छन् ।

स्थानीय चुनावको परिणाम हेर्दा यहाँ काग्रेस भन्दा बाम गठबन्धन बलियो देखिन्छ । गत निर्वाचनमा एमाले उम्मेदवारले २४ हजार २ सय ८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ६ सय २६ मत र माओवादी केन्द्रले ८ हजार ९ सय ६२ मत प्राप्त गरेको थियो । वाम गठबन्धनको मत जोड्दा ३३ हजार १ सय ७१ पुगेको छ ।

वाम गठबन्धनका उम्मेदवार खतिवडा एमालेको १ नम्वर प्रदेशको प्रचार विभाग सदस्य हुन् । उनी मोरङमा दोस्रो पटक चुनाव लडदैछन् । उनी ०७० को दोस्रो संविधानसभामा डिकबहादुर लिम्बुसँगै चुनाव लडेर हारेका थिए । उनी  अहिले क्षेत्र नम्वर १ बाट पुरानै प्रतिस्पर्धी उनै लिम्बुसंगै चुनाव लड्दैछन् ।

टिकट वितरणमा अन्य क्षेत्रमा भन्दा कम विवाद भएको र माओवादीको समेत साथ रहेकाले खतिवडा आफू चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

कांग्रेसका उम्मेदवार लिम्बु यहाँ तेस्रोचोटि चुनाव लड्दैछन् । ०६४ सालको संविधान सभा निर्वाचनमा लिम्बु माओवादीका नगेन्द्र धिमालसँग पराजित भएका थिए भने ०७० मा उनी माओवादी नेता वर्षमान पुन र एमालेका घनश्याम खतिवडालाई हराएर उनी सिंहदरबार छिर्न सफल भएका थिए । लिम्बु नेपाली कांग्रेसका मोरङ जिल्ला सभापतिसमेत  रहेकाले पार्टीको प्रतिष्ठाका लागि पनि चुनाव जित्नुपर्ने दबावमा छन् ।

प्रदेशतर्फ १ (क) मा एक महिलासहित  ११ उम्मेदवार छन् । बाम गठबन्धनबाट माओवादीका कुलप्रसाद लिम्बु (कुशल लिम्बु) र कांग्रेसका ललित अधिकारी उम्मेदवार छन् । त्यसैगरी प्रदेश १ (ख) मा कांग्रेसका ईश्वरी कोइराला र एमालेका उपेन्द्र घिमिरेसहित २० उम्मेदवार चुनावी मैदानमा छन् ।

मोरङ २ः मिनेन्द्रको उपस्थितिले ऋषिलाई प्रेसर

कुल १ लाख ११ हजार ३ सय २१ मतदाता रहेकोे क्षेत्र नम्बर २ मा  एक महिलासहित १२ उम्मेदवार छन् । स्थानीय तहको अंकगणितका आधारमा बाम गठबन्धन यो क्षेत्रमा बलियो देखिन्छ । तर, कांग्रेसका ठूला नेता डा. मिनेन्द्र रिजालको उपस्थितिले वाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेल दबावमा छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको २२ हजार ३ सय ५० मत पाचएको थियो । एमालेले १९ हजार ४१ र माओवादी केन्द्रको ११ हजार २ सय ३२ मत थियो । वाम गठबन्धनको मत ३० हजार २ सय ७३ हुन आउँछ । जुन कांग्रेसको भन्दा करिब ८ हजार बढी हो । यस क्षेत्रमा संघीय समाजवादी फोरमको पनि केही मत छ ।

मोरङ २ मा नेपाली कांग्रेसबाट पूर्वसञ्चारमन्त्री डा.मिलेन्द्र रिजाल र बाम गठबन्धनवाट एमालेका पूर्वसभासद ऋषिकेश पोखरेल चुनावी मैदानमा छन् । डा. रिजाल कांग्रेसका प्रभावशाली नेता हुन् भने पोखरेल पनि यस क्षेत्रका स्थापित नेताका रुपमा चिनिन्छन् ।

रिजाल पहिलो पटक प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएका हुन् । यसअघि उनी समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनी यसपटकको टिकट वितरणका लागि वनाइएको संसदीय बोर्डमा समेत थिए ।

विगतमा नेपाली कांग्रेसका आमोद प्रसाद उपाध्यायले जित्दै आएको क्षेत्र भएकाले कांग्रेसको साख फर्काउनका लागि रिजाल यहाँ चुनाव लड्न आएको स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन् ।

एमाले नेता पोखरेलले साविकको निर्वाचन क्षेत्र नम्वर १ बाट ०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका स्थापित नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । यो निर्वाचन क्षेत्रले अहिले सबैको ध्यान खिचेको छ ।

२ नम्बर क्षेत्रको प्रदेशतर्फ २ (क) मा ८ जना उम्मेदवार छन् । बाम गठबन्धनबाट  माओवादीका गणेश उप्रेती र कांग्रेसका शिवनारायण गनगाई प्रतिस्पर्धामा छन् । त्यसैगरी प्रदेशतर्फ २ (ख) मा कांग्रेसका घणिन्द्र कुँवर र एमालेका लीलावल्भव अधिकारीसहित २० उम्मेदवार चुनावी मैदानमा छन् ।

मोरङ-३ः मेडिकल सञ्चालकसँग एमालेका सचेतक !

क्षेत्र नम्वर ३ मा एमाले संसदीय तलका तत्कालीन सचेतक भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट मेडिकल सञ्चालक शुनिल शर्मा चुनावी मैदानमा छन ।

एमाले नेता ढकाल प्रत्यक्षतर्फ पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् । उनी यसअघि  सभानुपातिक तर्फबाट सभासद बनेका थिए ।

भर्खरै कांग्रेसको राजनीतिमा प्रवेश गरेका डा.शुनिल शर्मा स्थानीय नोवेल मेडिकल कलेजका सञ्चालन हुन् । उनी पनि पहिलो पटक संसदीय चुनाव लड्दैछन् ।

कुल १ लाख २७ हजार ४ सय ९६ मतदता रहेको मोरङ क्षेत्र नम्बर ३ मा १३ जना उम्मेदवार मैदानमा छन् । यो निर्वाचन क्षेत्रमा पनि  स्थानीइ चुनावको मत हेर्दा बाम गठबन्धन नै बलियो देखिन्छ ।

स्थानीय तहको अंक गणितलाई आधार मान्दा एमालेले २९ हजार १ सय ६२ मत ल्याएको थियो भने कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए । अब बाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेर छ । यसमा नयाँ शीक्त पार्टीसमेत वाम गठबन्धनमै समाहित भएकाले वाम उम्मदेवारको भोट अरु बढ्ने देखिएको छ ।

कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर सो निर्वाचन क्षेत्रमा बाम गठबन्धन अघि देखिन्छ । सो क्षेत्रमा राप्रपाको मत एक हजार भन्दा कम छ ।

प्रदेशतर्फ ३ (क) मा ८ जना उम्मेदवार छन् । बाम गठबन्धनबाट  माओवादीका गीता तिम्सिना र कांग्रेसका सूर्यमाराज राई चुनावी मैदानमा छन् । त्यसैगरी प्रदेशतर्फ २ (ख) मा कांग्रेसका ललित श्रेष्ठ र एमालेका राजकुमार ओझासहित १७ उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ४ः महेश आचार्यलाई मोदीको चुनौती

मोरङ ४ मा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्य र वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्वसभासद अमनलाल मोदी चुनावी मैदानमा छन ।

कांग्रेसका प्रभावशाली नेताका रुपमा चिनिने आचार्य चौथो पटक चुनावी मैदानमा छन् । उनी यसअघि तीनपटक चुनाव लडिसकेका छन् । उनले ०५६, ०६४ र ०७० सालको निर्वाचन लडिसकेका छन् । तर, पहिलो संविधान सभाको निर्वाचनमा उनी संघीय समाजवादी फोरमका भीम राजवंशीसँग पराजित भएका थिए ।

दुई पटकको निर्वाचनमा उनी विजय भएका थिए । टिकट वितरण संसदीय वोर्डका संयोजक समेत रहेका आचार्य माओवादी केन्द्रका नेता मोदीसँग पहिलोपटक चुनाव लड्दैछन् ।

मोदी दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सभासद बनेका थिए । सामान्य गरीब पृष्ठभूमिका मोदीले गरीव समुदायको मत आफूतिर तान्ने अनुमान गरिएको छ । साथै उनले थारु समुदायको मत पनि तान्ने सम्भावना छ । उनलाई एमालेको समेत साथ रहेकाले आचार्यलाई चुनौती दिने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

बिराटनगर महानगरपालिकासहित आसपासका २३ वडा समेटिएको मोरङ क्षेत्र नम्बर ४ मा ९९ हजार २ सय ८७ मतदाता छन् । प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धन र कांग्रेससहित ९ जना चुनावी मैदानमा छन् । यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले १७ हजार ७ सय ११, एमालेले १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमले ७ हजार ४ सय ९६ र माओवादी केन्द्रले ६ हजार ४ सय ६१ मत प्राप्त गरेका थिए ।

बाम गठबन्धनको मत जोड्दा २३ हजार १ सय ५ पुग्छ भने कांग्रेस गठबन्धनको २५ हजार २ सय ७ मत पुग्छ । यसका साथै राप्रपाको केही मत पनि कांग्रेसमा जोडिने कार्यकर्ताको दाबी छ ।

प्रदेशतर्फ मोरङ ४ (क) मा एक महिलासहित ९ जना उम्मेदवार छन् । बाम गठबन्धनबाट माओवादीका विजयकुमार विश्वास  र कांग्रेसका भक्तिनाथ माझी चुनावी मैदानमा छन् । त्यस्तै ४ (ख) मा कांग्रेसका नेता महेश आर्चायका सम्धी विश्वनाथ रिजाल र एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मोरङ ५ः फोरमको उपस्थितिले त्रिपक्षीय भिडन्त

मोरङ क्षेत्र नम्बर ५ मा वाम गठबन्धन र कांग्रेसका साथै संघीय समाजवादी फोरमवीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

निर्वाचन क्षेत्र नम्वर ५ नेपाली काग्रेसका नेता अमृत अर्याल र वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल चुनावी मैदानमा छन् ।

मण्डल वाहालवाला मन्त्रीसमेत हुन् । मण्डलको चुनावी दौडाहा तेस्रोपटक हो । उनी पहिलो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी फोरमका रमानन्द मण्डलसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी विजयी भएका थिए ।

त्यसैगरी कांग्रेसका तर्फबाट चुनामी मैदानमा रहेका पूर्वसांसद अमृत अर्याल पनि गएको पहिलो संविधान सभाको निर्वाचनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

दोश्रो संविधान सभाको निर्वाचनमा भने आर्चाय विजय भएका थिए । उनी पनि प्रत्यक्षतर्फको निर्वाचनमा लड्ने तेस्रोपटक हो ।

यता संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यावद पनि उम्मेदवार रहेका छन् । उनी दोस्रो संविधानसभाको चुनावमा मोरङ ४ बाट पराजित भएका थिए ।

कुल ८९ हजार २ सय ८७ मतदाता रहेको मोरङ ५ मा एक महिला उम्मेदवारसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गएको स्थानीय तहको अंकगणित मतका आधारमा कांग्रेसको १३ हजार ३ सय ६९, र दोस्रोमा संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४  मत प्राप्त गरेका थिए ।

मोरङ ५ मा पर्ने विराटनगर महानगरपालिकका १९ वडा मध्ये गएको स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरमले बिराटनगरका १२ मा वडा अध्यक्ष र त्यसबाहेक १३, १४, १५, १७ र १८ वडाको पूरै सेट जितेको थियो । त्यसैगरी सोही क्षेत्रमा पर्ने जदाहा गाँउपालिकाको प्रमुख र उपप्रमुखसहित २ र ६ वडा बाहेकका अन्य वडामा विजयी भएको थियो ।

संघीय समाजवादी फोरमका अलावा सो निर्वाचन क्षेत्रमा फोरम लोकतान्त्रिकको ३ हजार मत छ ।

तेस्रो स्थानमा माओवादी केन्द्रको १९ हजार ९ सय ८१, एमालेको ८ हजार ९ सय ७९ मत गरी वाम गठबन्धनको मत १९ हजार ९ सय ६० पुग्ने छ । कांग्रेस र लोकतान्त्रिकको मत १६ हजार छ ।

५ नम्वर क्षेत्रमा संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४ मत नै निणर्ायक मत देखिन्छ । तर, यो क्षेत्रमा संघीय समाजवादी फोरम पनि पकड क्षेत्रको रुपमा मानिन्छ ।

पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको गृहनगर मोरङको बिराटनगर क्षेत्र नम्वर ५ मा पर्छ ।

तसर्थ पनि नेपाली कांग्रेस क्षेत्र नम्बरमा अन्य क्षेत्रभन्दा बलियो मानिन्छ । यद्यपि एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्ने भएकाले क्षेत्र नम्वर ५ को साख जोगाउन कांग्रेसलाई हम्मे पर्ने देखिएको छ ।

प्रदेश तर्फ ५ (क) मा ६ जना उम्मेदवार छन् । वाम गठबन्धनबाट एमालेका ज्ञानेश्वर राजवंशी  र कांग्रेसका शुकदेवप्रसाद मण्डल एवं संघीय समाजवादी फोरमका विजयसिंह मण्डल गनगाई चुनावी मैदानमा छन् ।

प्रदेशतर्फ ५ (ख) मा कांग्रेसका राजेशकुमार गुप्ता र वाम गठबन्धनवाट माओवादीका सुवास मियाँ र संघीय समाजवादी फोरमबाट पूर्वसांसद जयराम यादवसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । संघीय समाजवादी फोरमका जयराम यादवले मोरङ ५ बाट गएको दोस्रो संविधानसभाको चुनाव जितेका थिए ।

क्षेत्र नम्बर ६ मा लालबाबु र शेखरको रोचक प्रतिस्पर्धा

सबैको ध्यान तानेको मोरङको क्षेत्र नम्वर ६ मा प्रतिनिधिसभाका लागि वाम गठवन्धनका तर्फवाट एमालेका नेता लालबाबु पण्डित चुनावी मैदानमा छन् । अर्कोतर्फ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला चुनावी मैदानमा  छन् । दुबै उम्मेदवार  प्रभावशाली भएकाले सबैको ध्यान क्षेत्र नम्वर ६ ले खिचेको छ ।

१ लाख १० हजार ३ सय २२ मतदाता रहेको मोरङ ६ मा एक महिलासहित १० जना उम्मेदवार रहेका छन् । मोरङ ६ मा बाम गठबन्धन र कांग्रेसवीच प्रतिस्पर्धा हुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसलाई राप्रपाले पनि समर्थन गरेको छ । राप्रपाको भोट खासै छैन ।

मोरङ ६ मा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ हजार ९ सय ४९ मत ल्याएको थियो । एमाले १७ हजार ९ सय ८२ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रको ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत खसेको थियो ।

यस क्षेत्रमा वाम गठबन्धनको हालको मत २६ हजार ३ सय ८० तथा कांग्रेस-लोकतान्त्रिक फोरम गठबन्धनको २८ हजार ९ सय ८८ मत देखिन्छ । त्यसमा राप्रपाले पनि काग्रेलाई समर्थन गरेकाले उसको करिव १५ सय मत काग्रेसलाई थपिन सक्छ ।

प्रदेशतर्फ ६ (क) मा २ महिलासहित १२ उम्मेदवार छन् । बाम गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य  र कांग्रेसका चुमनाराणय तवदार चुनावी मैदानमा छन् । ६ (ख) मा कांग्रेसका केदार कार्की र बाम गठबन्धनवाट एमालेका रमेश पोखरेलसहित सबैभन्दा वढी २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment