Comments Add Comment

तपाईंको कान त ठीक छ ? लापरवाहीले नसुन्ने बनाउला !

काठमाडौं । कसैले केही भन्यो, तर तपाइले बुझुनुभएन ।

सोध्नुभयो, ‘हँ के भन्यौ, फेरि भन न, मैले त पटक्कै बुझिन ।’

‘दश चोटी भनिसकें, राम्ररी सुन्ने हैन, कान जँचाउन जाउ’, ती मित्रले सायद यसै भन्लान् ।

पक्कै पनि, कानले कम सुन्न थाल्यो या पटक्कै सुन्न छोडयो भने कानमा गडबडी भएको हुनसक्छ, यसतर्फ सजग हुनैपर्छ । किनकी, शरीरका प्रमुख अंगमध्ये कान पनि एक हो । कान नै त्यस्तो अंग हो, जसबाट हामीले आवाजको अनभूती गर्नसक्छौं । अर्थात चारैतिर गुंजने ध्वानी हामी सुन्न सक्छौं । चरा कराएको होस् या मान्छे बोलेको, हामी कानले सुनेर नै थाहा पाउँछौं । मानिसहरुवीच सँवाद गराउने एक महत्वपूर्ण इन्द्रीय भनेको कान नै हो ।

कानले कसरी सुन्छ ?

कानका मुख्य तीन भाग हुन्छन्, बाह्य, मध्य र भित्री कान । हाम्रो कानको बाहीरी भाग कार्टिलेजले बनेको हुन्छ, जलाई ‘पिन्ना’ भनिन्छ । कमलो लचकदार मासुले बनेको बाहीरी कान जुन हामीले देख्दै आएका छौं । बाहीरको ध्वनी कानको माइकजस्तो बाहीरी भागमा ठोक्किएर एउटा सुरुङजस्तो अँगबाट भित्र छिर्छ, त्यस अँगलाई ‘अडिटोरी मियटस्’ भनिन्छ । त्यहाँबाट अघि बढेको ध्वनी एयर ड्रमसँग ठोक्किन्छ र त्यसमा कम्पन सुरु हुन्छ । एयर ड्रम एउटा पातलो झिल्लीले बनेको हुन्छ, जसलाई हामी कानको जाली पनि भन्ने गर्छौं ।

यो जालीमा कम्पीत हुँदै ध्वनी तरँग मध्य कानतर्फ लाग्छ । मध्य कान खासमा भित्री कान र बाहीरी कानवीचको एउटा पुल हो,  जहाँ तीनवटा स-साना हड्डीहरु हुन्छन् । ‘मेलियस’, ‘इंकस’ र ‘स्टेपस’ नाम गरेका ति स-साना हड्डीहरुसम्म पुगेपछि ध्वनी अझ कडा ढँगले कम्पीत हुँदै भित्री कानतर्फ बढछ । भित्री कानमा ‘कोकलीया’ नाम गरेको हाडले बनेको खोक्रो कक्ष हुन्छ । कोकलियाभित्र पनि तिनवटा घुमाउरा टयूबहरु हुन्छन्, जसलाई ‘स्केल भिस्टेब्यूल’, ‘स्केला मिडिया’ र ‘स्केला टेम्पेनी’ भनिन्छ ।

यी टयूबका भित्ताहरुमा ‘बेसीलर मेम्ब्रेन’ हुन्छ, जसमा स्नायु कोषहरु हुन्छन् जसलाई ‘अर्गेन अफ कोर्टी’ भनिन्छ । यहाँ रहेका हेयर सेल्सहरुले ध्वनी तरँगलाई ‘इलेक्ट्रीकल सिग्नल’मा परिणत गरीदिन्छन् । यी इलेक्ट्रीकल सिग्नलहरुलाई ‘अडिटरी नर्भस्’ले मश्तीस्कसम्म पुर्‍याउँछ । जब मश्तीष्कले त्यसलाई स्वीकार गर्छ, तब हामी त्यो आवाज सुन्न थाल्छौं । अचम्मको कुरा, यति लामो प्रकृया सम्पन्न हुन एक सेकेन्ड पनि लाग्दैन । यो प्रकृया कति तिब्र गतिमा हुन्छ भने बाहीर कोही बोल्नासाथ हामी तत्काल सुनीहाल्छौं ।

हो, कानको यही प्रकृयामा गडबडी आउँदा हाम्रो श्रवण शक्ति कमजोर हुँदै जान्छ । सुरु सुरुमा श्रवणशक्ति कमजोर भएको खासै हेक्का हुँदैन । काम चलुञ्जेलसम्म वास्ता पनि हुँदैन, तर समस्या भित्र भित्र चर्किसकेको हुन्छ । जबसम्म हामीलाई कान कमजोर भएको थाहा हुन्छ, त्यतिबेलासम्म शरीरको ३० प्रतिशत कोषिका नष्ट भईसकेको हुन्छ । जुन फेरि उत्पन्न गराउन असम्भव छ । त्यसैले कानको समस्या हुनुपूर्व नै बहिरोपनको लक्षणबारे जान्न आवश्यक छ ।

कानमा सिटी बज्नु     

फोनमा कुराकानी गरिरहेको बेला वा अचानक कानमा सिटी बज्न थालेमा यसलाई हल्का रुपमा नलिऔं । यो कान सम्बन्धि समस्या ‘एकास्टिक न्यूरोमा’को लक्षण हुनसक्छ ।  यसलाई बेवास्ता गरेको खण्डमा बहिरोपनाको समस्या हुनसक्छ ।

एकास्टिक न्यूरोमा एक प्रकारको ट्युमर हो, जसले क्यान्सर गराउँदैन, तर पनि यसले श्रवण क्षमतालाई कम गर्दै लगेर कहिलेकाही पटक्कै नसुन्ने बनाइदिन्छ । यसले अन्य थुप्रै गम्भीर समस्यासमेत उत्पन्न गर्छ । तर यहाँ समस्या के छ भने यस्तो लक्षण सजिलै देखिदैन र जबसम्म देखिन्छ , निकै ढिलो भइसक्छ ।

कानबाट पानी बग्नु

बारबार कानबाट पानी बग्नु पक्कै पनि सामान्य हैन । लामो समयसम्म कानबाट पानी बगिरहेमा बहिरोपना हुनसक्छ । वर्षमा ४-५ पटक भन्दा बढी टंसिल भएमा, धेरै चिसो महसुस भएमा, नाकले भन्दा मुखबाट धेरै सास लिनु परेमा र कान दुख्ने समस्या भइरहेमा त्यो कानकै समस्या हुनसक्छ । यस्तो अवस्थामा यथाशिघ्र चिकित्सकसित परामर्श लिनु जरुरी हुन्छ ।

काने गुजी

कानभित्र एक प्रकारको तैलिय पदार्थ बनिरहेको हुन्छ, जसलाई चिकित्सकिय भाषामा ‘सिटोमिन’ भन्ने गरिन्छ । यसले कानमा जमेर बसेका फोहरलाई निकाल्ने काम गर्दछ । कानमा सिटोमिन बन्न कम भएमा वा बन्द भएमा कानमा फोहर जम्न सुरु हुन थाल्छ, जसलाई कानेगुजी भन्ने गरिन्छ ।

कानुगुजी सुकेमा कानमा ढुसी वा पिप बन्न सुरुहुन्छ । यदी यसमा लापवाही गरेमा पिडितले कम सुन्न थाल्छ । कानको पर्दामा दुलो पर्न थाल्छ । ज्वरो तथा अन्य संक्रमणका कारण पनि कानको पर्दामा प्वाल पर्ने गर्छ ।

कान रातो हुनु

पिन तथा चावीले कान कान कोट्याउने,  कन्याउने तथा असुरक्षित पद्धतिद्धारा कानमा प्वाल पारेमा संक्रमण हुने गर्छ । क्रिम, तेल र अन्य औषधीको उपयोगका कारण कानमा एलर्जी  भएर पनि कानको संक्रमण हुने गर्छ । संक्रमणका कारण कान रातो भई चिलाउने तथा कान दुख्ने गर्छ ।

अन्य लक्षण

कानमा जमेको मयल, टाउकोमा लागेको चोट, कानको पर्दा खराब भएमा पनि कानमा समस्या आउनसक्छ  । त्यस्तै, परिवारका सदस्यामा बहिरोपनाको समस्या हुनु, गर्भावस्थामा हुने संक्रमणका कारण पनि कानमा समस्या आउन सक्छ । यस्ता समस्या भएमा तुरुन्त चिकित्सकसित सम्पर्क गर्नु उचित हुन्छ ।

कानको सफाईः एक भ्रम

धेरै मानिसहरुलाई एउटा भ्रम छ, कानको सफाइ गर्ने । चिकित्सकहरुका अनुसार हाम्रो शरीरका अरु सबै अँगको सफाइ जरुरी रहे पनि कान नै एउट यस्तो अँग हो, जसको सफाइ जरुरी छैन । कानको बाहीरको लचिलो भाग त मुख धुँदा या नुहाउँदा नै सफा भइहाल्छ, त्यहाँभन्दा भित्र छेस्कोमा कपास बेरेर कान सफा गरीरहनु जरुरी छैन । कानभित्रै ‘रोलीङ मेथड’द्वारा कानेगुजीलगायतका फोहरलाई सुख्खा बनाएर बाहीर फाल्ने जैविक तारतम्य मिलेको हुन्छ । कानले आफै आफ्नो सफाइ गर्ने भएकाले कानको अतिरिक्त सफाइ जरुरी नभएको नाक, कान, घाँटी विशेषज्ञहरु बताउँछन् ।

कान बचाउन सावधानी

कानको सुरक्षाका लागि केही सावधानी अपनाउनु जरुरी छ । कानमा पानी पटक्कै पार्नुहुन्न । तेल पनि हाल्नुहुन्न । कानको जुन जाली छ, त्यो सुख्खा रहनुपर्छ, अनि बल्ल त्यसले कम्पीत ध्वनीलाई भित्रसम्म पुर्‍याउँछ । पानी या तेलले विस्तारै त्यो झिल्ली कमजोर भइ प्वाल पर्नसक्छ । नुहाउँदा कानमा कपास या ‘एयर प्लग’ लगाएर नुहाउनुपर्छ ।

कान कोटयाउने बानी बडा खराब बानी हो । हुन त लुतो कन्याउँदा र कान कोटयाउँदा मानिसलाई बडो आनन्द महसुस हुन्छ । सुरुमा चिलाएको कान कोटयाउँदा आनन्द आए पनि कान कोटयाइरहँदा भित्रका सुक्षम झिल्ली र कोषहरुमा दखल पर्न गइ कानभित्र घाउ हुन थाल्छ र त्यसले कानको जालीमा असल गर्छ । अतः जसरी नङ टोक्ने बानी नराम्रो हो, त्यसैगरी चराको प्वाँख या कपास बेरीएका छेस्काहरुले कान कोटयाउनु पनि नराम्रो बानी नै हो ।

अचेल मोबाइल फोनमै सारा सँसार अटेको छ । फिल्मदेखि गित सँगीत सबै मोबाइल सेटमै हुन्छ । कानमा एयरफोन राखेर गीत सुन्न त मजा आउँछ, तर त्यसको भोलुम अली कम गरेरै सुन्नु जरुरी छ । एयरफोनमा फुल साउण्ड गरेर गीत सुन्दा त्यसको फ्रिक्वेन्सीले सोझै हाम्रा भित्री कानलाई असर पार्न सक्छ । चर्को ध्वनी कानको लागि हानीकारक छ । यही कारण चर्को गीत घन्कीएरहेका स्टेज शोमा जानुभयो भने अली वरै रहेर त्यसको मजा लिनुहोला । चुनावी भाषण भइरहेका छन् भने पनि अली वरै रहेर र सकेसम्म माइकको नजिक नबस्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment