+
+

प्रतिष्पर्धी हुन् त विश्वप्रकाश र रामहरि जस्ता

उदण्डता, उच्छृंखलता र अमर्यादित व्यवहार अन्त्यको कामना

गौरव पोखरेल गौरव पोखरेल
२०७४ मंसिर २४ गते १४:४५

२४ मंसिर, काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा रहेकाहरु प्रायः आफ्नो हार स्वीकार गर्न चाहँदैनन् । जित्ने र पराजित हुनेबीच ठूलो दरार देखिन्छ । चुनावमा होमिएदेखि शुरु हुने आरोप–प्रत्यारोपका शृंखला मतपरिणाम सार्वजनिक भइसक्दा पनि रोकिँदैन ।

तर, यसपटकको निर्वाचनमा झापा र ओखलढुंगामा फरक दृश्य देखिए । झापा–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अन्तिम परिणाम सार्वजनिक हुनु एक घण्टा अगावै प्रतिद्वन्द्वी वाम गठबन्धनका राम कार्कीलाई फूलमाला लगाइदिए ।

शर्माले आफ्नो घरको बगैँचामा फूलेको फूलको माला उनेर कार्कीलाई लगाइदिएका थिए । साथै, उनले कार्कीसँग अंकमाल गर्दै नेपाली जनतालाई समृद्धिको दस्तावेज दिन आग्रह गरे ।

ओखलढुंगामा एमाले उम्मेवार यज्ञराज सुनुवार ३२ हजार पाँच सय ८० मतसहित विजयी भए । लगत्तै पाँच हजारभन्दा बढी मत अन्तरले पराजित भएका कांग्रेस उम्मेदवार रामहरि खतिवडाले उनलाई भेटेरै बधाई मात्र दिएनन्, सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए ।

शर्माको उदाहरणीय हार्दिकता

कांग्रेस नेता शर्माले आफूलाई हराउने उम्मेदवारलाई पहिलो पटक माला लगाइदिएका भने होइनन् ।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उम्मेदवार रविन कोइरालासँग ६ सय मत अन्तरले पराजित भएका थिए । लगत्तै, उनले कोइरालालाई माला पहिर्‍याउँदै बधाइ दिए ।

पार्टीको १२औं महाधिवेशनअघि उनी कांग्रेसको झापा जिल्ला सभापतिका प्रत्यासी थिए । तर, अर्का नेता उद्धव थापासँग पराजित भए । त्यसबेला पनि उनले थापालाई माला लगाइदिएर सहकार्य गर्ने वचन दिएका थिए ।

पछि उनै शर्माले पार्टीको १३औं महाधिवेशमा थापालाई पुनः अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । पार्टीको जिल्ला नेतृत्व चयन गर्न सबैतिर निर्वाचन भइरहेका बेला झापाबाट सर्वसम्मतिको उदाहरण दिलाउन सफल भए ।

२०४५ सालदेखि निरन्तर !

शर्माको उदाहरणीय हार्दिकता ०४५ सालदेखि निरन्तर छ । उनी १८ वर्षको हुँदा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको थियो ।

त्यसअघि जित्ने र हार्ने समूहबीच सधैं लडाइँ हुने गरेको थियो । धेरै विद्यार्थी घाइते हुन्थे । तर, ०४५ सालबाट त्यो प्रवृत्तिमाथि शर्माले ‘ब्रेक’ लगाए ।

हार र जीतको कुरालाई स्वाभाविक रुपमा लिन नसक्दा नेपालले प्रगति गर्न नसकेको हो। नेपालीले नेपालीसँग झुक्न सक्नुपर्छ, हामी–हामी झुक्न सक्यौं भने देश बन्छ

उनी आफैं अग्रसर भएर मतपरिणाम सार्वजनिक भएको सात दिनपछि अनेरास्ववियुका विद्यार्थी नेताहरुलाई सम्मान कार्यक्रम आयोजना गरे । सम्भवतः पराजित टोलीले विजेतालाई औपचारिक कार्यक्रम साथ सम्मान गरेको त्यो नै पहिलो उदाहरण हुन सक्छ ।

त्यसयता उक्त क्याम्पसमा जित्ने र हार्ने समूहबीचको लडाइँ रोकियो ।

‘त्यसबेला हामीले पञ्चायति व्यवस्था ढालेर हार्दिकताको व्यवस्था ल्याउन चाहन्छौं भन्ने उदाहरण दिँदै जित्नेहरुलाई सम्मान गरेका थियौं,’ शर्मा सम्झिन्छन्, ‘हामीले त्यसबेला सपना देखेको व्यवस्था भनेको जित्नेले हार्नेको हातबाट माला लगाउने र हार्नेले आफूलाई परिवर्तित गर्दै लाने परिपाटी थियो ।’

त्यसबेलादेखि नै हार्दिकता देखाएका बौद्धिक नेता शर्मा अहिले ४७ वर्षका भइसके । र, अहिले पनि त्यो निष्ठा कायमै छ ।

‘हार र जीतको कुरालाई स्वाभाविक रुपमा लिन नसक्दा नेपालले प्रगति गर्न नसकेको हो,’ शर्मा भन्छन्, ‘नेपालीले नेपालीसँग झुक्न सक्नुपर्छ, हामी–हामी झुक्न सक्यौं भने देश बन्छ ।’

कार्की भन्छन्– झापा १ मा कांग्रेसलाई गाली गर्ने शब्द थिएन

चुनावअघि सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु एकअर्काबीच आरोप/प्रत्यारोपमा उत्रिइरहँदा झापा १ मा फरक दृष्य थियो । कार्की र शर्मा सार्वजनिक रुपमा एकअर्काको प्रशंसा गर्दै थिए ।

‘यहाँबाट अलिपर गइसक्दा कांग्रेसलाई गाली गर्ने अनेक कुरा हुन्छन्,’ कार्कीले भने, ‘विश्वप्रकाश भाइको हकमा भने नकारात्मक कुरा केही पनि थिएन ।’

झापा १ मा वाम गठबन्धनको संगठन बलियो हुनु र आफ्नो शालिनताका कारण पनि जीत सुनिश्चित भएको उनको भनाइ छ ।

विश्वप्रकाशले माला लगाइदिएर बधाइ दिएपछि कार्कीले पनि शर्मालाई एउटा किताब उपहार दिने योजना रहेको बताए ।

रामहरि भन्छन्– मैले हारेर केही हुँदैन, लोकतन्त्रले नहारोस्

पूर्वसांसद खतिवडा ओखलढुंगाबाट पराजित भए । उनले बिहीबार मतपरिणाम सार्वजनिक हुनेबित्तिकै विजयी एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई माला लगाइदिँदै बधाइ दिए ।

शुक्रबार अनलाइनखबरसँग कुरा गर्दा पनि उनी सुनुवारकै मोलुङ गाउँपालिकामा थिए ।

उनले भने, ‘मतदातालाई धन्यवाद ज्ञापन गर्दै यहाँ आइपुगेको छु । सुनुवारजीलाई हिजै बधाइ दिइसकेँ । मैले हारेर केही हुँदैन, मुलुक र लोकतन्त्रले नहारुन् ।’

सुनुवारको जीतले उदण्डता, उच्छृंखलता र अमर्यादित व्यवहार सदाका लागि अन्त्य होस् भन्ने आफ्नो कामना रहेको खतिवडाको भनाइ छ । ‘आगामी पाँच वर्ष जनताकै बीचमा रहेर सेवामा तल्लीन रहनेछु,’ खतिवडाले भने ।

यसैबीच, कांग्रेसका युवा नेता प्रदीप पौडेलले भने आफूले तनहुँको प्रदेशसभामा चुनाव हारेपछि अर्को निर्वाचन गर्न माग गर्दै नारावाजी गरेका छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले काठमाडौं १ मा पराजित भएपछि प्रकाशमान सिंह र माधव नेपालको साँठगाँठले आफू पराजित भएको दाबी गरेका छन् । यद्यपि, उनले निर्वाचनको परिणाम भने स्वीकारेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?