Comments Add Comment

एक वर्षमा अख्तियारमा भ्रष्टाचारका १२ हजार उजुरी

२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष (आव) २०७३/७४ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

अख्तियारले नेपालको संविधानको धारा २९४ बमोजिम २७औं वर्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो । विहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा अख्तियारका प्रमुख आयुक्त दिप बस्न्यातले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

१९ हजार उजुरीको छानविन

प्रतिवेदनका अनुसार गत आवमा आयोगमा १९ हजार पाँच सय ८० उजुरी उपर अनुसन्धान तथा तहकिकात भएको छ । गत आवमा मात्रै सार्वजनिक निकायहरूमा हुने भ्रष्टाचारजन्य तथा अनियमितताका ११ हजार ७०४ वटा उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । ७ हजार ८७६ वटा उजुरी भने अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको थियो ।

गत आवमा प्राप्त तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका कुल उजुरीमध्ये सात हजार ६५ वटा उजुरी प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको अख्तियारले जनाएको छ । त्यस्तै, ३ सय ६ उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय अख्तियारले लिएको थियो । चार हजार चार सय ९० उजुरीका सम्बन्धमा भने आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइएको अख्तियारको भनाइ छ ।

शिक्षा क्षेत्र सबैभन्दा विकृत

गत आवमा अख्तियारमा प्राप्त उजुरीलाई आधार मान्दा शिक्षा क्षेत्र सबैभन्दा बढी विकृत देखिएको छ । उक्त समयमा कुल उजुरीमध्ये २० दशमलव ३० प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित उजुरीको हिस्सा १५.५४ छ भने भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित ६.८५ प्रतिशत उजुरी अख्तियारमा प्राप्त भएका थिए । त्यस्तै, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४.६०, गृह मन्त्रालयसँग सम्बन्धित उजुरी ४.५७ र वन तथा भू -संरक्षण मन्त्रालयसँग सम्बन्धित उजुरीको हिस्सा ३.८७ छ ।

गत आवमा ७६ वटा बैठकबाट ८६० वटा निर्णय लिइएको अख्तियारले जनाएको छ ।

साढे ११ अर्वको बिगो मागदाबी

अख्तियारले गत आवमा विस्तृत अनुसन्धानपश्चात एक सय ५४ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दाहरूमा दुई सय ६७ जना प्रतिवादीउपर ११ अर्ब ५२ करोड बिगो माग दावी लिइएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामध्ये सबैभन्दा धेरै घूस/रिसवतका छन् । गत आवमा अख्तियारले ५४ वटा घूस/रिसवत सम्बन्धी, ४० वटा झुटा शैक्षिक योग्यता प्रमाणपत्रसम्बन्धी, १८ वटा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी र ११ वटा गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित छन् । त्यस्तै, ११ वटै मुद्दा गैरकानूनी लाभ वा हानी पुर्‍याएकोसँग सम्बन्धी, चार वटा राजश्व चुहावटसँग सम्बन्धित र ६ वटा विविध मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

आयोगबाट विगत वर्षहरूमा विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये गत आवमा १६० मुद्दाको फैसला भएको थियो । ७३.१३ प्रतिशत मुद्दाहरूमा पूर्ण वा आंशिक रुपमा आयोगको मागदावी बमोजिम नै विशेषबाट फैसला भएको अख्तियारको दावी छ ।

कर्मचारीको हानीनोक्सानी सच्याएरै साढे ८ करोड असुल

अख्तियारका अनुसार गत आवमा सार्वजनिक पद धारण गरेका कर्मचारीहरूबाट हानीनोक्सानीहरू सच्याएरै ८ करोड ५५ लाख ८४ हजार रुपैयाँ असुल भएको छ । यस्तै मुद्दामा २ करोड १ लाख रुपैयाँ असुल उपर गर्न सम्बन्धित निकायमा लेखि पठाएको अख्तियारले जनाएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गरी भ्रष्टाचार गरेको पुष्टि भएको खण्डमा त्यसउपर मुद्दा दायर गर्ने संवैधानिक अधिकार आयोगलाई छ ।

अनुसन्धानलाई निष्पक्ष र तटस्थ बनाउन, नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारका कार्यहरू आयोगको प्राथमिकतामा रहेको प्रमुख आयुक्त बस्न्यातले बताए । सुशासन प्रवर्द्धनका लागि अनुचित कार्यमाथिको अनुसन्धान र कारवाही अख्तियारको कार्यक्षेत्र बाहिर पर्नु भ्रष्टाचार नियन्त्रणको प्रमुख चुनौती रहेको उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment