Comments Add Comment

मध्य तराईमा शीतलहर, चिसोको कहर

४ पुस, वीरगञ्ज । चारदिनदेखि राम्रोसँग घाम नलागेका कारण पर्सा, बारा लगायत मध्य तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण कमै मानिसहरु मात्रै घर बाहिर निस्किरहेका छन् । बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन् । त्यस्तै बाहिर श्रम गर्ने श्रमिकहरुलाई चिसोले सताएको छ ।

तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरीब विपन्न समुदायका जेष्ठ नागरिकहरुको वर्षेनी चिसोले कठ्यागि्रएर मृत्यु हुने गरेको छ ।

तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन् । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको बताइन्छ ।

यसवर्ष पनि चारदिनदेखि यस क्षेत्रमा घाम लागेको छैन् । चिसोबाट बच्न मानिसहरु ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन् ।

के हो शीतलहर ? 

हावामा पानीको मात्रा मिलेर गह्रौ हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ । जुन धुवा जस्तो देखिन्छ । त्यसलाई कुहिरो भन्ने गरिन्छ । त्योसँगै चिसो हावा चल्न थालेपछि त्यसलाई शीतलहरु भनिन्छ ।

शीतलहर नेपालको चुरे पर्वत भन्दा दक्षिणको भागमा देखा पर्ने गरेको छ । विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ ।

यसवर्ष पुषको पहिलो साताबाट नै तराईका जिल्लामा चिसो सुरु भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेको हो ।
कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिती दिउँसोमा मात्रै हुन थालेको छ ।

सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

सार्वजनिक स्थलहरुमा मानिसहरु जम्मा भएर आगो बालेर तापिरहेका छन् । खुल्ला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन् ।

प्रभावितका लागि पर्साको तयारी

बिहान बाक्लो हुस्सुसँगै शीत पर्ने र दिनभरी कुहिरो लाग्न थालेका छन् । चिसो बढकै कारण पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा ३ पुस सोमबार जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठक बसेको छ ।

बैठकले चिसोबाट अतिप्रभावित परिवारलाई स्थानीय तह मार्फत कम्बल वितरण गर्न भनेको छ ।

वीरगञ्ज महानगरपालिकालाई कम्तीमा ५ सय थान, नगरपालिकाले २ सय र गाउँपालिकाले १ सय थान कम्बल अनिवार्य वितरण गर्नुपर्ने निर्देशन बैठकले दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी बैठकले अन्य सरोकारवाला निकायलाई पनि आ-आफ्नो तर्फबाट चिसोबाट अतिप्रभावितहरुलाई सहयोग गर्न भनिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । ‘स्थानीय तहलाई कम्तिमा ५ सय, २ सय र १ सय थान कम्बल अनिवार्य वितरण गर्न भनेका छौं, रेडक्रस र युनिसेफले पनि हजार १२ सय वटा कम्बल वितरण गर्छन होला, प्रशासनमा पनि २ सय जति कम्बल जम्मा भएको छ ।’ प्रजिअ सिंहल भने ‘ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाउन पनि भनेका छौं । सँगसँगै सन्देशमुलक सूचना प्रकाशन प्रशारण गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखा मार्फत सबै सञ्चालमाध्यमहरुलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । ‘

अस्पतालमा विरामीहरुको चाप

बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको संख्या बढेको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरु बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकहरुले बताएका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालमा चिसोका बिरामी ४० प्रतिशतको हाराहारीमा छन् । चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्ने जस्ता समस्याले पीडित मानिसहरु बढेको अस्पतालका सूचना अधिकारी रमेश चौधरीले बताए ।

सोही अनुपातमा ओपीडिमा पनि चिसोका विरामीहरु देखिएको उनको भनाइ छ । ‘ईर्मजेन्सी आउने विरामीमा ४० प्रतिशत चिसोकै बिरामी छन्, ओपीडीमा पनि त्यस्तै अवस्था छ ।’ उनले भने ‘ विशेष गरि बालबालिका र वृद्ध वृद्धाहरु चिसोले प्रभावित छन् । उपचारका लागि आउँछन् ।’

नारायणी उपक्षेत्रीय अस्पतालका चर्म रोग विशेषज्ञ डा. अतुलेश चौरसियाका अनुसार अस्पतालमा चिसोका कारण छालामा उत्पन्न हुने विभिन्न समस्या लिएर विरामीहरु अस्पतालमा आईरहेका छन् ।

‘लुतोको समस्या भएका विरामीहरु आईरहेका छन्, एलेपिकट्रमाटाईटिस, एक्जेमाका बिरामीहरु आईरहेका छन् ।’ डा चौरसियाले भने ‘ चिसोमा छाला सुख्खा हुन्छ, त्यसले गर्दा विभिन्न एर्लजीको समस्या देखिएको छ ।’

अस्पतालको एर्मजेन्सीमा औसत दैनिक १ सय जना र ओपीडीमा ७ सयको हाराहारीमा विरामीहरु उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी वीरगञ्जमा रहेका अन्य निजी स्वास्थ्य सँस्थामा चिसोका कारण हुने विभिन्न संक्रमणका विरामीहरु बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment