Comments Add Comment

हेरिटेज ट्रेल रेस माघ १ गते

५ पुस, जुम्ला । आगामी माघ १ गते जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस— २०१८’ सञ्चालन हुने भएको छ ।

कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस—२०१८ सञ्चालन हुनेछ ।

जुम्लाका खेलाडीले अल्ट्रा म्याराथुनलगायत विभिन्न एथ्लेटिक्स खेलमा भाग लिएर राष्ट्रिय ख्याति बनाइसकेको र त्यस्ता खालका खेल जुम्लामा पनि सम्भव छ भनेर देखाउन यसपटक जुम्लामा ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस—२०१८’ आयोजना गरिएको स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

त्यसका साथै अध्यक्ष शाहीले यो खेलका माध्यमबाट कर्णालीको कला, संस्कृतिको संरक्षण र खेल क्षेत्रको प्रवद्र्धन ट्रेल रेस आयोजनाको प्रमुख उद्देश्य रहेको बताए । महिला तथा पुरुष दुवै खेलाडीले भाग लिन सक्ने भन्दै उहाँले यो खेलका लागि रु एक लाख २५ हजार खर्च हुने र सबै क्षेत्रबाट करिब ६० जना खेलाडी सहभागिता हुने अनुमान रहेको औँल्याए ।

उनका अनुसार ट्रेल रेसको रुट चन्दननाथ नगरपालिका क्षेत्रभित्रका मठमन्दिर, डाँडा, वन, पाखापखेरा, खोचलगायतका स्थान हुनेछन् ।

“ट्रेल रेसको शुरुवात चन्दननाथ मन्दिर हुँदै बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुनः चन्दननाथ मन्दिरमा गएर टुंगिने छ,” उनले भने।

जेआर कर्णाली बोर्डिङ जुम्लाका प्रिन्सिपल जीवन गुरागाईले विद्यालय व्यक्तिगत पूँजीबाट सञ्चालित भएपनि यसले आफ्नो विज्ञापनको ८० प्रतिशत खर्च कटाएर खेल जगत्का लागि सामाजिक उत्तरदायित्व बहन गर्न प्रायोजकको भूमिकामा रहेको जनाउनुभयो । “यस कार्यबाट कर्णालीको विकास र उत्थानमा सहयोग पुग्ने विश्वास राखेको छु,” प्रिन्सिपल गुरागाईले भने ।

त्यसका साथै उनले आफ्नो व्यक्तिगत लगानीबाट सञ्चालित आदित्य इन्फोसिस र इम्पेटस टेक्नोलोजी प्रालिबाट हुने वार्षिक मुनाफाको पाँच प्रतिशत रकम प्रत्येक वर्ष कर्णाली स्पोर्टस् क्लब जुम्लालाई दिने वाचा गरे ।

अन्तर्राष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकायाले आयोजित खेललगायत सबै खेलको सम्भावित क्षेत्र कर्णाली भएको तर यसको संरक्षण प्रवद्र्धन र पहिचानका लागि सरोकारवालाले त्यति चासो नदिएको गुनासो गरे ।

धावक रोकायाले भने, ‘रारा अल्ट्रा म्याराथुन दौडपछि हामीले दोस्रो पटक ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ को आयोजना गरेका छौँ, यसले पनि कर्णााली र जुम्ला खेल प्रतिस्पर्धा र मनोरञ्जन दुवैको आकर्षण केन्द्र बन्नेछ ।’

यो खेल आयोजना हुनुले प्रदेश नं ६ कै सान, सम्मान, पहिचान हुने र यसले कर्णाली प्रदेशको खेल पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेलमा भाग लिएर प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १० हजार, ७ हजार र ५ हजार पुरस्कार  दिइने आयोजक क्बलले जनाएको छ ।

क्लबका अनुसार बाहिरबाट आउने खेलाडीलाई घरेलु खेलाडीले व्यक्तिगत होमस्टेको व्यवस्था गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment