Comments Add Comment

दाङ भर्सेस बुटवलः वाम गठबन्धनमा मतभेद

७ पुस, काठमाडौं । प्रदेश ५ को राजधानीलाई लिएर वाम गठबन्धनका नेताहरु दुई खेमामा विभाजित देखिएका छन् । यो प्रदेशमा गठबन्धनको दुई तिहाई पुग्ने देखिन्छ र एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री पक्काजस्तै छ ।

तर, प्रदेशको राजधानी दाङलाई बनाउने कि बुटवल भन्ने बहसमा वाम गठबन्धनका नेताहरु दुई धारमा देखिएका छन् ।

भावी मुख्यमन्त्री पोखरेल दाङका हुन् र उनी दाङलाई नै प्रदेशको राजधानी बनाउने सोचमा छन् । त्यसतर्फ संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले भनेका छन्, बुटवलबाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसोभए हामी सडकमा उत्रिन्छौं ।’

विभाजित वाम गठबन्धन

बुटवलका एमाले उपमहासचिव पौडेल अखण्ड लुम्बिनीको माग गर्दै भएको बटौली आन्दोलनका अगुवामध्ये एक हुन् । यो आन्दोलनमा उनीसँगै एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझी पनि थिए ।

बटौली आन्दोलनका अगुवाहरु अहिले पनि बुटवललाई राजधानी बनाउनुपर्ने मत राख्छन् । यसमा एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल पनि थपिएका छन्, जो रुपन्देही ३ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । कांग्रेस नेता बालकृष्ण खाँड पनि बुटवललाई नै राजधानी बनाउनुपर्ने मत राख्छन् ।

तर, उनीहरु सबै (खाँडबाहेक) प्रदेशसभामा नभई प्रतिनिधिसभा सदस्य चुनिएका छन् ।

अर्कोतिर दाङलाई राजधानी बनाउनुपर्छ भन्ने मत राख्नेहरु पनि हेभिवेट नेताहरु नै छन् । पोखरेलसँगै माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन, एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितका वाम गठबन्धनका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने समूहमा छन् ।

यो विवादमा एमाले उपाध्यक्ष बामदेव गौतमले भने आफ्नो मौनता तोडेका छैनन् । उनी बर्दियाबाट चुनाव लडेका थिए तर, कांग्रेसका सञ्जय गौतमसँग पराजित भए ।

कसरी तोकिन्छ राजधानी ?

प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई हुन्छ । प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको राजधानी कहाँ राख्ने भन्ने निर्णय लिन सक्छ ।

तर, अहिले सरकारले अस्थायी मुकाम तोक्ने तयारी गर्दैछ । भोलि राजधानी बन्न सक्ने जहाँ पूर्वाधार पनि छ, त्यसलाई नै अस्थायी मुकाम तोक्ने तयारी देखिन्छ ।

अहिले राजधानी तोकेसँगै मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय पनि त्यहीँ नै रहनेछ । दाङ र रुपन्देही दुबै जिल्लाका नेताहरुले राजधानीको पूर्वाधार आफ्नो जिल्लामा रहेको दावी प्रस्तुत गरिरहेका छन् ।

दाङको बेलझुण्डीस्थित नेपाल सँस्कृत विश्वविद्यालयको जग्गामा बनाइएको आयुर्वेद शिक्षण अस्पतालको भवनलाई प्रदेश प्रमुखको कार्यालय बनाउन यसअघि नै सिफारिस गरिएको छ । यो भवनमा ठूलो सभाहलदेखि १०८ वटा कोठा छन् । दाङमा बिभिन्न मन्त्रालय र कार्यालयहरुका लागि पनि भवनहरु प्रस्ताव गरिएको छ ।

एमालेले ५ नम्बर प्रदेशको मुख्यमन्त्री शंकर पोखरेललाई बनाउने भनेको छ । तर, उनैले भनेअनुसार राजधानी दाङलाई बनाइएन भने त्यसले मुख्यमन्त्रीको पहिलो गाँसमा नै ढुंगो लागेको महसुस गर्नु स्वाभाविकै हुनेछ ।

भावी मुख्यमन्त्री पोखरेल भूगोल र सुगमता लगायतका सबै हिसाबले दाङ नै ५ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त हुने दाबी गर्छन् ।

तर, लुम्बिनीमा राजनीति गर्ने प्रभावशाली नेताहरुको स्वार्थ बुटवलसँग जोडिएकाले उनीहरु दाङलाई प्रदेशको राजधानी बनाउने पक्षमा छैनन् ।

हेरौं, अब एउटै पार्टीका नेताहरुको पनि दुईतिर मुख फर्किएको अवस्थामा सरकारले ५ नम्बर प्रदेशको राजधानी कहाँ तोक्ने हो ।

यसमा पक्कै पनि अब जनस्तरबाट पनि बहस सुरु हुने संकेतहरु देखिन थालिसकेका छन् । बुटवलका जनताले प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने आवाज उठाउने र दाङका जनताले दाङमा माग गर्ने अवस्था आयो भने यसबाट नेतामात्रै होइन, प्रदेशका जनतामा पनि विवाद फैलन सक्ने खतरा देखिएको छ ।

कपिलवस्तुको आफ्नै दाउ

कपिलवस्तुका सांसदहरु भने दाङ र बुटवलको विवाद बढीरहेका बेला कपिलवस्तुलाई नै प्रदेश राजधानी तोकेर फाइदा लिने दाउमा छन् ।

कपिलवस्तु क्षेत्र नम्बरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी नेता चक्रपाणि खनाल ‘बलदेव’ले भने, ‘बर्दिया र नवलपरासीको बीचमा कपिलवस्तु पर्ने भएकाले यहाँ नै राजधानी तोक्दा उपयुक्त हुन्छ ।’

कपिलवस्तुको सिमाना दाङसँग जोडिएकाले बुटवलभन्दा दाङ नै नजिक हुन्छ । तर हालको अवस्थामा औषधि उपचार, अध्ययन, किनमेल, व्यापार व्यवसाय गर्न कपिलवस्तुबासीलाई बुटवल पायक पर्दछ । त्यसैले यदि भोट हाल्नैपर्ने अवस्था आयो भने कपिलवस्तु बुटवलको पक्षमा उभिने सम्भावना बढी देखिन्छ ।

यस्तो छ गणित

दाङसहित बर्दिया, बाँके, रोल्पा, प्यूठान र रुकुम पूर्वका सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा छन् । प्रदेश ५ को सबैभन्दा पश्चिमको जिल्ला बर्दियाका बासिन्दालाई राजधानी आउजाउ गर्न दाङ नजिक हुन्छ । यद्यपि बर्दियाका नेताहरूले मुख खोलिनसकेकाले राजधानी बनाउने स्थान बुटवललाई रोज्छन् कि दाङलाई भन्न सकिने अवस्था छैन ।

यसैगरी रुपन्देहीसहित कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र नवलपरासी पश्चिमका सांसद भने बुटवल राजधानी हुनुपर्ने पक्षमा देखिन्छन् ।

अहिले समानुपातिक सिट बाँडफाँट भइनसकेको अवस्थामा दाङको पक्षमा प्रतिनिधिसभामा निर्वाचित बाहेकका सांसदहरुको संख्या २२ देखिन्छ । उता बुटवलको पक्षमा ३० जना छन् ।

त्यसैले एमाले नेता विष्णु पौडेल भोटिङ भइहाले पनि आफूहरुको पक्षमा बहुमत पुग्ने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘राजधानी कहाँ हुने भन्ने कुरा प्रदेशसभाले निर्णय गर्ने हो । प्रदेशसभामा दुई तिहाइभन्दा बढी मत रुपन्देहीमा हुनुपर्छ भन्ने आधार हामीले तयार गरेका छौं । प्रदेश राजधानी बुटवलमै हुन्छ ।’

 पोखरेल भन्छन्- प्रदेश राजधानी दाङ हुन्छ, प्रमुख पनि दाङले नै पाउँछ

भावी मुख्यमन्त्री पोखरेल भने प्रदेशको राजधानी दाङ हुने र प्रदेश प्रमुख पनि दाङले नै पाउने बताउँछन् ।

उनले भने- बिभिन्न कोणबाट चर्चा चलाउने चलन छ । यसलाई मैले अस्वाभाविक पनि ठान्दैन । वाम गठबन्धनभित्रै समस्या पैदा हुन्छ कि भन्ने प्रश्न छ, त्यसलाई म्यानेज गर्ने कुरा हो । यसलाई मैले ठूलो विषय मानेको छैन । प्रदेशको राजधानी दाङ हुन्छ, प्रमुख पनि दाङले नै पाउँछ ।’

दाङ घर भएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि बर्दियादेखि नवलपरासी पश्चिमको बीचमा दाङ पर्ने भएकाले राजधानी पनि दाङ नै हुनुपर्ने बताउँछन् । उनले दाङ बुटवलभन्दा सुरक्षित रहेको दाबी गरे ।

उनले बुटवलको नाम नलिइकन भने, ‘अरु देशको बोर्डरतिर राजधानी बनाउनु हुँदैन । सुरक्षाको दृष्टिकोणले पनि दाङ सुरक्षित छ । यहाँको हावापानी राम्रो छ र पूर्वाधार पनि प्रशस्त छ ।’

यो पनि पढ्नुहोस्

प्रदेश ५ को राजधानी दाङ घोषणा हुन्छ : महरा

अध्ययन टोलीको निष्कर्ष-प्रदेश ५ को राजधानी दाङ उपयुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment