७ पुस, घोराही । सरकारको अध्ययन टोलीले प्रदेश नम्बर ५ को राजधानी दाङमा स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधान संयोजकत्वको प्रदेश राजधानी सम्भाव्य स्थानको पहिचान, अध्ययन तथा विश्लेषण समितिले यस्तो निष्कर्ष निकालेको हो ।
अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भने, ‘राजधानीका लागि आवश्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अवस्थामा रहेको पाइयो । भूगोल, सुरक्षा, हावापानी जस्ता सबै हिसाबले दाङ प्रदेश राजधानी बनाउन उपयुक्त रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाउँछौं ।’
अध्ययन प्रतिवेदन आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने तयारी गरिएको उनले जानकारी दिए ।
आयुर्वेद भवनमा संसद र सात मन्त्रालय प्रस्ताव
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको नवनिर्मित आयुर्वेद भवनमा प्रदेश सभा हल, सात वटा मन्त्रालय, सभामुख, उपसभामुखको कक्ष, मुख्य मन्त्रीको कक्ष र संसदीय दलको कार्यालय बनाउन उपयुक्त रहेको प्रतिवेदन तयार पारिएको छ । यस भवनमा १०८ वटा कोठाहरु छन् ।
त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, कृषि विकास बैंकको आवास कक्षलाई मुख्यमन्त्रीको आवासका रुपमा प्रयोग गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
घोराहीका जिल्ला कृषि बिकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, शिक्षा कार्यालय, जिल्ला वन, जिल्ला प्राविधिक कार्यालयको भवनलाई मन्त्री र सचिवहरुको निवासकारुपमा प्रयोग गर्न सकिने गरी अध्ययन विश्लेषणसहितको प्रतिवेदन तयार पारिएको सदस्य सचिव पाण्डेले जानकारी दिए ।
प्रधान नेतृत्वको टोलीले दाङमा दुई दिनसम्म बसेर देउखुरी, सदरमुकाम घोराही र बेलझुण्डीमा निरीक्षण तथा अध्ययन अवलोकन गरेको थियो ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4