Comments Add Comment

ट्राफिक लाइटमा नेपाली प्रविधिकै परीक्षण, युरोपियनभन्दा ५ गुणा सस्तो !


१० पुस, काठमाडौं । सडक विभागले काठमाडौंमा ट्राफिक लाइट जडानका लागि नेपाली प्रविधिकै परीक्षण गर्ने भएको छ । अहिलेको योजनाअनुसार काम भए अर्को हप्ताभित्रै काठमाडौंको बानेश्वरमा फेरि ट्राफिक लाइट बल्न सुरु गर्नेछ ।

त्यसलगत्तै महाराजगञ्जमा पनि नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट जोडिनेछ । यसका लागि अहिले नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् ।

अनुमान लागतभन्दा बढी मूल्यमा बोलपत्र हालिएपछि यसअघि ट्राफिक लाइट जडानका लागि तीन पटक गरिएका टेण्डर फेल भएका थिए । अब भने नेपाली प्राविधिकले सस्तो प्रविधिको प्रस्ताव ल्याएका छन् ।

अहिले पाइलट प्रोजेक्टको रुपमा बानेश्वरमा नेपाली इलेक्ट्रिक तथा कम्प्युटर इन्जिनियरहरु आफैं विकास गर्ने प्रविधिमा आधारित अनुसार लाइट जडान गर्न अन्तिम तयारी भइरहेको सडक विभागका ट्राफिक युनिट प्रमुख दीप बिरहीले जानकारी दिए । उनकाअनुसार महाराजगञ्ज चोकमा जोडिने ट्राफिक लाइटको खर्च काठमाडौं महानगरपालिकाले ब्यहोर्नेछ ।

नेपाली प्राविधिकले वर्षौंदेखि बिग्रिएर बसेका पुराना लाइटलाई समेसम्म उपयोग गरेर प्रविधि विकास गर्न प्रस्ताव गरेका थिए ।

त्यसैमा सहमत भएर विभागले पुराना बिगि्रएका बत्ती र तिनका पूर्वाधार प्रयोग गर्ने गरी दुई चोकहरुमा पाइलट प्रोजेक्टकाम रुपमा सडक बत्ती ब्युँताउने निर्णय गरेको थियो ।

यदि नेपाली प्राविधिकको यो प्रोजेक्ट सफल भए अन्य ३५ वटा चोकमा पनि यही प्रविधि प्रयोग सुरु गरिने बिरहीले बताए ।

निकै लामो समयदेखि बिग्रिएर बसेका लाइटहरुलाई सडक विभागले ‘काम नलाग्ने’ आएको थियो । तर, स्मार्ट ट्राफिक लाइट जोड्ने योजना असफल भएपछि अब पुनः तीनै हेलामा परेका लाइटले काठमाडौंको सवारी व्यवस्थानको ‘जिम्मा’ लिने अवस्था आएको छ ।

‘अहिले नेपाली प्राविधिकले प्रस्ताव गरेको प्रविधि पनि स्मार्ट नै हो । एउटा चाकेमा न्युनतम् १६ लाख रुपैयाँ खर्च गर्दा ट्राफिक लाइट सिस्टम रन गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ छ,’ बिरहीले भने,’यो प्रविधि योभन्दा अघि प्रस्तावितभन्दा निकै सस्तो पनि छ ।’

यसअघि एडीबीको सहयोगमा जोड्न लागिएको ट्राफिक लाइट सिस्टमको लागत अनुमान ३५ करोडभन्दा बढी थियो । यसअनुसार नेपाली प्राविधिकले झण्डै ५ गुणा सस्तो त्यस्तै प्रविधि दिन सकिने बताएका छन् ।

अहिले सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिरिदएको हो ।

केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत चोकहरुमा अझै पनि पुराना ट्राफिक लाइट अलपत्र अवस्थामा छन् ।

त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइटहरु राखिएका थिए । ती लाइट पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

उपत्यकामा विभिन्न २०भन्दा बढी स्थानमा ट्राफिक बत्ती बिगि्रएका अवस्थामा छन् । यसअघि अधिकांश लाइटहरु बनाउन नै नसकिने अवस्थामा रहेको भन्दै सडक विभागले त्यसको मर्मतमा चासो दिएका थिएन ।

काठमाडौंमा लाइट नहुँदा ठूलो ट्राफिक जनशक्ति यात्रु र गाडीलाई इशारा गर्नमा नै खर्च भएको छ । यसले पाँच गुणासम्म ट्राफिक प्रहरी सडकमै सवारी सवारी व्यवस्थापन गरिरहनुपरेको अवस्था छ ।

पुरानो लाइट मर्मतको प्रशंग चल्दै गर्दा एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडानको योजना भने असफल भएको छ । यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड बजेट पनि फ्रिज भएको छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टमको सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेण्डर गर्दा पनि ‘ओभर बीड’ अर्थात् लागत अनुमानभन्दा माथि नाघेर टेण्डर भएकाले यसलाई स्थगित गरिएको आयोजनाले जनाएको छ ।

एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो ।

तर, अनुमानभन्दा बढी मूल्यमा टेण्डर परेपछि यो सिस्टम जोड्नै सरकार असफल भयो । तर, नेपाली प्राविधिकले पुरानै खम्बासहितका पूर्वाधार प्रयोग गरेर ५ गुणा सस्तो मै जडान गर्न सकिने प्रस्तावले विभाग उत्साहित छ ।

युरोपको जस्तो लाइट बाल्ने योजना असफल भएपछि सडक विभाग फेरि अवहेलनामा परेको पुरानै लाइटलाई नेपाली प्रविधिमै आधारित भएर ब्युँताउने तयारीमा लागेको छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल काठमाडौंमा झण्डै २ सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अवस्था रहेको बताउँछन् । त्यसका लागि सडक विभाग आफैंले चरणबद्ध रुपमा काम थाल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment