Comments Add Comment

अब राजमार्ग मात्रै होइन, पुल पनि चार लेनका

सुरुवात भारत जोड्ने महाकाली नदीको पुलबाट


१३ पुस, काठमाडौं । सरकारले आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीति छ ।

सोही नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार गर्न थालेको हो, सरकारले ।

यसको शुरुवात सरकारले महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई लाभ मिल्ने गरी महाकालीमा चार लेनको पुल बनाउन लागिएको हो । करिब तीन अर्ब रुपैयाँमा बन्न लागेको उक्त पुलका लागि अहिले प्राविधिक तयारीहरु भइरहेको छ ।

विभागले अब महत्वपूर्ण मानिएका पुललाई चार लेनमै बनाउन जरुरी रहेको निष्कर्ष निकालेको छ ।

सडकहरुमा सवारीको चाप बढ्दै गएकाले त्यसलाई थेग्न सक्ने पुल निर्माण गर्न विभागले यस किसिमको योजना तयार गरेको हो ।

दूधौरा पुल पनि चार लेनमै

सडक विभागले पूर्व-पश्चिम राजमार्गअन्तर्गत् बाराको पथलैया-निजगढ खण्डको दूधौरा खोलाको पुल पनि चार लेनमै विस्तार गरिने सडक विभागका पुल महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए ।

लगातारको वर्षापछि गत साउनमा आएको बाढीले दूधौरा पुल भासिएको थियो । पथलैयाबाट तीन किलोमिटर पूर्वमा रहेको दूधौरामा रहेको पुल ०७३ को वर्षायाममा पनि भासिएको थियो ।

पुलका दुईतर्फकै पिल्लर भासिएपछि विभागले विकल्पमा चार लेनको पुल निर्माण गर्न लागेको हो ।

अब वर्षाका लागि सवारी आउजाउ गर्न अर्को बेलिब्रिज राखेर चार लेनको पुल बनाउन शुरु गरिने थापाले जानकारी दिए ।

‘त्यो पुलमा समस्या देखिएकाले अब विकल्पमा नगई नहुने भयो । त्यसैले अब नयाँ पुल निर्माणका लागि टेन्डरमा जाँदै छौं,’ थापाले भने, ‘अबको एक महिनाभित्रै बोलपत्र आह्वान गर्छौं ।’

सरकारले निजगढबाट काठमाडौं जोडिने फास्ट ट्रयाकलाई लक्षित गर्दै पथलैया-निजगढ खण्डलाई चार लेनमा तत्काल स्तरोन्नति गर्दैछ । त्यसैका करण पनि उक्त खण्डमा बन्ने नयाँ पुललाई पनि चार लेनमै बनाउन लागिएको थापाले बताए ।

‘यो खण्डको सडक एकदमै सीधा लाइनमा छ । त्यसैले सवारी साधनले पुलमा आएपछि पास हुनका लागि रोकिनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्य हो,’ थापाले भने ।

उक्त पुल निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मुख्य राजमार्गलाई नाकाहरुसँग जोड्ने सडक फराकिलो बनाउने योजनाअनुरुप सरकारले वीरगन्ज-पथलैया र जनकपुर-जटहीको सडक पनि ६ लेनको बनाउँदैछ ।

सडकअनुसारकै पुल

भैरहवा-बुटवललाई ६ लेनमा विस्तार गरिसकेको सरकारले अन्य नाका जोड्ने मार्गलाई पनि विस्तार गर्ने योजना बनाएको छ । गड्डाचौकीदेखि महाकाली नदीपारिका गाउँ दोधारा र चाँदनीसम्म पनि ६ लेनको सडक बन्दैछ ।

सरकारले पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-बुटवल-गड्डाचौकी, पृथ्वी राजमार्गको काठमाडौं-पोखरा, अरनिको राजमार्गको सूर्यवनायक-धुलिखेल-तातोपानी र भैरहवा-लुम्बिनी-तौलिहवा-बहादुरगञ्ज सडकलाई चार लेनको आधुनिक राजमार्गमा स्तरोन्नति गर्ने घोषणा गरिसकेको छ । यी मार्गका विभिन्न खण्डमा अहिले सडक विस्तार भइरहेको छ ।

बुटवल-नारायणगढ खण्ड पनि विस्तारका लागि ठेक्का लगाइँदैछ । पोखरा-मुग्लिन खण्डको विस्तारका लागि तयारी गरिँदैछ ।

सवारीको चाप बढेपछि विस्तार हुन लागेका राजमार्गका धेरै पुलहरु पनि जोखिममा छन् । शहरका छेउमा रहेका नदीका पुलहरु सवारीको चाप उच्च छ । सोही कारण सरकारले अब बन्ने पुलहरुलाई सकेसम्म चार लेनमै निर्माण गर्ने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment