Comments Add Comment

फुटबलर बने लाइबेरियाको नयाँ राष्ट्रपति

१४ पुस, काठमाडौं । चेल्सी, म्यानचेष्टर सिटी र एसी मिलानका पूर्व स्ट्राइकर जोर्ज वेह लाइबेरियाको राष्ट्रपति निर्वाचित भएका छन् ।

५१ वर्षीय वेहले सन् १९९५ मा बालोन डि’ओर जितेका थिए । उनी बालोन डि’ओर जित्ने पहिलो पटक गैरयुरोपियन फुटबलर हुन् । उनले १८ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई २००३ मा विश्राम दिएका थिए ।

फुटबल छाडेपछि राजनीतिमा प्रवेश गरेका उनी लाइबेरियाको संसद सदस्य बने ।

लाइबेरियाको राष्ट्रिय निर्वाचन आयोगले वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । ९८.१ प्रतिशत मत गणना भएको छ र वेहले ६१.५ प्रतिशत मत पाएका छन् ।

उनले एलेन जोनसन सर्लिफको ठाउँ लिनेछन्, जो अफ्रिकाकै पहिलो निर्वाचन महिला राष्ट्रपति हुन् । उनी वेहलाई नै पराजित गरेर २००५मा राष्ट्रपति बनेकी थिइन् ।

फुटबलरदेखि राष्ट्रपतिसम्म

वेह १९९० को दशकका केही वर्ष विश्वकै उत्कृष्ट स्ट्राइकर मध्ये एक थिए । उनको जीवनको चर्चित क्षेत्र भने एसी मिलानका लागि खेल्दा १९९६ मा रहृयो, जब उनले एक्लो प्रयासमा भेरोनाविरुद्ध गोल गरे । डि्रडब गर्दै बल अघि बढाउँदा पेनाल्टी एरियामा विपक्षी सबै खेलाडीको सामना गर्नुपरेको थियो ।

१९८८ मा मोनाको आएका उनले ४ वर्षमा लिगमा ४७ गोल गरे र पेरिस सेन्ट जर्मेन गए । १९९४ मा उनले लिग उपाधि जिते र अर्को वर्ष च्याम्पियन्स लिगमा टप स्कोरर बने । १९९५ मा वेह इटालियन क्लब एसी मिलान लागे ।

उनको टिमले पहिलो सिजन नै सिरी ए जित्यो । १९९९ मा फेरि लिग जित्यो तर, वेह इंग्लिस क्लबमा आए । त्यहाँ भने उनले धेरै गोल गर्न सकेनन् ।
चेल्सीबाट एफए कप जितेका उनी फेरि फ्रान्सतिर लागे ।

व्यवसायिक फुटबलमा सफल वेहले लाइबेरियालाई विश्वकपमा पुर्‍याउन भने सकेनन् ।

लाइबेरियामा खुसियाली

राष्ट्रिपति निर्वाचित भएपछि जोर्जले ट्वीटरमार्फत् भनेका छन्, ‘लाइबेरियाका मेरा साथीहरु, म पूरै देशको भावनाको सम्वोधन गर्नेछु । म आज जिम्मेवारी र महत्वलाई बुझ्दछु । अब हामी परिवर्तन उन्मुख छौं ।’

जासेफ बोआकीलाई हराउँदै जोर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ ।

सन् २००५ को राष्ट्रपति चुनावमा एलन जोनसन सर्लिफसँग पराजित भएका जोर्ज यसपटक भने जित निकाल्न सफल भए । सर्लिफको शासन सन् २००६ मा शुरु भएको थियो । गृहयुद्धपछि विद्रोहीका कारण तत्कालीन राष्ट्रपति चार्ल्स टेलरले सत्ता गुमाएपछि सर्लिफ सत्तामा आएकी थिइन् । टेलर हाल युद्ध अपराधको मुद्दामा व्रिटेनमा ५० वर्षको सजायँ काटिरहेका छन् । टेलरले सन् १९८० र ९० को दशकमा हिंसक विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९७ मान चुनाव जितेका थिए ।

लाइबेरियाका केही खास कुरा

पश्चिम अफ्रिकामा पर्ने लाइबेरियामा दशकौंसम्म गृहयुद्ध चलेको थियो । दास प्रथाबाट मुक्त भएका अमेरिकी नागरिकले १८२० मा लाइबेरिया देश बनाएका थिए र यहाँ १८४७ मा अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्रको जन्म भयो ।

आइबेरिया अंग्रेजी शब्द ‘लिबर्टी’बाट बनेको हो जसको अर्थ हुन्छ स्वाधिनता । यस देशको एकातिर समुद्र छ भने बाँकी सबैतिर गिनी, सिएरालियोन र आइभरीकोष्ट पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment