Comments Add Comment

जनमत संग्रहपछि बाहिर निस्केको ल्होछारको फेरिँदो संस्कृतिञ

गण्डक प्रदेशको साझा पर्व, ल्होछार कि लोसार ?


अंग्रेजी नयाँ वर्षको स्वागतमा पोखरा उत्सव मनाइरहेको छ । गुरुङहरुको शहर पोखरामा अहिले देशविदेशकै पाहुना रमाइरहेका छन् । गुरुङहरुको थातथलो गण्डकी क्षेत्रमा आफ्नै नयाँ वर्ष तमु ल्होछारले अर्को उत्साह थपेको छ ।

पराम्परागत हिसाबले गामठाममा मनाइने तमु ल्होछार ०३६ सालको जनमत संग्रहपछि बाहिर निस्केको हो । ०३६ सालपछि सार्वजनिक कार्यक्रम गरी गुरुङ हकहितको माग र केन्द्रको ध्यानाकर्षण गराउँदै बाहिर निस्केको तमु ल्होछारले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक मुद्दा उठाउँदै लामै यात्रा पार गरिसकेको छ ।

पहिले तिहारमा देउसीभैलो खेलिन्थ्यो । देउसीभैलोमा मदिरा, रोटी, धान, चामल दिन्थे । मदिरा र रोटी त उतिखेरै खाइहाल्ने कुरा भयो । चियाको चलन थिएन, त्यतिबेला । चामल, धान, पैसा राख्थे र पुसे १५ को दिनमा सेलरोटी बनायो, भात पकायो ।

धेरै पैसा छ भने राँगो किन्ने । राँगा नखाने कमै हुन्थे । पैसा कम छ भने बाख्रा काटेर मासुभात, मदिरा, मासु, सेलरोटी खाने चलन थियो । त्यसलाई खुवा भनिन्थ्यो । ‘ल आजदेखि चाहिँ वर्ग फेरियो’ भन्दै खुशीयाली गरिन्थ्यो ।

अहिलेजस्तो धुमधाम र्‍याली निकालेर, आमसभा गरेर ल्होछार मनाउने चलन थिएन । नेवारहरुको पनि म्ह पूजा न्हुँदया भिन्तुना अहिले धुमधामले र्‍याली गरेर मनाउँछन् । कात्तिक शुल्क प्रतिपदाको दिन ‘ल आजदेखि नेपाल सम्वत फेरियो’ भनेर म्ह पूजा गर्ने, भोज खाने चलन थियो ।

२०३६ सालमा जनमत संग्रहको घोषणा भयो । अहिलेभन्दा बढी लोकतन्त्र आएथ्यो त्यसबेला । त्यतिखेर म्ह पूजाको दिनमा विशाल र्‍याली निस्क्यो । त्यस्तो र्‍याली अहिलेसम्म निस्केको छैन । र्‍यालीले काठमाडौं, भक्तपुर, पाटन परिक्रमा गरेर आमसभा गर्‍यो । न्हुँदया भिन्तुना भनियो, नेपाल सम्वत अब राष्ट्रिय सम्वत भनेर नारा लगाइयो ।

म काठमाडौं पुलचोकमा बस्थें । त्यतिखेर काठमाडौंमा तमु धिं नेपाल भनेर एउटा संस्था थियो । ‘नेवारहरुले धुमधाम गरेका छन् यहाँ, हाम्रो पनि ल्होछार भन्ने छ नि त, गरम् न’ भनेर तमु धिं नेपालका पदाधिकारीहरुलाई कुरा राखें । लाजिम्पाटमा डा. हर्कबहादुर गुरुङका जेठान कृष्णबहादुर गुरुङको घरको माथिल्लो तलामा तमु धिंको अफिस थियो ।

२०३६ सालको पुसे १५ को दिनमा त्यहाँ कार्यकारिणी सदस्यहरु र अरु पनि बसेर ल्होछार भनेको यो हो, यस्तो हो भनेर मैले अथ्र्याएँ । ०३७ सालदेखि अहिले जहाँ कन्या क्याम्पस छ, त्यतिखेर कन्या स्कुल थियो । त्यहाँको एउटा हलमा कार्यक्रम गरेर हामी बाहिर आयौं । ०३७ र ०३८ सालमा त्यहीँ कार्यक्रम भयो ।

त्यसपछि ठूलो ठाउँ खोजी गरेर कार्यक्रम हुन थाल्यो । अहिले नेपालभर मात्रै नभएर हङकङ, युके, अमेरिका लगायत जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ र्‍याली निकालेर, आमसभा गरेर कार्यक्रम हुन थालेका छन् । नाचगान गर्ने, खेलकुदका कार्यक्रम राख्ने प्रमुख अथिति बनाउने गरियो ।

यसरी संस्थागत रुप लियो । राजनीतिकरण पनि भयो । गुरुङका हकहितका कुरा गर्ने, प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने, माग राख्ने गरी ल्होछार मनाइँदै आएको छ ।

सार्वजनिक बिदाको सुरुवात

अहिले ल्होछारमा सरकारले सार्वजनिक बिदा दिन्छ । त्यतिबेला बिदा दिने चलन थिएन । त्यो कसरी सुरु भयो त ? गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । उनीसँग्ा पोखराका गुरुङहरुले माग राखे, ‘ल्होछारमा सार्वजनिक बिदा हुनुपर्छ ।’

एकपटक फेरि मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तामाङहरुले ल्होछारमा बिदा माग गरे । माघ शुक्ल प्रतिपदाको दिन जस-जसले ल्होछार मान्छन्, उनीहरुलाई बिदा भनेर मनमोहन अधिकारीले दिए, अरुलाई होइन ।

मनमोहनले माघ शुक्ल प्रतिपदाको दिन ल्होछार मान्नेहरुलाई मात्र बिदा दिए । पछि पृथ्वीसुब्बा गुरुङ संस्कृति मन्त्री भएपछि तीन वटा ल्होछारलाई सार्वजनिक बिदा भनेर घोषणा गरिदिए ।

तमु ल्होछार पुसे १५, सोनाम ल्होछार माघ प्रतिपदा र ग्याल्बो ल्होछार फागुन प्रतिपदामा सार्वजनिक बिदा दिने चलन यसरी शुरुवात भयो । तीन वटा ल्होछारको त बिदा भयो । तर, एउटा अझै छुटेको छ । किनकि, उनीहरुको आवाज पुगेन । तोला ल्होछार मान्नेहरु थोरै छन् । मनाङ, हुम्लातिरकाले तोला ल्होछार मान्छन् । यो पौष शुक्लपूणिर्मामा पर्छ । संख्या थोरै भएकै कारण उनीहरुको आवाज पुगेन ।

ल्होछार गण्डकी प्रदेशको साझा पर्व

हुन त, नेपालका सबै तीर्थस्थल साझा हुन् । पर्व एकै दिन तर मनाउने तरिका फरक-फरक । नेपाली संस्कृतिको प्रकृति यस्तो छ कि एउटै तीर्थस्थलमा विभिन्न समुदायका मान्छे जान्छन् । जस्तै एउटै नदीमा सबै स्नान गर्न जान्छन् तर कर्मकाण्ड आ-आफ्नो हुन्छ । पुसे १५ गण्डकी प्रदेशको साझा पर्व हो ।

गण्डकी प्रदेशको भूभागलाई हावापानीका हिसाबले चार भागमा विभाजन गर्न सकिन्छ । हिमालदेखि उत्तरपट्टकिो भोट । भोट भन्नेबित्तिकै हामी तिब्बत सम्झन्छौं तर हिमालपारिका क्षेत्रलाई पनि भोट भनिन्छ, अन्त होइन, गण्डकी प्रदेशको मात्रै ।

जहाँ भोट संस्कृति र सम्प्रभुता छ । हिमालयको दक्षिण पाटोमा काँठ र कछाड भन्ने छ । हिमालको तत्कालको चिसो ठाउँ त्यो काँठ हो, त्यो तमुवान हो । तमुवान भनेको गुरुङ भाषा र संस्कृतिको वर्चश्व भयो । तलपट्टकिो घमाइलो ठाउँ कछाड हो । त्योचाहिँ मगर भाषा र संस्कृतिको बाहुल्य रहेकाले त्यसलाई मगराँत भनियो । महाभारत चुरे पर्वतदेखि तलको भावर प्रदेश हो, थारुवान । जहाँ थारु भाषा र संस्कृतिको बाहुल्य छ ।

कछाड अर्थात् पहाडी क्षेत्र खस भाषा र संस्कृति भएको ठाउँ पनि हो । खसहरु चाहिँ पूर्वतिर बढ्दै-बढ्दै आएर गण्डकी प्रदेशको कछाड मगराँत प्रदेशमा आएपछि खस भाषा र संस्कृतिको पुनर्विकास भयो । खस भाषा र संस्कृतिको पुनर्विकास भएको थलो भएका हुनाले गण्डकी प्रदेशको कछाड भाग मगराँत, खसान्त भनियो ।

भनेपछि यहाँको प्रमुख जाति गुरुङ, मगर र खस भए । खस भन्नाले क्षत्री, बाहुन हुन् । अहिले ब्राह्मण, क्षत्री भनिन्छ । मैले जान्दा ब्राह्मण, क्षत्री भन्ने थिएन । खसबाहुन भनिन्थ्यो । खस भनेको क्षेत्र र बाहुनः खसबाहुन । अहिले खसआर्य भनेर नयाँ शब्दावली बनाइएको हो ।

यसरी गण्डकी प्रदेशको प्रमुख जाति भनेको काँठको गुरुङ, कछाडको मगर, कछाडकै फेरि खस बाहुन । यही सम्मिश्रण पुसे १५ मा पनि छ । पुसे १५ मा खसबाहुनले नयाँ वर्ष मान्दैन, भन्दैन । तर, के मान्यता राख्छ भने अब पुसे १५ देखि दिन लामो हुँदै जान्छ भनेर अनदी चामलको लट्टे र कालो मासको फुरौला खान्छ । दिन लामो हुँदै जान्छ है भन्नुको अर्थ के त ? नयाँ वर्ष नमाने पनि नयाँ वर्षको संकेत भने गर्छ ।

यस्तै, मगरहरुले पनि यसलाई नयाँ वर्ष मान्दैनन् । तर, मगर युवायुवतीले पुसे १५ मा खुवा खाएर आफ्नो जीवनसाथी खोज्ने परम्परा छ । मगरहरुको गृहस्थ जीवनको शुरुवात पनि पुसे १५ बाट हुने भयो । खसबाहुनले दिन लामो हुँदै जान्छ है भने, मगर युवायुवतीले अब रमाइलो घमाइलो भयो भने र त्यही पर्वलाई गुरुङहरुले नयाँ वर्ष भने । त्यसैले पुसे १५ गण्डकी प्रदेशकै साझा पर्व हो ।

ल्होछार कि लोसार ?

ल्होछार तिब्बत भइकन यहाँ आएको हुँदा चिनियाँ तिब्बती ज्योतिषशास्त्रको पात्रोअनुसार मानियो । तिब्बतमा चिनियाँ तिब्बत ज्योतिषको सूत्र प्रतिपादन भएको हो । लोसार भनेको तिब्बती भाषाको मूल शब्द हो । लो भनेको वर्ष र सार भनेको नयाँ ।

तिब्बती व्याकरणमा विशेषण पछाडि हुन्छ । जस्तैः मसीरातो भनिन्छ, हाम्रोमा जस्तो रातोमसी भनिँदैन । लो भनेको वर्ष र सार भनेको नयाँ । लोसार भन्यो । भाषाशास्त्रले भन्छ नि मूल शब्दलाई जस्ताको तस्तै प्रयोग गर्‍यो भने तत्सम हुन्छ ।

हिमाली क्षेत्रमा लोसारलाई लोसारै भन्छन् । त्यो तत्सम भयो । थाकखोलाका थकाली, उच्चपहाडी भेगका तामाङ र गुरुङले ल्होछार भन्छ । लोबाट ल्हो भयो, सारबाट छार भयो । त्यो तत्भव भयो । त्यो तिब्बती मूल शब्दबाट भएको तत्भव भयो ।

गुरुङको माउ भाषा तिब्बती हो । तिब्बती त अचेल भन्न थालियो, भोटे भाषा । तिब्बती भाषाबाट विकास हुँदै हुँदै अहिलेको गुरुङ भाषा आयो । चार वटा शृंखला पार गरेर आएको छ । पैंकी भनेको भोटे भाषा, चोंकी भनेको उच्चभेगको भाषा । तलपट्टकिो लोकी भाषा र तमुकी भनेको गुरुङ भाषा ।

भोटे भाषामा लोसार र गुरुङ भाषामा ल्होछार भन्न थाल्यो । आˆनो शब्द पाइएन भने सहोदर भाषामा खोज्न पर्‍यो । त्यसमा पनि पाइएन भने माउ भाषामा खोज्नुपर्‍यो । तर, गुरुङको त आफ्नै भाषा र शब्द छ नि । आˆनो शब्द ल्होछार छँदाछँदा माउ भाषाको शब्द किन बोल्ने ?

गुरुङमा ल्हो भनेको वर्ग भयो, छार भनेको नयाँ । अर्थ त लोसार भनेको पनि नयाँ वर्ष, ल्होछार भनेको पनि नयाँ वर्ष । त्यस कारण आˆनै भाषाको शब्द छँदाछँदै भोटेभाषा किन बोल्ने ?

मूल लोसारचाहिँ तोल लोसार हो, पौष शुक्ल प्रतिपदामा प्रवर्द्धन हुने । कतिपय वैदिक संस्कृति लोप भयो । वेदांग ज्योतिषशास्त्र वेदको रचना हुँदाको हो । अहिले ज्योतिष र वेदांग ज्योतिष धेरै फरक छ ।

चिनियाँ तिब्बती ज्योतिषशास्त्र अनुसारको तोल लोसारको प्रवर्द्धन पनि पौष शुक्ल प्रतिप्रदामा हुन्छ । चिनियाँ तिब्बती ज्योतिषशास्त्रको तोल लोसार र भारतीय ज्योतिषशास्त्रअनुसारको पौष शुल्क प्रतिप्रदा पनि उही टुंगोमा ल्याएको छ ।

ज्योतिषशास्त्रले भारतीय संस्कृति र तिब्बती संस्कृति दुवैलाई एउटै टुंगोमा ल्याएर जोडेको छ । वैदिक संवतसरले पनि पौष शुल्क प्रतिपदाका दिनदेखि नयाँ वर्ष शुरु भएको मान्छ । भोट क्षेत्रमा हुँदा त गुरुङहरुको पनि त्यही पौष शुल्क प्रतिपदा नै लोसार हो ।

पुसे पन्ध्रम्लाई मान्न थालेकोचाहिँ तल झरेर अरु जातिसँगको निकटताका कारणले हो । तल कछाडतिर झरेपछि अर्थात् हिमालयको दक्षिणपाटोमा आउन थालेपछि पुसे पन्ध्रम्लाई मान्न थालेको हो । त्यसको कारण स्थानीयता हो ।

मगरहरुसँगको सम्पर्क, खस बाहुनहरुको सम्पर्कका कारण हो । खस बाहुनहरुले अब दिन लामो भए है भनेर पुसे पन्ध्रम् मनाउँछ । मगरहरुको पनि गृहस्थ जीवनै शुरु हुन्छ । गुरुङहरुले मात्रै नयाँ वर्ष भनेर भनेको छ । गण्डक क्षेत्रको मूल तीनवटा जाति गुरुङ, मगर र खस-क्षत्री) बाहुनको मूल पर्व पुस पन्ध्र हो ।

(संस्कृतिविद् डा. गुरुङसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment