Comments Add Comment

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोह प्रहरी फन्दामा

१९ पुस, वीरगञ्ज । हृवाट्सअप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहका तीन सदस्यलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १८ सुखचैनाटोल बस्ने २१ बर्षीय संजयकुमार राम, वीरगञ्ज २१ ताजपुर बस्ने २१ बर्षकै अफताव आलम र भारतीय नागरिक २२ बर्षीय कमलेश यादव छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक हरि प्रसाद भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गत पुस १४ गते कलैयाको भरतचोकबाट पक्राउ गरेको हो ।

उनीहरुले सामाविक सञ्जालमार्फत ‘तपाईलाई ठुलो राशीको चिठ्ठा परेको छ । सरकारी राजश्व वापत अगि्रम केही रकम जम्मा गर्नु पर्छ’ भनि मानिसहरुलाई प्रलोभनमा पार्दै आएका थिए ।

प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरुमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको बारा प्रहरीले जनाएको छ । ठगेको रकम उनीहरुले भागबण्डा लगाएर लिने गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब निरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेका मध्ये अफताब आलमले नक्कली कागजातहरु तयार गर्ने, मनी ट्रान्सफरहरुको कोड उपलब्ध गराउने र प्राप्त रकमको १५ देखि २० प्रतिशत लिने गरेको थिए ।

कमलेशले पीडितहरुले पठाएको रकम निकालेर सम्बन्धित व्यक्तिहरुको भाग छुट्टाई बाँकी रकम भारु सटही गरी भारतीय व्यक्तिको खातामा जम्मा गर्थे । संजय कुमार रामले आफ्नो नागरिकता प्रयोग गर्ने र प्राप्त रकमको १० प्रतिशत लिने गरेका थिए ।

उनीहरुलाई मुलकी ऐन ठगीको महल बमोजिम जिल्ला अदालतबाट दिन ६ हिरासतमा राख्ने म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

पछिल्लो समयमा बारा, पर्सामा सामाजिक सञ्जालमार्फत ठगी गर्ने चलन बढ्दै गएको छ । यसअघि पर्सा प्रहरीले दुई पटक गरी लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुईवटा गिरोहका ९ जना सदस्यलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment