Comments Add Comment

राष्ट्रिय आयोजनाको स्थिति नाजुकः अगाडि बढेनन् ठूला योजना

अधिकांशको प्रगति ५० प्रतिशतभन्दा कम

२१ पुस, काठमाडौं । चालु आवको पहिलो चौमासमा अधिकांश राष्ट्रिय आयोजनाहरुको प्रगति नाजुक देखिएको छ । राष्ट्रिय योजना आयोगका अनुसार चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकमा चार वटा राष्ट्रिय गौरवका आयोजनाले मात्र ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् ।

उक्त अवधिमा भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सबैभन्दा धेरै प्रगति हासिल गरेको छ । उक्त आयोजनाले एक सय ३५ प्रतिशत, बबई सिँचाइ आयोजनाले साढे ९१ प्रतिशत, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले ९० दशमलव नौ प्रतिशत र रानीजमरा कुलरीया सिँचाइ आयोजनाले ८० दशमलव सात प्रतिशत प्रगति हासिल गरेको छ ।

यस्तै, पाँच वटा आयोजनाले उक्त अवधिमा ५० देखि ५९ प्रतिशत र १० वटा आयोजनाले ५० प्रतिशतभन्दा कम प्रगति हासिल गरेका छन् ।

चालु आवको चार महिनासम्ममा कोशी राजमार्गको १५, कालीगण्डकी करिडोरको १२ र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति पाँच प्रतिशत मात्र छ । आयोगका अनुसार बूढीगण्डकी जलविद्युत आयोजनाको प्रगति शून्य दशमलव ६ प्रतिशत मात्रै छ ।

यस अवधिमा काठमाडौं-तराई द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पश्चिम सेती जलविद्युत आयोजनाको प्रगति नै हुन नसकेको आयोगले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको संख्या २१ छ ।

आयोगका अनुसार चालु आवको पहिलो चार महिनामा ८६ वटा पहिलो प्राथमिकताका आयोजनाको मात्र ८० प्रतिशतभन्दा बढी प्रगति छ । यस्तै, ७७ वटा आयोजनाले ५० देखि ७९ प्रतिशत प्रगति हासिल गरेका छन् । एक सय ४० आयोजनाले भने ५० प्रतिशतभन्दा कम प्रगति गरेका छन् ।

नेपालमा पहिलो प्राथमिकताका आयोजनको संख्या एक हजार ७९ छ ।

आयोगका उपाध्यक्ष स्वणर्ीम वाग्लेले आयोजनाहरुको प्रगति सन्तोषजनक भएको दाबी गरे । चुनावलगायत कारण पहिलो चौमासमा अपेक्षित गति नदेखिएको दाबी गर्दै उनले बाँकी अवधिमा आयोजनाले गति लिँदै जाने विश्वास व्यक्त गरे ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले फास्ट ट्रयाक, भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिन पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । उनले तीन वटै तहको निर्वाचन सम्पन्न भएकाले अब विकास, निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

आयोगका उपाध्यक्ष वाग्लेले चाल आवको प्रथम चौमासिकमा आर्थिक वृद्धिदरको तुलनामा खर्च बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment